Search This Blog

Friday, February 14, 2020

प्रिय आला ! २

प्रणय सप्ताहको अवसरमा पछिल्लो एक साता सामाजिक संजालमा छुट्टै रौनक थियो । यो हप्ता भरि सामाजिक संजालका भित्ताहरु गुलाफका फुलहरुले राताम्य बने, प्रेम प्रस्तावहरुले उत्साहित बने, चकलेटहरुले स्वादिलो बने, टेडिहरुले न्यानो बने, कसमहरुले बिस्वस्निय बने, अंगालोहरुले आत्मीय बने, चुम्बनहरुले आकर्षक बने, अनि आज प्रणय दिवस पवित्र बन्यो । सबै एकाअर्का प्रति समर्पित जोडी देख्दा, मलाई पनि मैले आफ्नो सम्पुर्ण जवानी र लगानी समर्पण गरेर कमाएको मेरि उनी प्रती समर्पित भएर, विगतका जसरी नै प्रणय दिवसको उपहार स्वरुप एउटा पत्र लेख्न उत्साह मिल्यो । चिसिएको सम्बन्ध न्यानो बनाउने कोशिश गर्दै यो पत्र लेख्न गइरहेको छु । स्वीकार गर ।

यसरी पत्रमा प्रिय् लेखेर सम्बोधन गर्नु समयसापेक्ष रुपमा हेर्ने हो भने अहिलेको अवस्थामा जायज हुन्छ या हुँदैन, थाहा छैन । तर, आफू शब्द चयनमा कमजोर भएकै कारण, यो पत्र सुरु गर्नु अगाडि उक्त प्रिय् शब्द नलेखी सुरु गर्दा, खल्लो लाग्यो अनि, त्यसको सट्टामा प्रयोग गर्ने कुनै शब्द नै भेटिन । त्यसैले यसबाट आउने भवितव्यंको प्रवाह नगरी प्रिय् सम्बोधन गरेर पत्र लेख्दैछु । रिसानी माफ ।

प्रिय्, हामी सम्पर्क बिहिन भएर, सम्बन्धमा चिसो पसेको पनि महिनौं बितेछ । मलाई अंगालेर मेरो ढुकढुकी सुन्न नपाएकोमा वा  कयौं मानिसको ढुकढुकी मलाई सुनाउन नपाएकोमा तिमिलाई न्यास्रो लाग्छ होला । कोठाको एउटा कुनामा तिमिलाई अलपत्र छाडेर, महिनौं दिनसम्म पनि नबोलाउदा वा अंगाल्न नआउदा तिम्रो मन दुख्छ होला । महिनौं देखि बेवास्ता गरेर, तिम्रो शरीर भरि धुलो टासिंएर तिम्रो सुन्दरतामा कुरुप आउदा, कमसेकम धुलो मात्र भएपनि पुछिदिन नआउदा तिमिलाई रिस उठ्छ होला । जितिबेलै आफ्नै आखा अगाडि देख्दा पनि आफुलाई बेवास्ता गरेर हरक्षण अन्यत्र भुलेको देख्दा, आफ्नो समय कटौती भएर, शुन्य समय पाएकोमा तिमिलाई ईष्र्या लाग्छ होला ।

तर प्रिय, तिमिलाई त्यो अलपत्र अवस्थामा छाडेर म, हाम्रो सम्बन्ध अनि जिम्मेवारीबाट पंछिन खोजेको त छैन नि । तिमिले सुन्न नपाएको ढुकढुकी मैले पनि त सुन्न पाएको छैन । तिमिले मलाई अंगाल्न नपाएकोमा तिमी जतिले जति मन दुखाएको छौं, त्यत्ति नै वा त्यो भन्दा बढी त म तिमिलाई अंगालोमा बेर्न नपाएकोमा निराश छु । तिम्रो शरीरमा पुछ्न नभ्याएर टासिंएको धुलो र मेरो अनुहारमा काट्न नभ्याएर झांगिएको दारी हेर्न सक्छौ, प्रसंग फरक भएपनि हामी दुबैको हालत उस्तै छ । अनि अहिले तिम्रो समय कटौती गरेर, अन्यत्र पढाइमा खर्चिनु मैले मेरो मात्र स्वार्थ देखेको त छैन नि, यो मेहनत त हाम्रो सम्बन्ध अझ प्रगाढ बनाउन, प्रेम उत्सर्गमा पुर्याउन,  अनि नाता समयसापेक्ष बनाउन गरेको कोशिश नै त हो । समय ब्यबस्थापन गरेर, सबैकुरा समानान्तर लैजान नसक्नु मेरो कमजोरी हो, म मान्छु । तर त्यही कुराले हाम्रो सम्बन्धमा ठेस पुगोस् भन्ने चाहना मेरो कत्तिपनी हैन ।  यो कुरा त तिमिले पनि महसुस गर्न सक्छौ होला ।

सम्बन्ध जतिनै स्वस्थ भएपनि, बेलाबखत सम्बन्धमा असमझदारी आउने रहेछन् नै । त्यस्तै नियति हामिले हाम्रो सम्बन्धमा पनि भोग्नु पर्‍यो । तिमी मलाई साथमा लिएर खुल्ला पंक्षी झैं संसारभरि उड्न चाहान्थ्यौ, तिमि देश-बिदेश घुमेर विश्व भरिका मानिसको ढुकढुकी सुन्न चाहान्थ्यौ, तिमी सुक्ष्म स्तरमा गएर रोगको निदानमा पुग्न चाहान्थ्यौं, तिमी विश्वब्यापी रुपमा मान्यता पाएका अन्तरास्ट्रिय पद्धति अनुसार उपचार गर्न चाहान्थ्यौं, आफ्नो बृद्दिविकास बढाउन कुनै बाधा नआओस् भन्ने चाहान्थ्यौ, आफ्नो अगाडिको सम्पुर्ण ढोका सदैव खुल्ला होस् चाहान्थ्यौ, विश्वब्यापी रुपमा आफ्नो प्रभाव पारेर आफ्नो कार्यक्षेत्र फराकिलो बनाउन चाहान्थ्यौ । जुन तिम्रो त्यो मनसाय पनि प्रगतिशील बजारमा गलत बिल्कुलै थिएन ।

तिमिले आफ्नो जिबन म प्रति समर्पित गरेपछि ममा नै संसार देख्नु, र मसंग मात्र जोडिएको भविस्यको सपना देख्नु पनि स्वभाविक थियो । मैले पनि तिमिलाई मेरै संसारमा देखेको थिए । तर, मेरो संसारमा तिमी लगायत मेरा बुबाआमा, आफ्ना आफन्त, साथिभाई, इष्टमित्र, यहीँको माटो अनि यहीँ छट्पटाइरहेका बिरामी पनि मेरो संसारमै अट्थे । तिमीलाई समेटेर यी सबैलाई मैले संसार देख्थे, अनि यहीँ संसारमा केहि गर्नुपर्छ भन्ने लाग्थ्यो र यही माटोमा नै भविस्य देख्थे । मलाई आफ्नो कर्तव्य र जिम्मेवारीले बाध्न थाल्यो, अनि तिम्रो चाहना विपरीत आफ्नै अडान लिएर, देशमै बस्ने निर्णय लिन पुगे । म महसुस गर्न सक्थे मेरो निर्णयले हाम्रो कार्यक्षेत्र साघुरिन पुगेकोमा तिमी निराश पक्कै थियौ । तिमिलाई निराश बनाएको मेरो उक्त निर्णय प्रति म क्षमा चाहान्छु ।

तिमिले आफैं मलाई केही कुरा व्यक्त गर्न नसकेपनी विभिन्न प्रपंन्च रचेर मलाई बिदेशीन आग्रह गरिरहेको हुन्थ्यौ । कहिले, बिरामीको उपचारको क्रममा मृत्यु भए फौजदारी अभियोग लाग्ने मुलुकी ऎनको धम्की दिएर । कहिले, बिना कसुर दोषी करार गर्दै करोडौं क्षतिपूर्ति माग गरेर हालिएका मुद्दाको उदाहरण सहित डर देखाएर । कहिले, हस्पिटल तोडफोडका घटना अनि स्वास्थकर्मी कुटिएका घटना देखाउदै त्रास फैलाएर । कहिले बिरामी पक्षको गाली सुनाएर, कहिले मौलाएको भिडतन्त्र देखाएर । कहिले कानुनी राज्यको खिस्सी उडाएर, कहिले बढ्दै गएको लासको ब्यापारीकरण देखाएर । कहिले आफ्नै पेशा भित्रका अग्रजहरुले कायम गरेर राखेको सिन्डिकेटको जालो देखाएर । कहिले, बिदेशीन कै लागी युयसएमयाली र प्ल्याव तयारी गर्दै गरेका साथिहरुको सम्पर्कमा पुर्‍याएर, उनीहरुको सल्लाह ग्रहण गर्न लगाएर मलाई प्रभाव पार्न खोजिरह्यौ । तर म आफ्नो अडानमा अढिक रहिरहे ।

तर प्रिय्, बेलाबेलामा "चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु", "हिडेर गएका बिरामीको उपचारका क्रममा मृत्यु",  "हस्पिटल हाता भित्रै ड्युटीमा रहेका स्वास्थ्यकर्मी माथी हातपात" जस्ता हेडलाईनमा समाचार सम्प्रेषण हुदा, अनि हस्पिटल हाता भित्रै, "हत्यारालाई फासी दे", "मान्छे मार्न पाइदैन", "हस्पिटल बन्द गर", भन्दै नारा लागेर, हरेक लास माथी राजनिती गर्दै,  लासको ब्यापारीकरण हुने खराब नजिर बस्दै जादा, तिमिसंग जोडिएको सम्बन्धको कारण मेरो जिबन जोखिमपूर्ण अनि भबिस्य धरायसी देखेपछि तिमिले बिदेशीन अनि उतै सुरक्षीत अवतरण गर्न दिएको इसारा सार्थक लाग्थ्यो । तर, देशको त्यो नाजुक अवस्था हेर्दा केहि क्षण भावनामा वहकिए पनि अन्त्यमा देशमै केहि गर्न सकिन्छ र गर्नुपर्छ भन्ने सोच कहिल्यै हटेन, र देशमै बस्ने निर्णयमा अढिक रहे । मेरो उक्त निर्णयमा तिमिले केहि गुनासो व्यक्त नगरेपनी, म महसुस गर्न सक्थे, मेरो त्यो निर्णयमा तिमि  सम्झौता गरेरै भएपनी उक्त निर्णय स्विकार्न विबस थियौं ।

देशको स्वास्थ स्थिति कस्तो छ भनेर, कयौं पटक मेरो गलामा झुन्डिएर वार्डको राउन्डमा जादा त्यहाको अवस्था महसुस गर्यौ होला । मेरै अंगालोमा बेरिएको बेलामा गुणस्तरीय सेवा दिन नसक्दा बिरामी र बिरामी पक्षले राख्ने गुनासो, उनीहरुले दिएको गाली सुनेकै छौं, अनि त्यो गालि दिने अनुहारका रिस पनि देखेकै छौ होला । मृत्यु सैयामा घिटिघिटी लडिरहेका बिरामीको शरीर सुम्सुमाउदै, उनीहरुको रोगको अवस्था अनि त्यसको गम्भीरता पनि तिमिले देखेकै छौं होला । मेरो अंगालो बाट अर्लिएर केहि क्षण टेबुलमा बसेर, छेउमा मैले हस्ताक्षर गरेका कयौं 'डेथ सर्टिफिकेट' पनि तिमिले टुलुटुलु हेर्न विवस थियौं । यसबाट पनि अनुमान गर्न सक्छौ कि नेपालको स्वास्थ अवस्था कस्तो छ । अनि के म यो अवस्थाको बारेमा नजिक बाट सम्पुर्ण कुराको बारेमा जानकार हुदाहुदै, आफ्नो मात्र सुरक्षीत अवतरण खोज्दै, तिमी बाहेकको मेरो संसारमा स्थान पाएका मेरा बुबाआमा, आफ्ना आफन्त, साथिभाई, अनि यहाका बिरामीलाई यहीँ त्यही अवस्थामा अलपत्र पारेर, चलिआएको स्वास्थ सेवाको हातमा छेडिदिएर म आफ्नो मात्र सोचेर म त्यो जिम्मेवारी बाट भाग्न मिल्छ ? आफुलाइ यहाको स्वास्थ प्रणाली चित्त नबुझेरै आफू बाहिरिदा, यही चित्त नबुझेको स्वास्थ प्रणालीको हातमा मेरा बुबाआमाकै जिबन सुम्पिन मलाई मेरो नैतिकताले दिन्छ ?

हो ! देशमा अहिले घटिरहेको घटनाक्रम, स्वास्थ सम्बन्धि बिषयमा उठाइएका मुद्दा, अनि यहाका मानिसको प्रवृत्ति हेर्दा यो निचोडमा पुग्न सकिन्छ कि, कयौं नेपालीको चेतनाको स्तर न्युन छ । सत्यतथ्य नबुझी हल्लाको पछि दौडने बानी छ । हल्लाको भरमै कसैलाई दोषी करार गर्ने स्वभाव छ । भिडतन्त्रकै आवाज निर्णायक हुन्छ भन्ने सोच यथावत नै छ । अनि हुलदंगा गरेर कानुन आफ्नो हातमा लिन सकिन्छ भन्ने खराब नजिर मौलाउदो छ । तर के अब रहेका मानिसको चेतनास्तर यस्तै छ, चलिआएको चलन यस्तै भन्दै आफू मात्र यहाँबाट पंछिने कि, यहाका मानिसको चेतनाको स्तर उकासेर, सोचमा परिवर्तन ल्याएर, स्वास्थ सेवा विस्वासनिय, गुणस्तरीय अनि प्रभावकारी बनाउन लाग्ने ? पक्कै पनि ज्ञान, सीप, सोच, बानी, स्वभाव त जन्मसिद्ध कसैको हुदैन, सबैले जन्मपछी नै आर्जन गर्ने हो । ती परिवर्तनसिल कुरामा परिवर्तन ल्याउन सकिन्छ कि भनेर कोशिश गर्न त सकिन्छ होला नि, हैन ?

घरीघरी तिमिले गुनासो पोख्थ्यौ, यहाँ त अवसर पनि छैन, सिन्डिकेटको जालो मौलाएको छ, राम्रो ठाउमा प्रवेश पाउनै सकिदैन भन्दै । तर तिमि भन त प्रिय्, के बिदेश पस्ने बित्तिकै अवसर आफ्नो अगाडि ठिक्क परेर बसेको हुन्छ र? त्यहा पुग्न गरेको मेहनत अनि त्यहाँ अवसर खोज्न गरेको जति मेहनत, लगानी र खर्चिएको समय, यहीँ खर्च गरेपछि त यहीँ पनि अवसर भेट्टिएर मोटामोटी आफू यहीँ स्थापित हुन सकिन्छ होला नि । हैन र? अवसर खोज्दै नखोजी भेट्टिएन भन्न मिल्छ र ? सिन्डिकेटको कुरामा त हामी, नेपालमा नाम चलेका एकदम नामि चिकित्सकसंग आफुलाई दाज्न पुग्छौं, अनि उहाँहरुको ब्याक्तित्व हेरेर ईष्र्या गर्छौ । उहाहरुले यहासम्म आइपुग्न तत्कालीन आफ्नो समयमा गर्नुभएको मेहनत र संघर्षको नजरअन्दाज गर्दै अहिले कायम रहेको ब्याक्तित्व हेरेर आफुसंग दाजेर ईष्र्या गर्न मिल्छ  र ?

साच्चै छातीमा हात राखेर एउटा कुरा मनन गर त प्रिय, आफ्नो घर चुहिने छ भन्दैमा सधैं छिमेकीको घरमा ओत माग्नु बुद्धिमानी छुन्छ कि संभव भएसम्म दुखसुख गरेर आफ्नै घर मर्मत गरि सधैंका लागि सुखी संग बस्ने बाताबरण बनाएर आफ्नै घरमा जीवन ब्यतित गर्ने वातावरण बनाउनु बुद्धिमानी हुन्छ ? प्रलय नै भयोभने परिस्थिति भिन्नै हुनसक्छ, नत्र यहिको प्रणाली सुधार गर्दै अवसर यहीँ बनाउन सकिन्छ नि, भविस्य यहीँ खोज्न सकिन्छ नि, अझै यहीँको स्वास्थ प्रणाली उकासेर, सेवा गुणस्तरीय, भरपर्दो बनाउन  सकिन्छ नि । अवसर यहीँ छ, भविस्य यहीँ छ । मात्र अहिलेको परिस्थिति र समय ठिक नचलेको मात्र हो । यो ठिक नचलेको परिस्थिति र समयलाई ठिक बनाउने जिम्मा हाम्रो काधमा पनि आएको छ, नकि यहीँबाट पंछिएर आफ्नो बारेमा मात्र सोच्दै हिड्नलाई ।

खै र, ती त भए हाम्रा बीच रहेका केहि असमझदारीका प्रस्टीकरण । बोलिमा मात्र बोलेर, व्यबहारमा नउतारी कुनै कुरा पनि सार्थक हुदैनन् । सधै यही तहमा रहेर, मैले गरेका अठोट पूरा गर्न पनि संभव छैन । अनि अहिलेको बजार हेर्दा नेपालमा उच्च शिक्षा हासिल गर्न पनि निकै प्रतिस्पर्धी बजार छ । त्यसैको लागी चाहिने मेहनत र संघर्षको नजरअन्दाज गर्नै मिल्दैन । त्यही कुरालाई ध्यानमा राख्दै आजकाल म त्यही संघर्षको बाटोमा तिमिलाई विशेषज्ञताको परिचय दिने तयारीमा जुटेको छु । अनि आफुले अंगालेका हरेक कुरालाई सतप्रतिशत प्रयास गर्नुपर्छ भन्ने मान्यता राखेर, नचाहादा नचाहदै आजकाल सम्पूर्ण ड्युटीहरुमा बिदा मागेर अस्पताल नगइ घरमै बसेर स्व:अध्यनमा तल्लीन छु । यसैको कारण केहि समयको लागी हस्पिटलको आवजजावत घट्दो छ, बिरामीहरु संगको सम्पर्क पातलिदो, जसको प्रत्यक्ष असर हाम्रो सम्बन्धमा परेको छ, जसले गर्दा मैले तिमिलाई दिदै गरेको समय पनि कटौती भएको छ, सम्पर्क पातलिदो छ, सम्बन्ध चिसिएको छ, अनि हामी बिचको असमझदारी अझ बढ्दो । तर, हतोत्साहित नभउ प्रिय, अबको केहि महिनामै हाम्रो सम्बन्ध अझै अधिकारिक, अझै बिशेषत, अझै सुनिश्चित, अझै समयानुकूल, अझै प्रभावसाली, अझै प्रगाढ बनाएर फ़ेरि हाम्रो सम्बन्धलाई नंया स्थापित परिचय दिनेछौं । त्यसपछि फ़ेरि नजिकिने छौं हामी, सम्बन्ध अझै सुमधुर बनाएर । र तिमिले हाम्रो सम्बन्धको लागी मलाई त्यति समय उपलब्ध गराउन कुनै कन्जुस्याइँ गर्ने छैनौं भन्नेमा पनि म बिस्वस्त छु ।

तिमी पनि कल्पना गर त त्यसपछि को त्यो क्षण, कुनै एउटा ठुलो संस्थामा अझ उपल्लो दर्जाको परिचय बोकेर, तिमि मेरो गलामा बेरिएर, देब्रे पट्टी मुटुमाथी आफ्नो शिर अड्याएर, दाहिने छातिमा हातहरुले अंगाल्दै, मेरो ढुकढुकी सुन्दै अनि बेलाबेलामा आफ्नो शिर कयौं मानिसको छातिमा पुर्‍याएर तिनीहरुको मनको ढुकढुकी सुनाउदै, विशेषज्ञताको ओहदा तर्फ लम्किदै गरेको हुनेछौं । अनि त्यसपछि त जिबनभरी कहिल्यै नछुट्टिने गरि, चौबीसै घण्टा मेरो समिपमा रहेर, हर क्षण सुखदुःखका कुरा साटासाट गर्दै, एउटै पाइला बनाएर जिबनमा अघि बढ्नु हामी दुबैको लागी पनि त हर्षको बिषय हो नि ।


तिमिसंग सम्बन्ध गासेर रोजेको यो बाटो कठिन अवश्य छ, तर असम्भव पक्कै पनि छैन । जिबनको यात्रामा सहयात्री बनिदिन आएकोमा धन्यवाद अनि मैले रोजेको बाटोको गन्तव्यसम्म पुग्न सधै साथ, सहयोग र हौसला दिनेछौं भन्ने आश गर्दै यो कुरा पनि आत्मसात गर्छु कि, आफ्नो कार्यक्षेत्रको मर्यादा भित्र बसेर जिबनमा तिमिलाई आफ्नो बनाउन अगाडि गरेको बाचा, "हिप्पोक्रेटिक ओथ"को सम्मान गर्दै उक्त बाचा निभाउन कुनै कसुर बाकी राख्ने छैन । र आज यो पवित्र दिनमा गरेको बाचा आजन्म भुल्ने पनि छैन ।

उहीँ,
सधैं संगै हुने,तर कहिले आफैंमा हराउने मान्छे।
त्यसरी हराउदा रिसायौं कि भन्दै डराउने मान्छे।
पुरै जवानी र लगानी खर्चेर आर्जेको तिमिलाई,
म उहीँ,तिमिलाई बालापन देखी मन पराउने मान्छे।

यो पनि पढ्नु होस् ; प्रिय आला, भाग : १

Friday, October 25, 2019

डाउन सिन्ड्रोम : जिउन योग्य जिबन

सन् २०१८को मार्च तिर वासिङ्टन डिसि को क्यापिटोल हिल मा जोन फ्रान्कलिन "फ्रान्क" स्टेफेन्स ले गरेको भासण सामाजिक संजालमा अझै पनि चर्चामा छ । "म एक डाउन सिन्ड्रोम भएको ब्यक्ति हु र मेरो जिबन जिउन योग्य छ ।" भनेर सुरु गरिएको उक्त भासण एकदमै मार्मस्पर्सी छ । उनी आफै डाउन सिन्ड्रोम भएका ब्यक्ति भएर, डाउन सिन्ड्रोमको बारेमा बोल्दै उनले डाउन सिन्ड्रोमका बारेमा अब अनुसन्धान नचाहिने बताएका छन् । उनी थप्छन्, "केही मान्छेहरुले डाउन सिन्ड्रोम भएको गर्वअवस्थामै पत्ता लगाउन सकिन्छ भन्छन्, र उक्त जिबन गर्वमै तुहाउन पर्छ भन्ने मान्यता राख्छन्, यो कुरा यो ठाउमा बसेर भन्न मलाई एकदमै अफ्ट्यारो महसुस भइरहेको छ ।" उनी भावुक हुदै बोल्दै जान्छन्, "ति मानिसहरुले हामिलाई गर्वमै तुहाउनु नै अन्तिम विकल्प हो भन्ने सोच्छन्, र हामी जस्ता मान्छेको अस्तित्व यस संसारमा रहनु हुदैन भन्छन् ।" उनी बिच-बिचमा रोक्किदै अझ भावविह्वल हुँदै थप्छन्, "डाउन सिन्ड्रोम भएका मान्छेको बारेमा एकदमै अनुपयुक्त सोच राखेर, गर्वअवस्थामै उनिहरुको जिबनको बारेमा पुर्वनिर्णय गरिन्छ।" उनी भावनात्मक मुस्कान छर्दै भन्छन्, " तर बास्तबमै मेरो जिबन एकदमै महत्त्वपूर्ण छ ।" उनले गरेको पाच मिनेट लामो भासणमा आफुले गरेका कामहरू, डाउन सिन्ड्रोम भएका ब्यक्तिले समाजमा पुर्याएका योगदान र उक्त उक्त योगदानले देशकै शिर उच्च राखेका बारेमा बयान गर्नुका साथै आफुहरु मेडिकल समाजको उपहार सम्झेका छन्, अनि आफ्नु बाच्नुको अस्तित्व बर्णन गरिरहनु नपर्ने कुरा प्रष्ट पार्छन्, अनि आफ्नो अभिभावकको निकै माया लाग्ने बताउदै, यो विश्व डाउन सिन्ड्रोम फ्री भन्दा पनि अल्जाइमर्स फ्री बनाउन जोड दिएका छन् ।
जोन फ्रान्क्लिन स्टेफन्सले २०१८ मार्चमा डाउन सिन्ड्रोमको बारेमा दिएको भासण हेर्न् यहाँ किल्क् गर्नुुुुहोस् 

भासणको अन्त्यसम्म हेर्दा, भावनात्मक रुपमा जोडिएका जो कोहिको आखा रसाउने शब्द बोलेका फ्रान्क स्टेफिन्स् सन् १९८२मा अमेरिकाको अर्कानासमा जन्मिएका हुन् । उनी जन्मने बेलामै डाउन सिम्ड्रोम लिएर जन्मिए । अन्य डाउन सिन्ड्रोम भएका ब्यक्तिको जस्तै उनको पनि शारीरिक तथा मानसिक बिकास सामान्यतया भन्दा ढिलो भयो । तर कालान्तरमा उनी अहिले सामान्य मानिस जसरी जीवन बिताएका छन् । शारीरिक, मानसिक तथा भावनात्मक रुपमा जिबनको संघर्ष गर्दै अघि बढेका उनी, हाल एक बहुचर्चित कलाकार, अपांगता/दुर्वलता भएका अरुको पक्षमा बोल्ने अधिवक्ता, अनि खेलाडीको रुपमा आफ्नो नाम संसारभर चिनाउन सफल छन् । उनले ओस्कार जितेको चलचित्रमा पनि अभिनेताको रुपमा अभिनय गरिसकेका छन् । 

डाउन सिन्ड्रोम कुनै रोग नभई, एउटा जन्मजात अवस्था हो । डाउन सिन्ड्रोम हुनको पछाडि, गर्वअवस्थामा भ्रुणको सुरुवाती बिकास देखिनै मानव शरीरको प्रत्येक कोषमा अन्य साधारण अवस्थामा भन्दा एउटा क्रोमोजोम बढी हुने गर्दछ। सामान्य मानिसमा २३ जोडि अर्थात् ४६वटा क्रोमोजम हुने गर्दछ, तर डाउन सिन्ड्रोम भएका ब्यक्तिमा २१औं जोडी नम्बरको क्रोमोजममा एउटा बढी देखिन्छ, जसले गर्दा यी ब्यक्तिहरुमा ४७ वटा क्रोमोजम देखिन्छ । २१औं क्रोमोजममा एउटा क्रोमोजम बढी हुने भएकाले यसलाई, ट्राइसोमी २१ पनि भन्ने गरिन्छ । सामान्यतया भन्दा बढी भएको २१ औं स्थानको क्रोमोजोमको संख्याले बौद्धिक अपांगताको अवस्था सिर्जना हुन्छ र यसैको कारणबाट बालबालिकाको शरीरिक तथा बौद्धिक अवस्थामा भिन्नता देखापर्छ।

डाउन सिन्ड्रोम भएको वा नभएको भन्ने कुरा बच्चा जन्मनु अगावै विभिन्न परिक्षणबाट जाँच गर्न सकिन्छ। अल्ट्रासाउन्ड गर्दा, बच्चाको घाटिको मोटोपन बढी देखियो भने, यो अवस्थाका बारेमा संका गर्न सकिन्छ र त्यो देखिएको खण्डमा रगत तथा सालनालको केही पानी निकालेर परीक्षण गर्न सकिन्छ। रगतमा आमाको हर्मोनहरुको अवस्थाका बारेमा जाच गरेर पनि डाउन सिन्ड्रोम रहने सम्भावनाका बारेमा जानकारी लिन सकिन्छ। कुनै पनि जाच गर्दा ठ्याक्कै बच्चालाई डाउन सिन्ड्रोम लागेको छ भनेर ग्यारेन्टी गर्न नसके पनि धेरै हदसम्म हो भनेर संका गर्न सकिन्छ। तर नेपालजस्तो बिकासोन्मुख देशमा आर्थिक, सामाजिक तथा सुबिधाको हिसाबले हेर्ने हो भने गर्वअस्वथामै डाउन सिन्ड्रोमको बारेमा पत्ता लगाउन असम्भव नभएता पनि निकै कठिन तथा चुनौतीपूर्ण काम हो । जुन परिवेशमा कुनैपनी चिकित्सक अथवा स्वास्थकर्मीले आफ्नो सामान्य दैनिक चिकित्सा अभ्यासमा पत्ता लगाएर परामर्श गर्नु निकै चुनौतीपुर्ण काम हो ।

महिलाको उमेर बढ्दै जादा गर्वधारण गर्‍यो भने जोखिम बढ्ने यो अवस्था, सामान्यतया महिलाको उमेर ३५ बर्ष वा सो भन्दा माथी लागेपछि उतिनै जोखिम बढ्दै जान्छ । गर्व अवस्थामै पत्ता लगाउन सकिएपनी, उनीहरुको जिबनको अस्तित्व रहन्छ र जिबनको महत्त्व पनि उतिनै रहन्छ साथै उनिहरुले बाच्न पाउने अधिकार पनि हुन्छ । डाउन सिन्ड्रोम भएर जन्मिने बच्चाहरुको जन्मने बेलामा तौल कम, थ्याप्चो अनुहार, छ्ड्के परेका आखा, सानो मुख, सानो तालु, सुख्खा, चिरा परेको बाहिर निस्किरहने जिब्रो, मांसपेशी हरु साना अनि कमजोर, सानो टाउको, टाउकोको पछाडिको भाग समथल भएको, घाटीको भाग मोटो अनि छोटो, साना कान, सानो नाक अथवा डांडी नभएको, हातहरु साना अनि चौडा, हातमा हस्तरेखा एउटामात्र भएको, अनि शारीरिक तथा मानसिक बिकास सामान्यतया भन्दा अनि सुस्त आदि जस्ता भिन्नता देखिने गर्छ डाउन सिन्ड्रोम भएका ब्यक्तिहरुमा ।

डाउन सिन्ड्रोम भएका ब्याक्तीहरुमा सामान्य मानिस भन्दा, मुटु सम्बन्धि समस्या, पेट तथा आन्द्रा सम्बन्धि समस्या, आँखा नथा श्रवण शक्तिमा समस्या, थाइरोइड सम्बन्धि समस्या, रगत सम्बन्धि समस्याको संभावना बढी भएपनि सबैमा देखिन्छ भन्ने हुदैन । यदि देखिहाले पनि यी शारीरिक समस्याको समाधान तथा उपचारका लागि पर्याप्त बाटोहरु छन् । शिशु अवस्थामा केही मात्रामा डाउन सिन्ड्रोमसंग जोडिएर देखिने यी ठुला तथा जटिल समस्या सामना गरेर हुर्किएपछि, पछिको जिबनमा शारीरिक तथा मानसिक बिकास ढिलो भएपनि, पछि सामान्य मानिस जसरि नै जीवन जिउन सक्छन् । उनिहरु प्रायः खुशी रहने, निकै मेलमिलाप गर्ने स्वभावका हुने, कसैको / केहि कुराको अनुसरण छिट्टै गर्न सक्ने, अनुसरण गर्दा रमाउने, आफ्ना बाबुबामा अनि निकटका मानिसलाई निकै माया गर्ने, अनि गित तथा संगितमा रम्न रुचाउने भएका कारण उनिहरुलाई हुर्कने बेलामा त्यस्तै खालको बाताबरण बनाइदिनु पर्छ अनि भविष्यमा पनि त्यही खालेको जिबनचर्या तर्फ लाग्न प्रेरित गर्नुपर्छ ।

प्रायः नेपाली अभिभावकले आफ्नो सन्तानको सफलता तथा सबलता लाई आफुले गर्वको रुपमा लिने गरेका छन् । तर कुनै बच्चाको जन्मजात कमोजोरी जसमा कसैको केही गल्ती नै छैन, त्यसलाई पनि आफ्नो कमजोरी सम्झेर, सामाजिक स्थानमा चिनाउन अथवा परिचय गर्दा आफ्नो कमजोरी प्रस्तुत हुन्छ भनेर त्यस्ता ठाउमा आफ्ना निर्बल सन्तान लैजान अफ्ट्यारो मान्छन् । जसले गर्दा उनिहरुले रुचाउने बाताबरणमा रम्न, धेरै मानिससँग घुलमिल हुन, आफ्नो कला प्रस्तुत गर्न, आफुले अरुलाई माया प्रकट गर्न अनि अरु धेरैबाट माया पाउन बन्चित हुन्छन् । जसको नकारात्मक असरले गर्दा उनिहरुको कमजोर शरीर अझ कमजोर बन्दै जान्छ । के थाहा तपाइले आफ्नो कमजोरी भनेर लुकाएर राखेको सन्तानमा तपाइको शक्ति लुकेको पो छ कि ? अनि तपाइलाई समाजले के भन्छ भन्दै, आफैसंग डराएर आफ्नो शक्ति प्रस्तुत गर्न तपाई पछि पर्नुभएको पो छ कि ? अनि डरको भ्रममा आफ्ना सन्तानका प्रतिभा कुण्ठित भएका पो छन् कि ? 

जति आदर्शको कुरा गरेपनि, कुन चाहिँ आमाबुबालाई हुदैन र आफ्नो सन्तान तेजस्वी, दुरदर्शि, बुद्धिमान, बलवान,  जन्मिओस् भन्ने ? कुन अभिभावकलाई लाग्दैन कि आफ्ना छोराछोरी शारीरिक तथा मानसिक रुपमा सशक्त होस् भन्ने ? तर के निर्बल छ, कमजोर भन्दैमा उनीहरुको जिबनको अस्तित्व नै नहुने हो त ? यहा अमर जिबनको अनि निरोगिताको ग्यारेन्टी त कसले लिन सक्छ र ? अनि सबल सन्तानले जिन्दगीमा सबै राम्रै गर्छन् भन्ने ग्यारेन्टी छ र ? के थाहा, जन्मने बेलामा सबल जन्मिएको सन्तान, भबिस्यमा नौतिक हिसाबले तपाइको कमजोरी पो बन्छ कि ? अहिले गर्वमै अस्तित्व मेटाउन खोजेको वा जन्मिसकेपछी पनि शारीरिक तथा मानसिक दुर्वलता छ भनेर हेला गरेको सन्तानले, फ्रान्क स्टेफिन्स् ले जस्तै सफल जीवन बिताउछन् कि, अभिभावक अनि रास्ट्रलाई गर्व गर्न लाएक बनाउछन कि ? उनिहरु, जति निर्बल भएपनि भावनात्मक रुपमा एकदम सबल हुन्छन्, आफ्ना आमाबुबा, आफन्त, अनि अरु निकटलाई माया प्रकट गर्न अनि उनिहरुसंगै खुशी रहन कुनै कसुर बाकी राख्दैनन् । के थाहा तिनीहरुले नै पछि तपाइको जीवन सार्थक बनाउछन कि ? भबिस्यको सहारा पो बन्छन कि ?

निर्बल भए, बल प्रदान गरौं । कमजोर भए, सहारा पर्दान गरौं । सुस्त भए, टाठो बनाउन हर प्रयत्न गरौं । तर, निर्दोष ती भ्रुणको हत्या नगरौं, अबोध ती बालबालिकआई अभिभावकिय छाहारीबाट अलग्याएर जिबनको अस्तित्व मेटाउन तर्फ नलागौं । जिबनको मूल्य तोक्ने हैन, जिबनको मुल्य बुझ्ने कोशिश गरौं । सम्पूर्ण जिबनको महत्त्व बुझौं र रक्षा गर्न तर्फ लागौं । जोन फ्रान्कलिन स्टेफेन्स् को जस्तै सम्पुर्ण डाउन सिन्ड्रोम भएका ब्यक्तिको जीवन जिउन योग्य छ ।

Monday, September 16, 2019

यात्रा अनुभव : मार्दी पदयात्रा

माघ महिनाको अन्तिम साता, सामाजिक संजालका भित्ताहरुमा, नगरकोटमा हिउँ पर्‍यो, फुलचोकिमा हिउँ खेल्न जानेको भिड, पोखराका माथिल्लो भाग हिउँले सेताम्य भन्ने जस्ता समाचार आएका केहि घण्टामा आफ्नो फेसबुकको भित्ता पनि सेताम्य भयो । प्रायः सबै जसो साथीहरू पातलो भएपनि हिउँ छोएर क्याप्सन राखेका थिए "स्नो एक्सप्रीएन्स" । त्यो देख्ने बित्तिकै संगै रहेका दाइलाई प्रश्न गरे, "दाइ! अहिलेसम्म हिउँ देख्नुभएको छ?" उत्तर सजिलै दिनुभएको थियो, "यी! तिमिले देखेको छैनौं भने हेर।" भन्दै आफ्नो फेसबुकमा उहाको साथिले हालेका फोटो देखाउनु भयो । मैले हास्दै भने, "त्यो हिउँ त मैले नि देखेको छु । आइ मीन, हजुरले प्रत्यक्ष हिउँ छुनुभएको छ?" मैले निचोडमा पुग्ने गरेर सोधे । "त्यो त छैन ।"  हिउँको बारेमा भएको गफमा एउटा रमाइलो ख्यालठट्टा भयो र दुबैले हिउँ नछोएको प्रतिक्रिया आएपछि एकछिन मौनता छायो । केहि क्षणको मौनता पछि मैले मौनता चिर्ने प्रयास गरे । "दाइ! हिउँ खेल्न मन छ? कि आट्ने हो ?" दाइ अझै ठट्टा गर्ने मुडमै हुनुहुन्थ्यो । भन्नुभयो, "जाउ त हेर! फ्रीजमा आइस जमेको होला, निकाल, त्यही खेलौं ।" मैले दाइलाई अलि गम्भीर बनाउने कोशिश गरे, "यो लगातारको ड्युटीबाट अलि छुटकारा पनि मिल्छ, अलिक फ्रेस पनि भइन्छ, २/४दिनको लागि कतै घुम्न जाउं न ।" दोधार अनुहारमा जान पाए त हुन्थ्यो भन्ने आशय प्रष्ट देखिन्थ्यो अनि भन्नुभयो, "मिल्यो भने जाउला" । मैले कर गरेर भने,"मिल्यो भने जाउला हैन, मिलाएर जाउलां" । दाइ बहाना बुन्न तिर लाग्नु भयो, "अनि यता ड्युटी पनि त मिल्न पर्‍यो ।" मैले आश्वासन दिन खोजे, "ड्युटी त मिलाए, मिल्छ ।" "अनि कस्ले गर्छ त हाम्रो ड्युटी?" प्रश्नवाचक चिन्नमा आफ्नो जिज्ञासा राख्नुभयो । मैले सम्झाउन खोज्दै एउटा अंग्रेजी वाक्यांस  भने, "हाउ मच पर्फेक्ट यु आर, यु क्यान अल्वयज बि रेप्लेस्ड" । तपाईं जति नै उत्कृष्ट भएपनि तपाइको एक न एक विकल्प हुन्छ भन्दा, निशब्द हुनुभयो र एकचोटि हस्नुभयो, अनि जबर्जस्ति "ल के ल" भनेर मेरा कार्यक्रम योजनामा राजी हुनुभयो ।


कहा जाने ? को को जाने ? कसरी जाने ? कहिले जाने ? सबै कुराको मिलाउन पर्ने भयो । कहा जाने भन्दा, एउटा सतही अध्यन पछि गन्तव्य फेला पर्‍यो, मर्दी पदयात्रा । को को जाने भन्दा, आफ्नो निकट, सम्पर्कमा भएका साथीहरूलाईको यात्रा प्रति मनसाय बुझ्न्, घुमाउरो तरिकाले प्रस्ताव राख्यौं, र जान इच्छुक लाई समेटेर एउटा निकै घनिष्ठ टोलि बनायौं, तीन जनाको । कसरी जाने त, सल्लाह गर्नु नै थियो । कहिले जाने त, छिट्टै । हुन पनि हो, यात्रा गर्दा धेरै जना भइयो भने, धेरै जनाका धेरै थरी बिचार आउछन्, धेरै थरी प्रस्ताव आउछन्, धेरै थरी मनसाय प्रकट हुन्छन् अनि कुरा मिल्दैन र यात्रा खल्लो हुन्छ । त्यही भएर अन्त हल्ला नगरी तीन जना मात्र सल्लाह गरेर कार्यक्रमको खाका तयार पार्‍यौं । सबैकुरा मिलाएर जान भन्दा अगाडि, आफुसंग निकट, त्यही हस्पिटलमा काम गर्ने सिनियर डाक्टरलाई जानकारी गरायौं, "सर! हामी भोलि मर्दी पदयात्राको लागी जान लागेको नि।" सरले उत्सुकता देखाउदै भन्नुभयो, "वाउ! ग्रेट, एकदमै रामाइलो हुन्छ त्यो पदयात्रा, तर! अहिले भन्दा बरु अलि पछि गुराँस फुल्ने सिजनमा जाउ, बेस्ट टाइमिङ हुन्छ" । उत्साहित भएर, कार्यक्रम बनाइसकेको मैले भने, "गुराँस हेर्न बरु फ़ेरि गुराँस फुल्ने सिजनमा जाउला नि, अहिले त हिउँ खेल्ने हो ।" जसै जाने ढिपी कसेपछी उहाले सतर्क हुन सुझाव दिनुभयो, "हिउँ चिप्लो हुन्छ, ख्याल गरेर हिड्नु है । ह्याभ अ नाइस ट्रीप ।" मुस्कान सहितको यात्राको शुभकामनामा मैले पनि अलिकति मुस्कान छरेर भने, "हस् सर! थान्क यु सो मच ।"


यसरी घुम्न जान इच्छा राख्ने धेरै हुन्छन्, तर यात्रा कम ले नै गर्छन् । किनकि सोचेको जस्तो, समय, खर्च, साथिभाई, आवश्यक तयारीको तालमेल नमिलेको हुन सक्छ । जसमध्ये एउटा बाधाको रुपमा मानिने भनेको, यात्राको तयारीको लागी चाहिने ट्रेकिङ सेट । लामो या धेरै पदयात्रा गर्नेको लागि नयाँ सेट किन्नु उचित अनि दीगो हुन्छ । तर छोटो पदयात्राको लागी मात्र नया ट्रेकिङ सेट किनेर यात्रा गर्नु निकै खर्चिलो अनि अशोभनीय देखिन्छ । प्रायः धेरैजसोको इच्छा कुण्ठित पार्न यो पनि एउटा प्रमुख कारक हो । तर हरेक समस्याको समाधान हुन्छ भनेझैं, इच्छा भएर यस्तो समस्याले यात्रा गर्न नआट्ने हरुको लागी निकै सहज बनाएका छन् पर्यटक ब्यबसायीहरुले । आफुलाई यात्राको चाहिने सम्पुर्ण सामाग्री जस्तैः ट्रेकिङ ट्राउजर, ट्रेकिङ ज्याकेट, ट्रेकिङ ब्याग, गग्स, स्टिक, साथै अन्य आवश्यक सामाग्रीहरु निकै कम मुल्यमा केही दिनको लागी भाडामा लिएर साथमा लिएर जान सक्ने व्यवस्था गरिदिएका रहेछन् ।  त्यसरिनै आफुसंग भएका सामाग्रीमा अपुग भएका आवश्यक सामान भाडामा लिइयो र खाद्यान्न तथा प्राथमिक उपचारको सामाग्री तयार पारेर कार्यक्रम तय भयो । हो! अक्सर गफ हरु ख्यालठट्टामा हुन्छन्, अनि गफै गफमा ख्यालठट्टाहरु योजना बन्छन्, र योजनाहरुलाई गम्भीर रुपमा लियो भने ती योजना कार्यक्रम बन्छन् । हाम्रो लागी पनि हिउँको बारेमा गरिएको ख्यालठट्टामा निस्केको गफ, योजना बन्यो र त्यो योजनालाई गम्भीर रुपमा लिएर एउटा कार्यक्रम तय भयो जसको गन्तव्य बन्यो, मर्दी पदयात्रा, अनि उदेश्य बन्यो हिउँ खेल्ने ।


सर्वप्रथम त यात्रा सुरु गर्नु अगाडि मर्दी पदयात्राको बारेमा संक्षिप्त जानकारी गराऔं । मर्दी पदयात्रा, पोखरा बाट उत्तर तर्फ, मर्दी हिमालको आधार शिविरसम्म जानको लागि गरिन्छ । जसको लागी पोखराबाट ३/४ दिनको समय छुट्टाउनु पर्छ । यो पदयात्रा निकै छोटो समयमा, निकै फलदायी तरिकाले गर्न सकिने भएकाले, उत्कृष्ट मध्यको एक हो । त्यो गन्तव्यसम्म पुग्नको लागी दुइवटा पदमार्ग छन् । पहिलो मार्गमा धम्पुस हुँदै जाने पदमार्ग छ, जसमा पोखरा देखी धम्पुस सम्म सवारीसाधनमा जान सकिन्छ, जसका लागि १घन्टा ३०मिनेट जति लाग्छ र त्यसपछि उक्त ठाउबाट पदयात्रा सुरु हुन्छ । जस अन्तरगत, धम्पुस देखी पोथना (१९५०मि) लगभग १घन्टा उकालो चड्नु पर्ने हुन्छ । त्यसपछि पोथना देखि पृतम देउराली (२१००मि) जान अर्को १ घन्टा उकालो चड्नु पर्छ । पृतम देउराली बाट दोनखर्क (२४२५मि) जान करिब ३ घन्टा जस्तो अलिअलि उकालो अनि अलिअलि समथर भागको यात्रा गर्नुपर्छ । दोनखर्क देखि फरेस्ट क्याम्प (२४२०मि) जान करिब २घन्टा समथर भागको यात्रा गर्नुपर्ने हुन्छ । फरेस्ट क्याम्प देखी लो क्याम्प (२९९५मि) सम्म पुग्न लगभग २घण्टा उकालो चढ्नु पर्छ । दोस्रो पदमार्ग अन्तर्गत सिदिङ हुँदै जाने बाटो छ । दुबै पदमार्ग लो- क्याम्पमा गएर जोडिन्छन र त्यहाबाट एउटै बाटो हुँदै माथी जान सकिन्छ । सिदिङको बाटो भएर जादा, पोखरा बाट ३घन्टाको सवारीमा सिदिङ (१७००मि) भन्ने गाउँ पुग्न सकिन्छ । जसबाट लगभग ६ घन्टाको ठाडो उकालो चढेपछी लो क्याम्प (२९९५मि) पुगिन्छ । लो क्याम्प बाट बादले डाडा हुदै उकालो चढेपछी लगभग ३घन्टाको पैदल यात्रा पछि हाइ क्याम्प (३५५०मि) पुगिन्छ । धेरैको लागी यहीसम्म नै गन्तव्य हुन्छ । तर समय र मौसमले साथ दिए त्यहाबाट ३ घन्टामा अप्पर भ्यु पोइन्ट (४४५० मि) पुगिन्छ ।  अझै त्यहाबाट ३ घन्टाको दुरिमा मर्दी हिमाल आधार शिविर (४५००मि) पुग्न सकिन्छ । हिउँ परेको बेलामा र मौसम नखुलेको बेलामा हाइ क्याम्प सम्म सजिलै जान सकिन्छ तर त्योभन्दा  माथि जान मौसम राम्रो हुनुपर्छ । पदमार्गको बारेमा संक्षिप्त जानकारी लिएर, यात्राको तयारी पूरा गरेपछि यात्रा सुरु गर्‍यौं ।



हाम्रो यात्रा अझ उत्साहित अनि रोमाञ्चक बनाउन, सबै साथीहरूले यात्रा अवधी भर पालना गर्नुपर्ने केहि सर्तहरुको प्रस्ताव राख्यौं । सर्त नं एक, सकेसम्म कसैको फोन सम्पर्कमा नआउने । अनावश्यक ब्यक्तिसंगको सम्पर्क बन्द गर्ने । अनि अतिआवस्यक परेको खण्डमा मात्र सम्पर्क गर्ने त्यो पनि न्युन मात्रामा । सर्त नं दुई, आफ्नो वास्तविक परिचय लुकाएर, केबल एक यात्रीको रुपमा मात्र आफुलाई चिनाउने । हुन पनि हो, पदयात्रामा जादा त्यसै त आफुले बोकेको झोला यत्तिकै गरुँगो हुन्छ । अझ त्यही माथि पनि आफ्नो परिचय बोक्यो भने त्यो झन् भारी हुन्छ । अनि, त्यहीँ परिचयले मर्यादा भित्र राख्न खोज्थ्यो, खुलेर रम्न दिन्थेन । त्यसैले आफ्नो नाम, काम र ठाउँ आवश्यक परेको खण्डमा मात्र भन्ने / देखाउने निर्णय गर्यौ । र अन्त्यमा, सर्त नं तीन, दैनिकी बिर्सिएर, यथार्थमा रहेको वास्तविक परिवेशमा रम्ने ।



अघिल्लो दिनको रात्री ड्युटी सकेर यात्रा सुरु गर्न बिहान सक्किएर दिउसो भैसकेको थियो । समय धेरै खेर गैसकेकोले गर्दा, त्यो पुर्ती गर्न धम्पुस सम्म ट्याक्सी लिएर जाने निर्णय गर्‍यौ । सोधपुछ र मोलमोलाइ पछी, चित्तबुझ्दो ट्याक्सी लिएर यात्रा थालनी गर्‍यौं । पदयात्रामा निस्केका हामी, ट्याक्सीको यात्रामा सर्तहरू लागु नहुने कुरामा सम्झौता गर्‍यौ । आफ्नो ड्युटीमा आएका केसका बारेमा छलफल गर्ने र  घटेका घटनाका बारेमा गुनासो पोख्ने त्यही एउटा सर्कल थियो । त्यसै क्रममा दाइले कुरा निकाल्नु भयो, अस्ति तिमिले भर्ना गरेको एउटा बिरामी राती एक्सपाइर भयो नि । ए हो ? कुन केस ? त्यही के निमोनिया भएको वाला । साच्चै भन्नुपर्दा हामिले जुनसुकै बिरामी पनि नामले कम नै मात्रामा चिन्छौ, प्राय जसो बिरामीको परिचय भनेको उसलाई लागेको रोग या उ बसेको बेडले याद गर्छौ । यो केसमा पनि बिरामीको रोग भन्ने बित्तिकै उसको परिचय मेरो दिमागमा आइहाल्यो, अस्ति भर्ना गरेको निमोनिया, इमर्जेन्सीको यो बेडमा बसेको । अनि हामी एक-आपसमा सान्त्वना दिन्छौं, म भन्छु; पुरानो रोग पनि त्यति धेरै थिए , रगत पनि त्यस्तो खराब थियो, एक्स-रेमा छाती त पुरै सेतै थियो, सुधार हुन त गर्‍है थियो के । दाइ थप्नुहुन्छ, औसधि पनि त्यत्ति राम्रो हालेका थियौं, तैपनि बचाउन सकिएन । यस्तै यस्तै आफ्नो ड्युटीमा भएका जटिल तथा असफल उपचार हरु अनि घटेका मृत्युका शृङ्खलाका बारेमा छलफल हुँदै थियो । म भन्थे, त्यो मस्तिस्कघात त इमर्जेन्सीमै गयो नि । दाइ भन्नुहुन्थ्यो, त्यो हृदयघात पनि आईसियु बाट गयो । यो केस अलि चाढो आएको भए केही गर्न सकिन्थ्यो कि? यो केस रिफर गर्न खोज्दा लएको भए संभावना थियो कि? यस्तै यस्तै कुराको छलफल चलिरहेको बेला, हामी चढेको ट्याक्सी ड्राइभर हामिलाई यसरि हेरेको थियो कि, हामी त्यहा चित्रगुप्त संग सहकार्य गर्दै मृत्युको घोषणा गर्न बसेका हौं । औंलामा अट्ने असफल पाटो पछि अब सुरु भयो, क्याल्कुलेटरमा नअट्ने सफल उपचारका पाटो हरु । त्यस्तैमा कुरा निस्कियो, अस्ति यस्तो बिरामी कस्तो राम्रो भएर घर गयो, अर्को बिरामीको कस्तो जटिल रोग सजिलै पत्ता लगाइयो, अर्को बिरामिले झुठो बोल्दा पनि पत्ता लगाएर रोगको निदानमा पुगियो, शंका लागेर त्यो जाँच पठाएको पोजेटिभ आइदियो, आदि इत्यादि । यस्तै यस्तै सफल उपचारका पाटोको छलफल हुदा बल्ल त्यो ड्राइभर दाइले, यिनिहरु डाक्टर रहेछन् भन्ने अड्कल काट्नु भयो होला । त्यस्तै गफगाफ चल्दा चल्दै धम्पुस पुगिसकेको रहेछौं । अनि ट्याक्सीलाई बिदा गरेर उकालो लाग्दै सुरु भयो हाम्रो पदयात्रा ।

यात्राको जतिनै पुर्व तयारी गरेको छौं भनेर ढुक्क भएपनि केही न केहि भने अवश्य छुटेको हुने रैछ, त्यस्तै समस्या भोग्नु पर्‍यो जब उकालो लाग्दै गर्दा, पानीको प्यास लाग्न थाल्यो । हो ! हामीले पानी लैजान भुलेको रहेछौं । केही मिनेट यात्रा गरेर थोरै माथि गएपछि एउटा सानो पसल रहेछ । त्यहाबाट पानी किन्यौं र सबैले आ-आफ्नो झोलाको साइडमा पानी राखेर बाटो ततायौं । अलि माथी पुगेपछि फेरि केहि कुराको कमि महसुस भयो । उकालोमा हिड्दै जादा, खुट्टाले घरीघरी मेसो पाउथेन । त्यसलाई सुधार गर्नको लागी टेक्ने लठ्ठीको जरुरी पर्थ्यो । जंगलको बाटो त हो नि, लठ्ठी त एउटा कुनै रुखको हांगो भाचौला भन्ने सोच आयो, तर मनले दिएन संरक्षण गरेका रुखका हागा जथाभावी भाच्न । साच्चै! त्यही रुखहरु मात्र हेर्न भनेर कति पर्यटक नेपाल आउछन् नि है ? बाटो हिड्दा टेक्ने लठ्ठीको समाधान पनि भेटियो, अलि माथिको पोथना बस्ती पुगेपछि । त्यहा भएका पसलहरुमा व्यावसायिक रुपले यात्रा प्रयोजनका लागी भनेर बनाइएका लठ्ठी उपलब्ध रहेछन् । तोकिएको मुल्यमा खरिद गर्‍यौ । त्यही खरिद गर्ने बेलामा छोटो भलाकुसारी भयो । आज कहाँ सम्म पुगिन्छ? बाटो कस्तो छ? कति मान्छे हिडेका छन् उक्त गन्तव्यमा पुग्नको लागी ? आदि इत्यादि प्रश्न सोध्दै गर्दा, हिउँको प्रसंग पनि अछुतो बस्न सकेन । सोधिहाल्यौ; हिउँ कहाँसम्म परेको छ ? उक्त प्रश्नले उहालाई पनि उर्जा मिलेछ । अनि उत्साहित हुँदै भन्नुभयो; "अस्ति साझ यहाँ पनि परेको थियो । हिजो दिउँसोसम्म पनि सेताम्म देखिन्थ्यो । आज त सबै पग्लिसक्यो" भन्दै आफ्नो फोनमा हिउँ पर्ने बेला कैद गरेका त्यही ठाउको फोटो देखाएर दौडदै एउटा कुनाको सेपिलो ठाउमा गएर एउटा सानो बरफको टुक्रा ल्याएर हामिलाई दिनुभयो । हामी तिनैजना हर्षित भयौं । अनि पालैपालो उक्त टुक्रा हातले खेलाउन थाल्यौं । जिन्दगीको एउटा रहर पुरा भयो, हिउँ छुने । मैले ठट्टा गर्दै भने, दाइ ! हाम्रो यात्राको लक्ष पूरा भयो क्यारे, कि फर्किने हो ? दाइले प्रतिउत्तर दिनुभयो, "कहाँ हिउँ छोएर मात्र हुन्छ ? गन्तव्यमै पुग्ने हो, हिउँ खेल्ने हो ।" अनि मैले हुन्छको इसारामा टाउको हल्लाएर फेरि हिड्न थाल्यौं ।

बाल्यकालको प्रभाव जिबनका हरेक पाइलामा पर्छन् भनेझैं त्यहाँ पनि त्यस्तै अनुभव बटुल्न पर्‍यो । यात्राका सहयात्री हामी तीन जना विभिन्न परिवेशबाट आएका थियौं । म कास्कीमै जन्मेको यहीँ हुर्केको, डा सिजनको पृष्ठभुमि धादिङ, अनि डा भावुकको बाल्यकाल बुटवल । सायदै बाल्यकालमा धादिङको उकालो ओरालो धेरै गरेका कारण डा सिजन हिड्ने बेलामा सबैभन्दा चाडो हिड्ने अनि सधै अगाडि मात्र हुने । अनि म यहीँ पोखराको वरिपरि हुर्केको हुनाले, मेरो हिडाइको स्तर मध्यम किसिमको थियो । त्यसैले म पंक्तिमा धेरैजसो बिचमा पर्थे । अनि जतिबेलै पंक्तिको अन्त्यमा हिड्ने डा भाबुक, जसको बाल्यकाल बुटवलको समथल स्थलमा बितेको थियो । उकालोमा हिडाइको गति फरक भएतापनी समथर स्थलमा भने हाम्रो गति समान हुने गर्थ्यो । उकालो चढ्ने बेलामा डा भाबुकको असहमति त्यतिबेला हुन्थ्यो जब म र डा सिजन केहि अगाडि कुनै स्थलमा पुगेर एकैछिन आराम गर्थ्यौं र डा भाबुक त्यहा आउने बित्तिकै हामी हिड्न सुरु गर्थ्यौं । अनि थकाइले भरिएको आक्रोश अनुहार लिएर गाली गर्नु हुन्थ्यो, "एकछिन पर्खिओं न,अनि मलाई पनि आराम गर्न देओं" । थकान मेटिसकेका हामी कुनै बेला वास्ता नै नगरी हिड्थ्यै तर कुनैबेला सान्त्वना दिन भएपनि एकछिन कुरेको जस्तो गरेर अत्याउदै हिड्न कर लगाउथ्यौं ।


उकालो चढ्दै जादा जतिजति माथि चढ्दै जान्थ्यौं उतिउती बाक्लो हिउँले ढाकिएको ठाउहरु देखिन्थ्यो । हिउँको टुत्रा, हिउँको थुप्रो , हिउँको बिस्कुन हुँदै लटरम्म हिउँले ढाकिएको पहाड देखिदै गयो । माथिमाथी जादा हिउँको मात्रा बढेसंगै, हिउँ हेर्ने रहर पूरा भएर, हिउँ छुने रहर पूरा हुदै, हिउँ खेल्ने रहर बिस्तारै पुरा हुदै थियो । हातमा हिउँ खेलाउदै, हिउँका डल्लो बनाउदै एकाअर्कालाई हिउँले हिर्काउदै, विभिन्न पोज दिएर हिउँमा फोटो खिचाउदै, हिउँका विभिन्न आकृति बनाउदै र तिनीहरु संग फोटो खिचाउदै हामी त्यही बाताबरणमा एकचित्त भएर रमाएका थियौं । त्यस्तै क्रममा हिउँ खेल्ने रहर पूरा हुदै थियो । साच्चै ! हिउँ भनेको त क्षणिक रहर मात्र रहेछ । नदेख्नेलाई के के न हो झै लाग्ने, तर एकैछिन हिउँको अनुभव लिएपछि, त्यही हिउँ कतिबेला सकिएला / पग्लिएला झै हुने । अझ दैनिकी नै त्यही बिताउनेलाई त हिमपात भनेको त क्षणिक रहर भएपनि बास्तबिकतामा त्यो प्रकोप जस्तै रहेछ ।




यात्राको लागी बाटो नभुलियोस भनेर हरेक ठाउमा सेतो र निलो रंङले बनाएका चिन्नहरु थिए, आफू हिडेको बाटोमा उक्त चिन्न देखेपछि आफू सहि बाटोमा छु भन्ने भान दिलाउथ्यो । बाटोमा देखिएका सांकेतिक चिन्नहरु पछ्याउँदै जादा हरेक २-४ घन्टाको यात्रापछि विश्राम गर्ने ठाउहरु आउथे । चिसो हावा र हिउँले चिस्सिएको ज्यानमा उक्त ठाउहरुमा एकैछिन रोकिएर विश्राम गर्दै तातो चियाको चुस्कि लिएपछि, शरीर न्यानो भएर अझै जोसले हिड्न उर्जा दिन्थ्यो । त्यही तातो चियाको आशले भएपछि, शरीरमा छुट्टै उर्जा निकालेर एक पछि अर्को गन्तव्य छिटोभन्दा छिटो पार गर्न प्रेरणा मिल्थ्यो । त्यसरी नै हिड्दा हिड्दै थाकेर अनि थाक्दा थाक्दै हिडेर, कहिले माटोमा, कहिले ढुङ्गामा त कहिले हिउँमा लड्दै र पढ्दै घडीको सुइलाई प्रेरणाको स्रोत मानेर गन्तब्य तर्फ लम्किदै गएका थियौ ।


हिउँमा चिप्लिएर कयौंपटक लड्दा चिसो भएको ज्यानबाट थकान मिश्रित लामो सुस्केरा हाल्दा, सेताम्य ठाउमा केहि घरहरू देखिन्थे अनि संगै झुन्डिएको सानो बोर्डमा लेखेको देखिन्थ्यो, "लो क्याम्प" त्यही नै थियो त्यो दिनको लागी हाम्रो गन्तव्य । त्यहा पुग्दा त्यहाको घाम अस्ताइसकेको थियो, तर माछापुच्छ्रे हिमालको टुप्पोमा घाम अझै डुब्न बाकी थियो । डुब्न लागेको घामले गरेर हिउँले भरिपुर्ण सेतो माछापुच्छ्रेमा सुनौलो रंगले पोतिएको जस्तो देखिन्थ्यो, ठ्याक्कै "गोल्डेन फिस"को पुच्छर जस्तै । त्यो दृश्य यति मनमोहक थियो नि, दिनभरिको थकाइ बिर्सिएर हामी आफ्नो झोला पनि नबिसाइ उक्त दृश्य आफ्नो आफ्नो अँखामा कैद गरेपछि क्यामरामा कैद गर्न ब्यस्त थियौ । भौगोलिक कठिनाइ र बिकटता निकै भएपनि, त्यहाको आतिथ्य सत्कार बर्णन गरेर नपुग्ने थियो । त्यहाँ सामान ढुवानी गर्नु परेमा बोकेर लैजादा हिडेर जादा ठ्याक्कै एक दिन लाग्ने, नत्र अरु माध्यम भनेको हेलिकप्टरबाट मार्फत सामान ढुवानी गर्न सकिने त्यस्तो कठिन ठाउमा निकै सर्वसुलभ मुल्य दर थियो, जसमा कुनै गुनासो नै थिएन । हुनपनी हो, त्यहाका पर्यटन ब्यबसायीको उदेश्य भनेको रातारात पैसा कमाउन भन्दा पनि ग्राहक कमाउन केन्द्रित थियो , जसले गर्दा आगामी दिनमा फेरि गएं, वा अन्य साथिले राय मागे भने, म त्यही होटेल सुझाव दिने खालको पारिवारिक बाताबरण । समान उदेश्य बोकेका एकै किसिमका होटेल मध्य हामी बसेको चाहिँ होटेल लालिगुरास थियो ।


चिसो हिउँका बीच न्यानो सत्कारमा रात बिताएपछि बिहानी घाममा किरण संगै उज्यालो भयो र अर्को दिनको सुरुवात भयो । बिहानको नास्ता खाएर शरीर तताएपछी अझै माथिको गन्तव्य तर्फ लाग्यौं । त्यहा यात्रा गर्दा, त्यहिका स्थानीय मानिसले भने अनुसार नै यात्रा गर्नु पर्ने रहेछ । उनीहरुको सल्लाह के थियो भने, एकदुई दिन अगाडि बाक्लो हिउँ परेका कारण हिड्ने बाटो सबै हिउँले पुरिएको छ, उक्त बाटोमा सर्वप्रथम एउटा अनुभवी मान्छेले गोरेटो जस्तो बनाउनु पर्छ, अनि बल्ल नया यात्रीहरु त्यही पैदल छापको गोरेटो पछ्याउँदै हिड्न सकिन्छ, त्यसले बाटो बनेको ठाउसम्म जानुहोला, त्योभन्दा माथी बल नगर्नु भन्ने सुझाव थियो । उनीहरुले भनेको कुरामा हुन्छ भन्दै टाउको हल्लाएर, जोसिलो उमेरको तातो रगतको घमण्ड गर्दै, हामी अन्तिम गन्तव्य सम्म पुग्ने अठोट राख्यौं । तर, केहि समयको यात्रा पछी बादले डाडां पुग्यौं । त्यो ठाउ माछापुच्छ्रेको काखैमा पर्ने भएकाले र माछापुच्छ्रे लगायत अन्य हिमालको दृश्य सबैभन्दा राम्रो देखिने भएकाले पदयात्राको सबैभन्दा रमणीय ठाउ त्यही रहेछ । डाडोको शिखरमा पुगेर हेर्दा आफू सबैभन्दा उच्च ठाउमा आइपुगे भन्ने भान हुन्थ्यो र आफू भन्दा माथि त्यही एकदुई ठुला हिमालका टाकुरा छन् भन्दा पनि फरक पर्थेन । लामो समयसम्म त्यहाको दृश्य अवलोकन गर्दै आनन्द लिएपछि, अझै माथिसम्म जान अठोट गर्‍यौ, तर केहि समयको यात्रापछी मनमा डर पलाउन थाल्यो । अनुभवी र अग्रजहरुले बाटो छिचोलिएको रैछ भनेमात्र जानु भनेकोमा त्यहा बाटो छिचोलिएको भएपनि, पैदल डाम मुस्किलले देख्न सकिन्थ्यो, त्यसैले त्यो भन्दा अगाडि यात्रा नबढाई फर्किने निधो गर्‍यौ । अन्तिम गन्तव्यसम्म पुग्न नसकेकोमा मन खिन्न भएपनि, यात्रा उत्कृष्ट भएकोमा र जोखिम नलिइ परिपक्व निर्णय लिन सकेकोमा हामी उत्तिकै खुशी थियौ ।



फर्कने क्रममा फेरि बादले डाडांमा एकछिन अड्डिएर, माछापुच्छ्रेको दृश्य धित मरुन्जेल हेरेर, हामी लो क्याम्प सम्म आयौं र एकछिन आराम गरेपछि सिदिङको ठाडो ओरालो बाटो हुँदै फर्किने निर्णय गर्‍यौं । हेर्दा ओरालो बाटो सजिलो देखिएपनी, थाकेर गलेका खुट्टालाई शरीर धान्दै पाइला पछ्याउन मुस्किल पर्थ्यो । तर उकालो चढ्ने बेला जतिको कठिनाइ नभएका कारण छिटै समयमा सिदिङ झर्‍यौं । तर हामी छिटो भएपनि, जिप ब्यबसायिका लागी ढिलो भैसकेको थियौं । मतलब, त्यहाबाट छुट्ने सबै जिप छुटिसकेका थिए । कुरा बुझ्दा, रिजर्भमा जान अन्य जिप मगाउन सकिने आशय आएपनी, पोखरा फर्किन ढिलो हुन्थ्यो, त्यसैले अन्योलमा पर्न भन्दा थाकेको ज्यान त्यही अड्याउने निर्णय गरेर, थाकान मिश्रित त्यो रात त्यही बितायौ । अनि भोलिपल्ट बिहानै त्यहाको जिपको निर्धारित समय अनुसार, रुटको जिपमा फर्कियौ । जिप चढेको २-३ घण्टामा त हामी पोखरा झरिसकेका थियौं ।


यात्रा सकेर आएपछि, शरीर थाक्यो, खुट्टाहरु गले, तर हातहरु थाकेनन्, औलाहरु चलिरहे । उत्कृष्ट यात्रामा बिताएका ती रमाइला पल म शब्दमा कैद गर्न चाहन्थे, त्यसैले उक्त यात्राका बारेमा एउटा लेख लेख्ने सोच बनाए । अनि सबै क्षणहरु एकएक गर्दै शब्दमा उतार्न प्रयास गरे । समयको ब्यस्तताले गर्दा उक्त लेख पूरा गर्न सकिएन, आधा जति लेखेपछी बिचमै रोकियो । हुनपनी हो, त्यहाको हिउँ पग्लिसकेको थियो, जति रमणीय स्थिति मैले बयान गरे, त्यसको केहि दिनमा त्यहाँ त्यतिको सुन्दरता पाउन मुस्किल हुन्थ्यो । अनि परिस्थिति पनि त्यस्तै आयो, बर्खा याम, अत्याधिक पानी पर्ने मौसम, जसमा पदयात्राको बारेमा बयान गर्नु र जोकोहीलाई जान उस्काउनु असान्दर्भिक हुन्थ्यो । त्यसैले होला, मेरो यो लेख अपुरो नै रह्यो । अहिले भदौ महिना सकिएर असोज महिना लाग्न थालेपछि, खुलेका मौसम, रमणीय दृश्य, अनि दशै नजिकिदै गर्दा दैनिकी काममा ब्यस्तता अलि कम हुनेहुदा यो ॠतु पदयात्राको लागी उत्तम समय हुन्छ । अनि पर्यटन भ्रमण बर्ष २०२० पनि नजिकिदै छ । आफुसंग भएको सानो सीप प्रयोग गरेर, आफ्नो सानो कोशिशले एकदुई जना भएपनि आन्तरिक पर्यटन प्रबर्द्धन गर्दै उक्त कार्यक्रम सफल हुन सहयोग गर्छ भने, सचेत नागरिक भएर किन यो लेख पोस्ट नगर्ने भन्दै, उक्त अपुरो लेख पूरा गरेर पोस्ट गर्दै छु । अहिलेको अवस्थामा पदमार्ग मैले बर्णन गरेजस्तै सुन्दर नहोला, तर यति लेखेरै राख्नुस्, उक्त पदयात्रा गरेर जोकोहीलाई पछुतो चाहिँ हुनेछैन ।

Thursday, August 29, 2019

बुबा !!

महिनावारी रोकिएर प्रेग्नेन्सी टेस्ट पोजेटिभ देखिएसंगै,
बुबा बन्ने खुसियालीमा प्रफुल्ल हुँदै नाचिएका नाचहरुमा।
अनि रानीलाई झैं स्याहार गर्दै जचाउन आउने प्रसवपुर्व जाचहरुमा, बुबालाई देख्छु।

श्रीमतीलाई सुत्केरी ब्यथाले प्रसव कक्षमा कराउँदै गर्दा,
बाहिर मुटुले ठाउँ छोड्यो भन्दै गराएका इसिजिहरुमा।
मुटु ठाउमा आएर पहिलो सास संगै लगाएका बिसिजीहरुमा, बुबालाई देख्छु।

सन्तान प्राप्तिको खुसीमा बधाईका गुच्छाहरु बटुल्दै गर्दा,
बाबु भएको खुशियाली संगै आएका ति रौनकताहरुमा।
अनि कर्तव्य र जिम्मेवारी थपिए संगैका मौनताहरुमा, बुबालाई देख्छु।

सन्तानको अटेरीपन,चनचलताले आमालाई दिक्क बनाउदा,
उपस्थितिले नै लगाम लगाउन सक्ने अनुशासित घरहरुमा।
नजिक आएको गन्धले किताब समाइहाल्ने डरहरुमा, बुबालाई देख्छु।

हुर्किने बढ्ने क्रममा बालापनको अराजकता हावी हुदा,
अन्जानमा गरिएका उशृङंखल,कहालीलाग्दो बिठ्याइहरुमा।
उठेका हात,ताकेका थप्पड,तर नपिटिएका पिटाइहरुमा, बुबालाई देख्छु।

सन्तानको माया कुनामा लुकाएर अलि कठोर बनेर,
सत्मार्गमा हिडाउन सम्झाउदै गरेका मिठा गालीहरुमा,
अनि सफलता हासिल गरे संगै बजेका तालिहरुमा, बुबालाई देख्छु।

नतिजा के आउला सोचेर,जायज काम आट्न डराउदा,
मौन समर्थन जनाउदै,आटेका काममा दिने साथहरुमा।
लड्न लाग्दा समाउन दिएका विस्वासीलो  हातहरुमा बुबालाई देख्छु।

जिबनका आवश्यकता र प्राथमिकता बारे प्रष्ट पारेर,
रगत र पसिनाको मुल्य सिकाउदै हुर्काएको माटोहरुमा।
आफै भोगेर सिक्न देखाएका प्रयोगात्मक बाटोहरुमा बुबालाई देख्छु।

समयको महत्त्व बुझाउदै,सफलताको शुत्र सिकाउदा,
शिखर छुने अभिप्रायका साथ देखाइएका आशाहरुमा,
१०सेकेन्डका कल,अनि त्यसका सांकेतिक भाषाहरुमा बुबालाई देख्छु।

आफू भोकै बसेर दुइचार पैसा भएपनि जोगाउन खोज्दा,
हामी जाने महंगो रेस्टुरेन्ट,त्यहाँका खाजा सेटहरुमा,
उता ग्यास्ट्रीकको बहाना बनाउने भोका पेटहरुमा, बुबालाई देख्छु।

आफू पुरानै लगाएर, सन्तानलाई राम्रो लुगा किनिदिएर,
सन्तानका सपना पुरा गर्न हिड्दा चिरिएरका खुट्टाहरुमा,
अनि मुजा परेका पाइन्ट र खिइएर फाटेका जुत्ताहरुमा, बुबालाई देख्छु।

साच्चै!
कर्तव्यबोध भएर लिएका जिम्मेवारीहरुमा बुबालाई देख्छु।
संयमित हुदै लिएका परिपक्व निर्णयहरुमा बुबालाई देख्छु।
बाध्यताबस कठोर बनिदिने अनुहारहरुमा बुबालाई देख्छु।
भावनामा नवहकी निर्णय लिने मनहरुमा बुबालाई देख्छु।

दैनिक सामना गर्ने हरेक अनुहारहरुमा बुबा देखिराख्ने भएपछि,
अनि बुबालाई सम्झिएर उहाँकै लागी लेख लेखिराख्ने भएपछि,
आफ्नो बुबालाई सम्झन बर्षको एक चोटि,
त्यो पनि आज औंसीकै दिन कुरिराख्नु पर्छ र?

Monday, June 3, 2019

रजत जयन्तिको शुभकामना!

ममताको धनी,करुणाको खानी आमा
साथै कुशल अनि कर्तव्यनिष्ठ बुबालाई
वैवाहिक सम्बन्धको डोरीमा बाधिएर,
सफल पच्चिसौं बर्ष पार गर्नुभएकोमा,
वैवाहिक रजतजयन्तिको शुभकामना।

आमा बुबाको जोडी देख्दा लाग्छ,
त्यो नै संसारको उत्कृष्ट जोडी हो,
त्यहा जति माया मैले कतै देखिन।
त्यहा जति स्नेह मैले कतै देखिन।
त्यहा जति ममता मैले कतै देखिन।
साच्चै! त्यो जोडि देख्दा,
मुना मदनको कथा पनि ओझेलमा पर्छ।
रोमियो जुलियटको कहानी फिका लाग्छ।

संगै बिताउनु भएका ती पच्चीस बर्ष
अनि मैले देखेका ती चौबीस बर्षमा,
आपसमा कहिल्यै मनमुटाव देखिन,
एकअर्कामा झर्केर बोलेको सुनिन,
कहिल्यै रुखो बोलेको महसुस गरिन,
भनिन्छ!श्रीमान-श्रीमतीको झगडा परालको आगो हो।
तर कसम! मैले मेरो घरमा कहिल्यै आगो नै देखिन।

उहाको उत्कृष्ट जोडी आफ्नो ठाउमा छ,
साथै उत्कृष्ट अभिभावक पनि हुनुहुन्छ,
सन्तानलाई रिझाएर,ओठमा खुसी छर्दै,
हरेक जायज मागहरू पूरा गरिदिएर,
सत्मार्गमा हिडाउन कुनै कसर राख्नु भएन
भनौं!ती कुरामा गुनासो राख्ने कतै ठाउँ नै छैन।

आमाले जन्म दिनुभयो,
बुबाले जिबन दिनुभयो।

आमाले संसार देखाउनु भयो,
बुबाले संसार चिनाउनु भयो।

आमाले लड्न दिनुभएन,
बुबाले उठ्न सिकाउनु भयो।

आमाले हिड्न सिकाउनु भयो,
बुबाले बाटो देखाउनु भयो।

आमाले अनुभवबाट सिकाउनु भयो,
बुवाले अनुभवबाट सिक्न भन्नुभयो।

भनौं! केहि कुराको अभाव हुन दिनुभएन।
सफल आमा अनि कुसल बुवाको
भुमिका निभाउन कुनै कसर बाकी राख्नुभएन।

मेरा माता पिता मेरो पहिलो गुरुलाई,
पच्चिसौं वार्षिकोत्सबको शुभकामना
साथै सफल अभिभावकको भुमिका
कुशल तरिकाले निर्भहा गर्नुभएकोमा बधाई।

Saturday, May 4, 2019

आमा !!

महिनावारी रोक्किएर,वाक्क-वाक्क गर्दै,
भर्खर फोलिक एसिड खान सुरु गरेका,
लाजले भरिएका ती अनुहारमा आमालाई देख्छु।

गर्भवती भएर,दुइटा जिउको भार बोक्दा,
मातृत्वको सुन्दरता संगै झल्किएको त्यो,
कालो पोतोले भरिएको अनुहारमा आमालाई देख्छु।

सुत्केरी ब्यथाले च्यापेर प्रसव कक्षमा रुदै,
आमा बन्न आमा भन्दै आमालाई नै गुहार्ने,
असिन पसिन भएका अनुहारमा आमालाई देख्छु।

अनि बच्चा रोएको आवाज सुन्ने बित्तिकै,
आफ्नो सुत्केरी ब्यथाको पिडा बिर्सिएर,
मुस्कुराउन नबिर्सिने अनुहारमा आमालाई देख्छु ।

जन्मिए पछि नियमित खोप लगाउन पर्दा,
बच्चालाई थाहै नहुने सानो सुइ लगाउदा,
आफैलाई दुखेझै गर्ने अनुहारमा आमालाई देख्छु।

शरीर छाम्दा अलि-अलि तातो छ भनेर,
ज्वरो नहुदा पनि,इमर्जेन्सी दौडाइहाल्ने,
व्यग्र अनि व्याकुल अनुहारमा आमालाई देख्छु।

एकचोटि बान्ता गर्दैमा वा थोरै खोक्दैमा,
रातिको तीन बजे पनि हस्पिटल ल्याउने,
चिन्तित अनि उत्सुक अनुहारमा आमालाई देख्छु।

हट्टकट्ट, एकदम स्वस्थ बच्चा लिएर आएर,
बच्चाले किन थोरै खान्छ भन्ने चिन्ता लिदै,
बारम्बार प्रश्न सोध्ने अनुहारमा आमालाई देख्छु।

काम ज्वरो आएको बच्चा काखमा च्यापेर,
आखा पल्टायो अनि फिज निकाल्यो भन्दै,
आत्तिदै आएको रुञ्चे अनुहारमा आमालाई देख्छु।

चोटपटक लागेर काटेको बच्चा आउँदा,
घाउ सफा गर्ने बेला,रगत बगेको देखेर,
छेउमै बेहोस हुने ती अनुहारमा आमालाई देख्छु।

सुइ लगाएर,काटेको घाउमा टांका लगाउदा,
दुखेर हैन कि आत्तिएर यदि बच्चा रोयो भने,
मलाई गाली गर्ने ति अनुहारमा आमालाई देख्छु।

घरमा अर्को बच्चा एक्लै छाडेको छु भन्दै,
भर्ना भन्दा,खाने औसधि मिलाईदिनु भन्ने,
दुरदर्शि ममतामयी अनुहारमा आमालाई देख्छु।

बच्चा ठिकै छ,औसधि लिएर घर जानु भन्दा,
औसधिले पक्का ठिक हुन्छ भन्दै प्रतिप्रश्न गर्ने,
स्वास्थप्रति संवेदनशील अनुहारमा आमालाई देख्छु।

निमोनियाले कोखा हान्दै गरेको बच्चालाई,
बाफ लगाइदिनु,अक्सिजन लगाइदिनु भन्दै,
काम गर्न अत्याउने अनुहारमा आमालाई देख्छु।

सिरिअस बच्चालाई,वार्डमा उपचार गाह्रो छ,
आइसियु चाहिन सक्छ,अन्तै लैजानु भन्दा,
होश-हवास उडेका ती अनुहारमा आमालाई देख्छु।

जन्मजात कठिन रोग लागेको बच्चा च्याप्दै,
उपचार नभएपनी बारम्बार हस्पिटल धाउने,
आशले भरिएका ती अनुहारमा आमालाई देख्छु ।

झार-फुक गरेरै सिरिअस बनाएर ल्याउदा,
कोशिश गर्छु तर ल्याउन ढिलो भयो भन्दा,
रुदै अनुनय बिनय गर्ने अनुहारमा आमालाई देख्छु।

बेहोस भनेर ल्याएको बच्चा मृत घोषणा गर्दा,
मेरो पाखुरामा झुन्डिएर केहि गर्दिनुस् भन्दै,
भित्तामा टाउको ठोक्ने अनुहारमा आमालाई देख्छु।

सोचे अनुरुप उपचार गरेर निको बनाएपछि,
धन्यवादको गुच्छा चढाउदै दुबै हात जोडेर,
आभारी भएका प्रफुल्ल अनुहारमा आमालाई देख्छु।

यत्रतत्र गुन्जिरहेका ममतामयी धुनमा आमालाई देख्छु।
निस्वार्थ गरेका माया,लगाएका गुणमा आमालाई देख्छु।
सुन्दरताको मापक,पुर्णिामाको जुनमा आमालाई देख्छु।

हर दिन, हर क्षण आमाकै याद गरिराख्ने भएपछि पनि,
भावनाले जोडिएर सधै चरणमा परिराख्ने भएपछि पनि,
भेटेका सबै अनुहारमा आमा देखिराख्ने भएपछि पनि,
अनि आमालाई सम्झिएर लेख लेखिराख्ने भएपछि पनि,
आफ्नी आमालाई सम्झन बर्षको एक चोटि,
त्यो पनि आज औंसीकै दिन कुरिराख्नु पर्छ र?

Wednesday, April 24, 2019

कविता: मृत्‍युको घोषणा

एम्बुलेन्सको साइरन बज्नासाथ सतर्क हुन्छु।
डाक्टर'साप! एउटा बिरामी छ!कता ल्याउ?
यता ल्याउनुस बिरामी,यता इमर्जेन्सीमा।
बिरामी ओर्लेपछि सम्पुर्ण ध्यानाकर्षण हुन्छ।
हिडेर आउदै कि व्हिलचियर कि स्टेचरमा,
अनुहारको भाव,हातको स्थान,चालचलन,
सम्पुर्ण तर्फ सबै ध्यान एकैचोटि जान्छ।
वार्तालाप अगवै धेरै कुरा सोचिसकेको हुन्छु।
बिरामीको रोग,स्थिति,गम्भीरता,सबै सबै।

बिरामीको चाल केहि नदेखिए,दैडिदै जान्छु।
नाडी छाम्छु,धड्कन अड्किएको थाहा हुन्छ।
घाँटी छुन्छु,निर्जीव मुडो छोएको जस्तै हुन्छ।
आलाले छाति सुन्छु,मुटु रोक्किएको हुन्छ।
फोक्सो सुन्दा सास फेर्न बिर्सिएको हुन्छ।
आखामा बत्ती बाल्छु,नानी खुन्चिन मान्दैनन्।
कपासले आँखा छुन्छु,झिम्काउन सक्दैन।
बिरामी सिरिअस छ है भन्छन् उनिहरु,
तर म बिरामी नै छैन भन्छु मनमनै।
हातमा प्रेसर नाप्छु,केहि सुनिदैन।
अक्सिजनको मात्रा हेर्छु,शुन्य देखाउछ।
अनि हतारहतार इसिजी गर्न लगाउछु।
जिन्दगीमा आउने उतारचढाव हरु जस्तै,
इसिजिमा आउन पर्ने तलमाथि धर्काहरु,
सिधा आउछन् कि उसको जिबनका,
सम्पुर्ण उतारचढाव सबै अन्त्य भए भनेर।

आफन्तहरु केहि नभएको झै ढुक्क बस्छन्,
सोच्छन्! हस्पिटल ल्याएपछि सबै ठिक हुन्छ।
मलाई सिधै बिरामी छैन अब भन्न गाह्रो हुन्छ।
त्यसैले भुमिका बाध्न तर्फ लाग्छु;
अलिकति मलिन अनुहार बनाएर सोध्छु,
पुरानो रोग के के छन्?
त्यस्तो कुनै दीर्घ रोगको औसधि खानुहुन्छ?
कहिले देखी उहाँ बिरामी हुनुहुन्छ?
हिजोआज स्वास्थमा केहि गडबडी थियो?
अन्तिम चोटि के खाना खानु भयो ?
उहाँलाई यस्तो कतिबेला देखि भयो?
कतिबेला देखी बोल्न छाड्नु भयो?
कतिबेला देखी बेहोस हुनुहुन्छ?
कतिबेला देखी चल्न छाड्नु भयो?

यत्तिका प्रश्न सोधे पछि पनि नबुझे झै गर्छन्,
अनुहारमा केहि डराएको हाउभाउ हुदैन।
अनि मृत घोषणा गर्न तर्फ लाग्छु,
सबैभन्दा नजिकको आफन्त बोलाएर भन्छु,
अब उहाँ हुनुहुन्न ।
छांगाबाट खसेको झै हुन्छन्,
बिश्वास नै गर्दैनन्।
म, इसिजिका सिधा धर्को देखाउदै सम्झाउछु।
रोइ-कराइ सुरु हुन्छ,अनुनय विनय गर्छन्।
मेरो पाखुरामा झुन्डिएर, मेरा हात तान्छन्,
अनि आश बाकी नरहेको लास सामु लान्छन्।
केहि सकिन्छ भने गरिदिनु भन्दै हात जोड्छन्।
रुन्छन्,कराउछन्,बोलाउछन्, उठाउछन्,
झकझकाउछन्, पानी छम्किन्छन्,
हात खुट्टा मिच्छ्न्, छाती पिट्छन्, थप्पड हान्छन् !
तर अह! ऎया भनी उठ्दैन उ।
त्यो चीत्कारको बेवास्ता गर्छ उ।
हल न चल एकै ठाउमा बस्छ उ।
मर्यो रे उ! साच्चै मर्यो रे उ!

मेरा पनि गह भरी आशु हुन्छन्,तर चुहाउदिन।
मुटु थरथर काम्न थाल्छ,तर डराउदिन।
ओठ लगलगाउछन्,तर बाहिर देखाउदिन।
अनि कठोर बनेर भनिदिन्छु कि,
अब प्रयास गर्ने ठाउँ कहिँ कतै केहि बाकी छैन।
अनि बिरामी भनेर ल्याइएको मृत शरीर छोडेर,
अन्य भएका बिरामीको उपचारमा खट्छु।

एकछिनको आघात पछि पत्याउन कर लाग्छ।
अनि आएर कारण सोध्छन्;
के कारणले मृत्यु भयो होला?
म यथार्थ भन्छु,
यहा आउदा खेरि केही थिएन।
मैले मृत्यु घोषणा गरेको मात्र हो।
के कारण चाहिँ एकिन थाहा भएन।

उनिहरु आफ्नो अड्कल प्रमाणित गर्न खोज्छन्,
हर्ट अट्याक आएको हो?
प्रेसरले हानेको हो?
एक्कासि दम बढेको हो?
कुनै खानामा गडबडी?
बिख वा अन्य केहि पदार्थ सेवन?

घाटिमा भिरेको आलाले मर्यादा भित्र राख्छ,
र "होला" भन्ने शब्दमा अड्कल काट्न दिदैन।
अनि पोस्ट मार्टम गर्न सल्लाह दिन्छु।
र संसार बाट बिदा भैसकेको उसलाई,
र शोकाकुल आफन्तलाई सम्झाइ बुझाइ,
पोस्ट मार्टमको लागी त्यहाबाट बिदा गर्छु।

अर्को दिन बिहान,आफ्नो ड्युटी सकिने बेला,
दर्ता पुर्जीमा टासिंएको इसिजिको टुक्रा हर्दै,
पालो दिन आएका सहकर्मी ठट्टा गर्दै भन्छन्,
आज पनि चित्रगुप्ता संग सहकार्य गरिएछ हैन?
म अनिधो अनुहारमा,मलिन हासो हासेर भन्छु,
यदि म भएको ठाउमा उ चाडो आएको भए,
या यमदुत उ भएको ठाउमा ढिलो पुगेको भए,
लडाइ गरेर भएपनि यमदुतलाई हराउँथे होला,
तर, मेरो भन्दा यमदुतको पहुँच चाडो भएकाले,
मेरो सम्पर्कमा आउन अगवै उसलाई हरेर लगे।
उसको सास र आत्मा साथमा लिएर,
र त्यो मुडो शरीर यही धर्तीमा छोडेर।

Wednesday, February 13, 2019

प्रिय् आला !!


प्रिय् आला,
आज प्रणय दिवसको अवसरमा तिमिलाई प्रिय् सम्बोधन गरेर पत्र लेख्दै छु । थाहा छैन यो प्रिय् शब्द यो बिशेश दिनमा यसरी प्रयोग गर्नु जायज छ कि छैन तर तिम्रो आत्मियता र न्यानोपन र तिमिसंग जोडिएको मेरो सम्बन्धले गर्दा मलाई उक्त शब्द जायज छ जस्तो लाग्छ र यो शब्द प्रयोग गर्न अनि तिमिलाई 'तिमी' भनेर सम्बोधन गर्न कत्ति पनि अफ्ट्यारो महसुस भएको छैन । आशा छ तिमिले पनि यो सहज र सकारात्मक रुपमै लिने छौं ।

मनमनै मन पराएर एकतर्फी प्रेम गरेको करिब एक दशक, अनि अनौपचारिक सम्बन्धमा गासिएको करिब आधा दशक अनि अहिले त्यो सम्बन्धलाई औपचारिक मोड दिन पाउदा ती संगै बिताएका क्षण मेरा लागि निकै भावपुर्ण छन् । र संगै बिताएका हरेक पल अबिस्वास्निय क्षण बनेर मेरो मानसपटलमा घुमिरहन्छन् । तिमिलाई मनमनै मनपराएको क्षण देखि लिएर, अनौपचारिक प्रेम सम्बन्धमा गासिएर अहिले त्यसलाई औपचारिक सम्बन्धमा पुर्याउन पाउदा आफुलाई निकै भाग्यमानी सम्झन्छु । अनि अहिले संगै रहेर तिम्रो साथ काफी छ तिमिलाई पाउन गरेका ती अनगिन्ती सम्झौता, कडा परिश्रम, अथक प्रयास, अनि त्यो पिडा सबै बिर्साउन ।

तिमिलाई पाउन मैले गरेको त्यो कठिन यात्रामा कति रात संग सम्झौता गरेर अनिधो बस्नुपरेको छ । कति छाक संग सम्झौता गरेर भोकै बस्नुपरेको छ । घरपरिवार, आफ्ना, आफन्त साथिभाइहरु सबै संग टाढिनु परेको छ । प्रेफेसरका रुखो बोली, सिनियरका अनगिन्ती गाली, साथिभाइका आफ्नो जस्तै निराश कथा, आदि आदि कयौं सुन्नु परेको छ । साच्चै, तिमिलाई पाउन अनगिन्ती मठमन्दिर ढोग्ने देखि लिएर, घर परिवार संग टाढिएर बिरानो ठाउमा गएर निकै दुख भोगेको छु।

तिमिलाई पाउन त्यो मेरो प्रयास मात्र त कहाँ पर्याप्त थोयो होला र ? त्यसको पछाडी मुख्य नायकको भुमिका खेल्ने त मेरो बुबाआमा हुनुहुन्छ । जसले मलाई तिमिसंग भेटाउनैको निम्ति मैले भन्दा धेरै भोक निद्रा संग सम्झौता गर्नुभएको छ। जसले आफ्नो इच्छा, आकंसा, सपना सबै धितो राखेर, सम्पुर्ण मेहनत मात्र तिमी संग नजिकिने बाताबरण मिलाउन खर्चिनु भएको छ । तिम्ले त्यो सरल रुपमा लिन्छौं होला, तर प्रिय् त्यो सबै दुख मैले तिमिलाइ चाहान्छु भन्ने थाहा पाएर , तिमिसंग सम्बन्ध गसाउन गर्नुभएको त्याग थियो जसको ब्याख्या गर्न अहिलेसम्म कुनै शब्द भेटेको छैन, र सायद भेटिदैन पनि होला । त्यो सबैकुरा हरु सम्झिदा त प्रियृ  साच्चै मलाई तिम्रो भन्दा पनि तिमिसंग भेटाइदिने मेरो बुबाआमाको बढी माया लाग्छ ।

अझै मेरो मानसपटलमा ताजा नै छ, पहिलो पल्ट तिमिलाई देखेको त्यो क्षण । एउटा हस्पिटलको हाता भित्र, एउटा भद्र भलाद्मी देखिने, सुकिलो लुगा लगाएका ब्याक्तीको गलामा तिमी माला बनेर जसरी सझिएर बसेकी थियौं । त्यो देख्नासाथ मेरो पुर्ण ध्यान तिमी तिर तानिएको थियो । अनि तिमी आकर्षकको केन्द्र । हो त्यही नै थियो मैले तिमिलाई पहिलो पटक देख्न पाएको क्षण । अनि त्यो तिमिलाई देखेको दिन देखि नै थियो मैले तिमिलाई मन मनै मन पराउन थालेको, त्यही दिन तिमिसंग जोडेर जिबनका सपना बुन्न थालिसकेको थिए ।

तर प्रिय देख्दैमा र चाहदैमा जोकोही लाई आफ्नो भन्न, आफ्नो बनाउन कहा सम्भव छ र ? यदि सम्भव हुन्थ्यो भने त बजारमा असफल प्रेमका कहानी, ब्रेकअपका घटना किन छ्यापछ्यप्ती सुन्न पाइन्थ्यो होला र? त्यस्तो सम्बन्ध क्षणिक सम्भव भएपनि दोहोरो सम्बन्ध बनाउन अनि त्यसलाई दिगो राख्न दोहोरो समझदारीको जरुरत पर्थ्यो । जसका लागि सम्पुर्ण प्रक्रिया पूरा गर्नु पर्ने हुन्थ्यो । र त्यो प्रक्रिया अन्तरगत लामो समय, कडा परिश्रम, पारिवारिक समर्थन र आर्थिक लगानी सबैको तालमेल मिल्नु पर्थ्यो । त्यसैले त त्यो बेला मन पराएकै भरमा मात्र त तिमी मेरो लागि आकाशको फल जस्तै थियौं ।

एकपटक मात्र देखेको भरमा परेको त्यो एकतर्फी प्रेममा डुबेर मनदेखी नराम्रो मान्न भन्दा बरु त्यस्तो प्रेमबाट ओभानो नै रहन्छु सोचेर बिस्तारै याद कम गर्दै थिए, भुल्दै थिए ।
त्यसको धेरै पछि एउटा अनौपचारिक कुराकानीका बिच औपचारिक रुपमा तिम्रो नाम थाहा पाउने अवसर मिल्यो । त्यहा त्यस्तै कुराकानीका बीच,कोहि ज्ञानि पुरुष आएर भनेका थिए । ए! त्यो डाक्टरले घाटिमा भिर्ने? त्यसलाई त स्थेतोस्कोप भनिन्छ । स्थे.....? अलि गाह्रो लाग्यो तिम्रो नाम त्यसैले तिम्रो नाम त सुने तर पूरा नाम टिप्न भ्याइन । अनि सोचे, मैले मन पराएकी उनको नाम त 'एस' बाट आउने रैछ । नाम मात्र थाहा पाउँदा पनि निकै खुशी भएको थिए । मन चंगा भएको थियो । साच्चै, बालापनको प्रेम कस्तो निश्चल हुन्छ है?

समय बित्दै गयो । देखभेट नभएपछि, सम्पर्क पातलिदै गएपछि याद पनि बिस्तारै कम हुदै बिरानो भइने रैछ र माया पनि फितलो हुँदै जादो रहेछ । यस्तै क्रममा एकदिन तिमिसंग प्रत्यक्ष भेटको मौका मिल्यो । +2 पढ्ने बेलामा बायोलोजिको एउटा प्राक्टिकल कक्षामा ब्लड प्रेसर नाप्न सिकाउने प्रयोगात्मक कक्षा हुन्थ्यो । हो त्यही दिन थियो मेरो मन जित्न सफल, बाल्यकाल देखि मैले एकतर्फी प्रेम गरेको तिमिसंग पहिलो पटक भेट भएको र तिम्रो स्पर्श पाएको । त्यतिबेला कलेजमा मोबाइल बोक्न अनुमति थिएन तर त्यस दिन लुकाएर लगेर भएपनि तिमिसंगको एउटा फोटो लुकाएरै क्यामारामा कैद गरेको थिए । अनि घरमा गएर निकै उत्सुकताका साथ हेरे, तिमि र म संगै हुदा कस्तो देखिन्छ भनेर । एक त सानो मोबाईलको क्यमारा त्यत्ति क्वालिटी नभएको, अर्को खिच्दा फोटो हल्लिएछ । अलि धमिलो आयो । तैपनि हाम्रो संगैको त्यो फोटो हेर्दै निकै खुशी थिए । अनि अझै धेरै तिमिलाई पाउने इच्छा पलाएर आयो ।

अनि +2 सकेर मेरो घरकालाई फकाएर तिम्रो घरकालाई रिझाएपछी, भर्नाको औपचारिकता पछि सुरु भयो मेरो औपचारिक MBBSको पढाई अनि हाम्रो अनौपचारिक सम्बन्ध, जसलाई औपचारिक बनाउन अझै साढे पाच बर्षको कडा परिश्रम गर्नु बाकी थियो । त्यसपछि हाम्रो निकटता बढ्यो र हामी संगै रहन पाएम् । लाग्थ्यो मैले तिमिलाई प्रेमिकाको रुपमा पाए जुन सम्बन्ध बैधानिक हुन्थेन । किनकि प्रिय् तिमिलाई थाहा छ नि, नेपाली समाजमा प्रेमी-प्रेमिका लाई हेर्ने दृस्ठिकोण अलि भिन्न हुन्छ । त्यस्तै बाताबरण थियो हाम्रो मेडिकल कलेजको चिक्त्सकिय बाताबरणमा पनि । जस्तो कि, नामको अगाडि डाक्टर नलेखी काधमा आला ढुड्याउनु त्यति शोभनीय हुन्थेन र अग्रजजरुले पनि त्यही सिकाउथे र यदि बाहिर देख्ने गरि काधमा राखिहाल्यो भनेपनी उडाउने धेरै हुन्थे । त्यसैले तिमी साथमा भएर पनि हामी बाहिर खुलमखुल्ला त्यति हिडिन्थेन । तर अक्कल्झुक्कल एकान्त पारेर मैले तिमिलाई अंगालोमा बेर्ने भने गर्थे । जस्तो कि, एउटा भर्खर प्रेममा परेको प्रेमी केटाले जसरी प्रेमिकाको हात समाउन डराउछ, म पनि त्यसरी नै डराइ डराइ । अनि जब एकान्तमा भएपछि यताउता नियालेर निर्धक्क हात समाउछ र अंगालोमा बेर्छ नि हो म पनि कहिलेकाही एक्लै भएको बेलामा एप्रोनको खल्तीबाट निकालेर डराइ डराइ घाटिमा बेर्ने गर्थे किनकी जसरी जसरी प्रेम सम्बन्धले औपचारिक रुप लिएर वैवाहिक सम्बन्धमा नबाधिन्जेल समाजको अगाडि संगै हात समएर हिड्न डराइन्छ, हाम्रो त्यो चिकिसकिए समाजमा पनि त्यही चलन थियो, नामाको अगाडि डाक्टर नलेखिन्जेल आला लाई गलामा सजाउन शोभा नदिने । त्यसैले तिमी पाच बर्ष सम्म मेरो खल्तिको खल्तिमै रह्यौ ।

हाम्रो सम्बन्धलाई औपचारिक रुप दिन चरणबद्ध रुपमा कयौं परिक्षा दिनु पर्थ्यो, दिएं। अनि समय बित्दै जादा अन्तिम परिक्षा आयो र त्यो पनि दिएं, जुन परिक्षामा पास भएपछि हाम्रो सम्बन्धले औपचारिक रुप पाउथ्यो । परिक्षा दिएको केही दिनपछि नतिजा आयो । तिमिलाई आफ्नो बनाउने नतिजा सार्बजनिक भएपछि मनमा एकदम डरलाग्यो । किनकि परिक्षा जतिसुकै राम्रो गरे पनि नतिजामा निर्धक्क भएर बस्ने बाताबरण सायद मिडिकल फिल्ड भित्र हुन्थेन । अनि उक्त नतिजा सार्बजनिक भएको थाहा पाएपछि मुटु ढुकढुक चाल यति सम्म बढ्यो कि मुटुनै बाहिर निस्किन लागेको जस्तो भएको थियो । तर जब उक्त परिक्षामा पास भएर औपचारिक रुपमा तिमिलाई हासिल गरे भन्ने सन्देश पाए, हर्षले छाती ढक्क फुल्यो त बढेको छातिले बाहिर निस्किन लागेको जस्तो मुटुलाई बसमा लियो र यथास्थानमा राख्यो । साच्चै प्रिय्, त्यो दिन जत्तिको खुशी म अहिलेसम्म कहिल्यै पनि भएको छैन ।

औपचारिक रुपमा तिमिलाई आफ्नो बनाइसकेपछी, आफ्नो दैनिक कार्यमा हरेक ठाउमा तिमिलाई संगै लिएर हिड्न थाले र निर्धक्क काधमा सजाएर हिड्थे हस्पिटल परिसर भित्र । तिमिलाई औपचारिक रुपमा आफ्नो बनाइसकेपछी, हाम्रो सम्बन्ध पनि त दर्ता गर्नु पर्यो । अनि फेरि तिम्रो माइतीले परिक्षा लिन्थे, पास भए मात्र सम्बन्ध दर्ता हुन्थ्यो । तिमिलाई आफ्नो बनाउन कत्रो कत्रो संघर्ष गरेर त्यहासम्म आएको थिए  र फेरि उतिनै संघर्ष गरेर हाम्रो सम्बन्ध दर्ता पनि गरिछाडे ।

अहिले त तिमी मेरो दैनिकी जस्तै भएको छौं । आफू आफ्नो दैनिकीमा जादा तिमिलाई अंगालोमा बेरेर काधमा सजाएर जान्छु । अनि जब तिमी मेरो गलामा सझिएको हुन्छौं, ऎनामा हेर्छु अनि मुस्कुराउछु । साच्चै, कति सुन्दर देखिन्छौ है हामी जब तिमिले आफ्नो शिर मेरो देब्रे छातिमा टासेर सरिरले घाटिमा बेरेर दुई हातले मेरो दाइने छातिमा समाउछौ । एकदमै गर्व महसुस हुन्छ प्रिय्, त्यसरी तिम्रो साथ पाउदा ।

अनि तिम्रो सहयोगले म कति छिट्टै कुनैपनी बिरामिको जुनसुकै रोगको निदानमा पुग्छु ।जब तिमिलाई समाएर बिरामिको छातिमा लैजान्छु र ढुकढुकी या अन्य आवाज सुन्छु , अनि कुन प्रकारको कस्तो रोग लागेको हो, कस्तो औसधि चलाउने लगभग ज्ञान हुन्छ । अनि काममा निकै नै सहज हुन्छ । जस्तो कि तिमी छैनौ भने म अपांग जस्तो हुन्छु । साच्चै प्रिय आजकाल तिमिबिना मेरो जिबन तिमिबिना केही अर्थ नै छैन जस्तो लाग्छ, एकदम अधुरो लाग्छ ।

र अन्त्यमा जादाजादै तिमिलाई मेरो जिबनमा आएर मेरो जीवन अर्थपुर्ण बनाइदिएकोमा धेरैधेरै धन्यवाद । सधै यस्तो साथ र सहयोगको अपेक्षा । कसम ! हाम्रो यो सम्बन्ध अझ प्रगाढ बनाउदै अगाडि लैजान आफ्नो जिबनको जुनसुकै जोखिम मोल्न पनि तयार छु । अनि तिमिलाई सधै सधै यसैगरी खुशी राख्नेछु । र आफ्नो कार्यक्षेत्रको मर्यादा भित्र बसेर जिबनमा तिमिलाई संगै साथमा लिएर अझ अगाडि बढ्नेछु । तिमिलाई पाउन अगाडि गरेको बाचा "हिप्पोक्रेटिक ओथ"को सम्मान गर्दै उक्त बाचा पनि निभाउने छु र आज यो बिशेश दिनमा गरेको बाचा आजन्म भुल्ने पनि त छैन ।

Thursday, July 13, 2017

भानुभक्त नेपाली भाषा उद्धार गर्न आउ !!

२९असार२०७४;२०४औ भानु जयन्ती,
आजको दिन भानुलाई याद गर्नु पर्‍यो।
उनको नाममा दुइचार शब्द भर्नु पर्‍यो।
लेख्न थाले उनका बारे,कलम समाएर।
उन्लेनै बनाएको नेपाली भाषामा रमाएर।
चर्चा गर्न चाहन्छु उनेले लेखेका कृतिको।
खण्डन गर्दै,घटेको इच्छा र बढेको विकृतिको।


नेपाल एकीकरण कस्ले गरेको हो सोध्दा,
सबैले पृथ्वीनारायण शाहको नाम लिन्छन्।
एकीकरणको जस सबै उनैलाई नै दिन्छन्।
भाषाले एकीकृत भएको कसैले बुझेका छैनन्।
पृथ्वीनारायण सरह नै तिम्लाई पुजेका छैनन्।
पृथ्वीनारायणले भौतिक रुपमा एकीकरण गरे।
तिम्ले भाषाले नैतिक रूपमा एकीकरण गर्यौ।
नेपाली भन्न पाउन दुबैको हात थियो भने।
तिमी ओझेलियौ,उनी आकर्षणको केन्द्र बने।

अनि भानुभक्त,
अर्को एउटा खुल्दुली पनि यहि पूरा गरौ न।
बिधालयको नतिजाको एकचोटि कुरा गरौ न।
अंग्रेजीमा९०आउदा नेपालिमा ६०आउछ,
अंक थोरै आउने भएर,थोरै महत्त्व पाउछ।
किन थोरै आयो एकचोटि सोच्नुपर्ने हैन र?
यो समस्याले भाषाबिदलाई घोच्नुपर्ने हैन र?
बोल्न सजिलो भएपनि,लेख्न किन गारो मान्छन्?
अंग्रेजीलाई अंगालेर नेपाली किन तारो मान्छन्?

घरीघरी मात्र बोल्ने अंग्रेजीमा९०अंक ल्याउदा,
जतिबेलै बोल्ने नेपालीमा ६०अंक मात्र आउछ।
बोलिचालिको भाषा भएपनि लेख्न गाह्रो लाउछ।
यो कुरा त कताकता नमिलेको जस्तो भएन र?
आफ्नै भाषा ओझेल परि,महत्त्व अन्त गएन र?

भानुभक्त एकचोटि फेरि तिमी आउन पर्ने भएको छ।
नेपाली भाषालाई अझ सरल बनाउन पर्ने भएको छ।
सझिलो बनाएर विद्यार्थीलाई नेपाली पढाउन आउ।
नया पुस्ताको नेपाली भाषा प्रति मन बढाउन आउ।
कि त भाषाबिदलाई थोरै लचकता देखाउन भनिदेउ।
अनि सरल तरिकाले नेपाली भाषा लेखाउन भनिदेउ।

भानुभक्त,
यसरी नेपालीको महत्त्व घट्ने क्रम बढ्यो भने।
अंग्रेजी मात्र सुधार गर्न खट्ने क्रम बढ्यो भने।
नेपाली भाषा बिस्तारै लोप नहोला भन्न सकिन्न।
नेपाली आमाको मन पनि नरोला भन्न सकिन्न ।
आगामी पुस्ताले नेपाली भाषा बोल्ने आशा नै नरहे!
अनि रहैला हामी नेपाली कहा,नेपाली भाषा नै नरहे!
हो!भानुभक्त नेपाली भाषाका विकृति सुधार गर्न आउ।
सरल बनाएर,इच्छा बढाउने गरि यसको उद्धार गर्न आउ ।

Thursday, June 29, 2017

अलार्म !!

मेरा लागि अलार्म बिउझाउन कम,
सम्झाउन बढि प्रयोग भएका छन् ।
५मिनेटको छोटो निद्रा देखी,
१८घण्टा सम्मको लामो सुत्ने समय ।
तर, नतोकिएको निदाउने समय ।
निद्रा पनि शरीरको आवश्यकता हैन,
समयको माग अनुसारका हुन्छन् ।

घरमा हुदा प्रायः
बिहानै पुजा गरेर आमाले घण्टी बजाउदै गर्दा,
घामका किरण लजाउदै आइपुग्छन कोठामा,
ढोका नढक्ढकाइ,झ्यालबाट भित्र छिरेर
र चकिलो प्रकाश अनुहार भरि छरेर,
उठ्न बाध्य बनाउछन, अलार्म बनेर ।

होस्टेल हुदा प्रायः
साथिहरु, चिर्‍रर्‍र...गर्ने ढोका बिस्तारै खोलेर,
रुम पार्टनर रिसाउला कि भन्ने जोखिम मोलेर ।
अघिल्लो दिनको उठाउने सल्लाह अनुसार,
तोकिएको समयमै कोठामा आएर हल्ला गरेर,
शरीरलाई झकझकाउदै "उठ्..उठ्" भनेर,
उठ्न बाध्य बनाउछन, अलार्म बनेर ।

कहिले घामको तापले,
त कहिले कामको चापले ।
कहिले पुजाको घण्टीको आवाजले,
त कहिले छिमेकको अन्टिको आवाजले ।
कहिले सुत्दा सुत्दा थाकेर,
त कहिले निद्रा लाई नै धितो राखेर ।
कहिले साथीहरूको हल्लाले,
त कहिले आफ्नै मनको सल्लाहले ।
कहिले चराहरु कराएर,
त कहिले यत्तिकै निद्रा हराएर।
कहिले आमाका छनछन बज्ने चुराले,
त कहिले बुबाको बोलीका तीखो छुराले ।
यिनै कुराले निद्राबाट बिउझाउने काम गर्छन्,
बिस्तारा बाट उठाउने काम गर्छन्,
मेरो जिबनमा अलार्मको काम गर्छन् ।

र सबैभन्दा धेरै चोटि जिम्मेवारीले बिउझाउछ,
समयको माग अनुसारको बाध्यताले उठाउछ,
बिना कुनै आवाज,मौन तरिकाले।
भौतिक रुपको कुनै अलार्म बिना,
आफुले खाएका कसम नै अलार्म बनेर,
आफुले राखेको लक्ष्य नै अलार्म बनेर,
आफुले देखेका सपना नै अलार्म बनेर,
आफ्नो मनका इच्छा नै अलार्म बनेर,
आफ्नो कर्तव्य नै अलार्म बनेर,
आफ्नो पेशा नै अलार्म बनेर ,
आफ्नो दैनिकी नै अलार्म बनेर !!

Wednesday, April 5, 2017

परिक्षा तयारी

बढेको गर्मी
खलखल पसिना
कोठाकै बास

अनिधो रात
दिनरात पढाइ
फुलेका आखा

पालेको दारी
बैरागी अनुहार
ब्यस्त जिबन

आफ्नै तनाब
परिक्षाको समय
बोधो दिमाग

ठुला किताब
नसक्ने पाठ्यक्रम
जारी कोशिश

मनमा आस्था
पास भइने आश
अन्तिम जाच

Monday, April 3, 2017

मेरो परिचय !!


त्यसको नाम यो,
त्यसको थर यो,
फलानोको छोरा,
फलानोको दाइ,
फलानोको साथी,
कसैले नामले चिन्छन मलाई ।

त्यो यो पेशामा आबद्द,
त्यसले यो काम गर्ने,
यो क्षेत्रमा रुचि राख्ने,
यसको लागि यो गरेको,
यो काममा अघि सरेको,
कसैले कामले चिन्छन मलाई ।

त्यसको ठेगाना यो,
त्यसको घर यहा,
त्यहा पढेको,
त्यहा काम गरेको,
त्यो ठाउमा बस्ने,
कसैले ठामले चिन्छन मलाई ।

हो!कसैले नामले चिन्छन,
कसैले भने कामले चिन्छन,
त कसैले ठामले चिन्छन।

कसैले नामले भन्दा बढी कामले चिन्लान।
कसैले कामले भन्दा बढी ठामले चिन्लान।
कसैले ठामले भन्दा बढी नामले चिन्लान।

कसैले नाम मात्र भन्दा नचिन्न सक्छन्।
कसैले काम मात्र भन्दा नचिन्न सक्छन्।
कसैले ठाम मात्र भन्दा नचिन्न सक्छन्।

कसलाई के परिचय दिनु,
आफै अस्पष्ठ छु म,
मेरो परिचय नै अस्पष्ठ छ!
मेरो परिचय नै अपुरो छ!!

Friday, February 24, 2017

भाङ खान डराए !!

मलाई भाङ खान मन नभएको कहाँ हो र?
खाएर दिनभर नशामा झुलिएला भनेर डराए।

त्यसरी झुलेर कोठामै बस्न त के हुन्थ्यो र?
थाहै नपाइकन यताउता डुलिएला भनेर डराए।

यताउता डुलेर मात्र त के नै पो हुन्थ्यो र?
नशामै ससाना कुराहरु चुलिएला भनेर डराए।

चर्का चर्की त भोलि सेलाउन सक्थ्यो,
बोल्दा बोल्दै लफडामा घुलिएला भनेर डराए।

लफडा पर्दा पुलिसले समाउन सक्थ्यो,
आफू संगै साथिभाइ हुलिएला भनेर डराए।

पुलिसले हुले त भोलि छुटी हालिन्थ्यो,
आजसम्म पढेको सबै भुलिएला भनेर डराए।।

Friday, February 17, 2017

बिदाइ !!


ए दाइ ! बधाई छ है !!
हात तेर्साएर भनेको थिए,
ओठ भरिको हासोका साथ।
धन्यवाद भाइ धन्यवाद !
तेर्साएको हातलाई मायाले समाएर,
मुस्कुराउन नबिर्सी प्रतिउत्तर आयो।

तत्कालै पछाडिबाट मधुरो आवाज,
हेर्दाहेर्दै अब त जाने बेला हुन लाग्यो।
कहाँ जाने बेला हुन लाग्यो र दाइ ?
कहा सधै यही बसेर हुन्छ र भाइ,
सक्किएपछि त जानू पार्‍यो नि ।
ओहो! दाइको त यहाँ सक्किन लागिसकेछ,
दाइको त जाने बेला पनि भैसकेको रहेछ,
दाइले त बिदा माग्ने बेला भैसकेको रहेछ ।
दाईलाई त बिदाइ गर्ने बेला भैसकेको रहेछ ।
बधाई दिएर भ्याइनसक्दै,बिदाई दिने बेला भएछ।

साढे चार बर्ष बिताएको समय,
तिता मिठा अनगिन्ती अनुभव,
एउटै बाटोमा हिड्दा कतै धक्का लाग्यो होला।
एउटै समयमा हिड्दा कतै आखा जुध्यो होला।
एउटै ठाउमा एकैचोटि बोल्दा चित्त दुख्यो होला।
त्यसैले,
अन्जानमा भएका गल्ती बिर्साउन।
चित्त दुखाएको भएमा माफी माग्न।
अन्तिम क्षण अबिस्वास्निय बनाउन।
र छुटिने बेला मिठा याद मात्र पठाउन।
आयोजना गरियो,
एउटा छोटो औपचारिक कार्यक्रम,
तर यादहरुले भरिएको लामो कथा।
एउटा सानो मायाको चिनो,
तर जिन्दगीभर पुग्ने मीठो सम्झना।
हो! दाजु-भाइको सम्बन्ध गाढा बनाउन,
दाइले भाइलाई गर्ने माया बढाउन,
भाइले दाइलाई गर्ने सम्मान झल्काउन,
र यस्ता ससाना कुराको अनुभव गराउन,
बन्दोबस्त गरियो, चाजोपाजो मिलाइयो,
दिदि - दाइ हरुलाई दिने बिदाइको ।


कलेज आएको सुरुसुरुका दिनमा,
मिठा गाली सुन्ने बानी परेको थियो,
तर कहिलेकाही ती गाली सुन्न नपाउदा,
यी कानले हजुर लाइ नै खोज्ने गर्थे ।


तेस्रो बटनको नियमले शिर निहुराउदा,
अगाडि कोहि छ कि छैन भनेर,
डराउदै शिर उठाएर, छड्के हेराइमा,
यी आखाले हजुर लाइ नै खोज्ने गर्थे ।

परिक्षा एकदमै नजिकिदै जादा,
प्रोफेसरले दिएको नोट नपाउदा,
र सेलेबसको अत्तोपत्तो नहुदा,
यि मनले हजुर लाइ नै खोज्ने गर्थे ।

परिक्षाको ठिक अघिल्लो दिन,
डराएर पढेको केहि सम्झिन नसक्दा,
आत्तिएर एकदमै त्रासले भरिएका
यी अनुहारले हजुर लाइ नै खोज्ने गर्थे ।


परिस्थितिले संगै हुन मौका नमिल्दा,
मस्तिष्कले हजुरलाई नै सम्झने गर्थ्यो,
हजुरको नाम उच्चारण गर्न नपाउदा,
यि जिब्रोले हजुर लाइ नै खोज्ने गर्थे ।

पहिलो चोटि बिरामीको जाँच गर्ने बेला,
जति कोशिश गरेपनि प्रक्रिया मिल्थेन,
किताबमा लेखिएअनुसार गर्न नसक्दा,
यी हातहरुले हजुर लाइ नै खोज्ने गर्थे ।

यत्रो संगै बसेर छुट्टिने बेलासम्म आउदा,
औपचारिक बिदाइको कार्यक्रम संगसंगै,
सम्झनालाई कैद गर्नलाई कलम चलाउदा,
यो कलमले हजुर लाइ नै खोजिरहेका छन् ।


पछि गएर जिबनको कुनै मोडमा,
सिकाएकै कुरा उपभोग गर्न पाउँदा,
अहिले सिकेका दिन याद आउनेछ,
ती यादले हजुर लाइ नै खोज्ने वाला छन् ।

हो!! दाजु यो बिदाइ कार्यक्रम यसैको लागि हो!
यि याद सधै जिवित राख्ने सर्तका साथ बिदाइ।
सम्पर्क कहिल्यै नटुटाउने बाचाका साथ बिदाइ।
सम्बन्ध प्रगाढ बनाउने कसमका साथ बिदाइ।
बिताएका पल नबिर्सने बिश्वासका साथ बिदाइ।
भबिस्यमा उत्तरोत्तर प्रगतिको कामनाका साथ बिदाइ।

Tuesday, February 14, 2017

प्रणय दिवसमा चिकित्सालाई पत्र !!


प्रिय चिकित्सा,

सर्बप्रथम प्रणय दिवसको शुभकामना !!
जिन्दगीको लामो यात्रामा, अन्तिम सास सम्म पनि तिमी संगै जिबन बिताउने अठोट बोकेको भएर, पत्रमा तिमिलाई, प्रिय भनेर सम्बोधन गरे, थाहा छैन यो कति सम्म सम्बोधन गर्न लाएक छ । त्यही तिम्रो न्यानो पनको मायाले गर्दा भावनामा वहकिएर सम्बोधनमा पनि समआदरणीय सर्बनाम 'तिमि' प्रयोग गरे, थाहा छैन यो पनि कतिको लाएक छ भन्ने । औंला दिदा नाडी नै निलिदिने बानिको प्रभाव यहाँ पनि परेर हुनसक्छ, त्यही तिम्रो आत्मियताको न्यानो छाहरी पाएर, मात्तिएको मनले तिमिलाई 'तिमी' भनेर सम्बोधन गर्दै, तिम्रो नामको अगाडी प्रिय् लेखिदिएछ हातमा भएको कलमको सहायताले, थाहै नपाइ ।

पुरानो डाएरिका च्यात्तिएका पाना पल्टाउदा पनि एकिनका साथ भन्न सकिन कि, मैले तिमिलाई कहिलेदेखि मन पराउन थालेको थिए भन्ने । तर यत्ति सम्झना छ, तिमिलाई मनमनै मन त्यही दिन पराएको थिए, जुन दिन नजिकैको आफन्त बिरामी भएर हस्पिटलमा भर्ना गरेर राख्दा भेट्न जाने सिलसिलामा, एउटा सोतो पोसाकमा आएकी महिला आएर एकै सासमा भन्नुभयो, "डाक्टर'साप राउन्डमा आउदै हुनुहुन्छ, एउटा बिरामीको एउटा मात्र कुरुवा बसिदिनु होला, अनि हल्ला नगरी बसिदिनुहोला" । माछाबजार जस्तो ठाउमा डाक्टर आउने भनेपछि भिड साम्य र हल्ला मथ्थर । त्यस्तो देखेर मलाई पनि ती डाक्टरलाई हेर्ने रहर जागेर आयो, तर एकजना मात्र कुरुवा बस्ने भनेको छ । बाहिर जाउ कि यही बसौं भन्ने दोधारमा हुदा, त्यही बस्ने मनले जित्यो । सोचे, "खुट्टा खुम्च्याएर, सानो भएर बस्यो भने पाच बर्ष मुनिका भनेर खलासीले त भाडा छुट दिन्छ, हल्ला नगरी, खुट्टा खुम्चाएर सानो भएर बसिदिदा, यहा कसो छुट नहोला र?" त्यही सानो भएर बसेपछि अवसर मिल्यो राउन्डमा आएका डाक्टरलाई देख्ने । सानै थिए त्यति बेला, त्यही भएर डाक्टरको न त अनुहार याद गर्न सके न त सोधिखोजी गरेर नाम नै पत्ता लगाउने कोशिश गरे । खाइ लागेको शरीर, सुकिलो कपडा लगाएर घाटिमा एउटा डोरी जस्तो भिरेको । हसिलो अनुहारमा, अलि माथी सरेको कपाल, काला मिलेका आखी भौ, रसिला आखा, अलि चुच्चो तर मिलेको नाक र मुस्कुराउन नबिर्सने ओठ । फटाफट बोल्ने, बोली पनि कति मिठो, आवाज पनि कति प्रष्ट । हेर्दा सिनेमाको हिरो जस्तो तर वास्तविक जिबनमै पर्दा पछाडिको हिरो । हो त्यही दिन डाक्टरको बोलिचाली , लगाइ खुवाई, मान मर्यादा, इज्जत प्रतिस्ठा, सामाजिक सम्मान, र डाक्टरले गर्ने सामाजिक सेवा देखेर, चिकित्सकलाई मन पराउन थालेको थिए । चिकित्सा पेशा मन पराउन थालेको थिए । हो ! त्यही दिन देखि हो प्रिय, मैले तिमिलाइ मन पराउन थालेको थिए । तिमिलाई मन पराउन त थाले, तर कसैलाई व्यक्त गर्न निकै अफ्ट्यारो भयो । त्यो अफ्ट्यारोलाई छिचोल्दै, अलि आट गरेर, "ममि! डाक्टर बन्न के गर्न पर्छ ?" उत्सुकता साथ ममिलाई प्रश्न सोधे । जवाफमा, "धेरै पढ्नुपर्छ बाबू" भन्नुभयो । तिमिलाई मन पराएको जोशमा, डाक्टर बन्न धेरै पढ्नुपर्छ भन्ने भनाइको अनुसरण गर्दै, ममिको बोली झर्ने बित्तिकै, डाक्टर बन्ने जोशमा "मेरो स्वास्थ" भन्ने किताब पल्टाएर त्यस दिनसम्मको सबैभन्दा धेरै पढिदिएको थिए, लगभग १०/१२ पाना एकैचोटिमा ।

घडिको सुइ घुम्दै गए, क्यालेन्डरका पाना पल्टिदै गए, समय बित्दै गयो । बाल्यकालले बिस्तारै बिदा माग्यो र छाडेर गयो । अलिअलि कुरा बुझ्ने, अलिअलि परिपक्व, अलिअली शारीरिक बिकास, अलिअलि मानसिक बिकास । हो उमेर संगै यी कुराहरू बिकसित हुँदै गए र बाल्यकालका साना सोच ठुला हुँदै गए, केही हराउदै गए, केही पलाउदै गए, तर तिमिलाई मन पराएको मन भने हराएन, उल्टै बढ्दै गयो । धेरै पछि, लगभग जुंगाको रेखा बसिसकेको थियो त्यति बेला समय आयो, प्लस टु सकेर आफ्नो भबिस्य निर्धारण गर्ने । विभिन्न संकायका, विभिन्न बिषयका होडिङ बोर्ड र बिज्ञापन तिर आँखा गए पनि, मन तिमी तिरै थियो । यो मनलाई त्यहाबाट हटाउन सकिन । समय आयो, तिमिसंग प्रत्यक्ष जोड्न, सम्बन्ध गासी पाउ भनेर प्रवेश परिक्षाको फारम भर्ने । तिमिलाई मनमनै मन पराएको कुरा मनमै गुम्स्याएर राख्न भन्दा एकचोटि तिम्रो पनि राय बुझ्नको लागि कोशिश गरिहालौ भनेर त्यतिबेला, तिमिसंग सम्बन्ध सुचारु गर्न पाउ भनेर आवेदन फारम भरेको थिए । र तिमिले, परिक्षाको माध्यमबाट प्रस्ताव राख्नको लागि डाकेको थियौं । तिमिले भने अनुसार नै मैले प्रस्ताव राखेको थिए, MCQको उत्तरपुस्तिकामा गोला गोला चिन्ह लगाएर, सांकेतिक भाषाको प्रस्ताव पत्र । त्यो पत्रमा लेखिएका गोला गोला सांकेतिक भाषाका कुराहरुले तिमिलाई रिझाउन सफल भए सायद, त्यसैले सम्बन्धको लागि राझी भयौं र नाम निस्कियो । खुशी हुदै, तिमिसंग गासिने प्रक्रिया अगाडि बढाउन भनी घरमा फोन गरे । बुबाले उठाउनु भयो, भने "बुबा! एम बि बि एस को प्रवेश परिक्षाको नतिजा आयो, नाम निस्केको छ ।" बुबा पनि खुसी हुदै बधाई दिनु भयो, धन्यवादको औपचारिकता पछि एकछिन मौतना छायो । अनि एकछिन को त्यो मौनता चिर्दै मैले अर्को बोली फोरे, "तर, सशुल्क पढ्नेमा निस्केको हो" । एएए मात्रको निरुत्साहित जबाफ पाएपछि फोन राखियो । बुबाको खासै उत्सुकता नभएको उत्तर आएपछि पलाएका आश उडे, पुर्णिामाको जस्तो खुसीले भरिएको अनुहार, औंसीको रात जस्तै अध्यारो भयो, नजिकै पुगिसकेर पनि फेरि टाढिन पर्‍यो भन्ने चिन्ताका साथ । अब अझ राम्रोसँग पढेर, पुर्ण तयारीका साथ पुनः तिमिलाई सम्बन्धको प्रस्ताव राख्ने सोच बनाउदै थिए । त्यत्तिकैमा भोलिपल्ट फेरि फोन गर्ने आट गरे । भने, "कतैबाट पढ्न सम्भव छैन?" भन्ने प्रश्नमा पैसा जुट्ने श्रोत कतै छैन भन्ने आशय राखे । अनि त्यसपछि, तिमिलाइ कति मन पराउछु, तिमिसंग कतिको लगाव छ भनेर, मेरो मनको कुरा बुझ्नको भनेर प्रत्यक्ष संवाद गर्न भनेर घरमा बोलाइयो, गए । "पढ्न त सक्छस नि? सोचेर भन ।" लगानी र समय दुबै खेर जानू भएन है भन्ने आशयका साथ प्रश्न सोधियो । दिमाग त उत्तर के दिनु भनेर नाफा घाटाको हिसाब सोच्न ब्यस्त थियो, तर तिमिलाई मन पराइसकेको मनले हुन्छ पढ्न सक्छु भन्ने आशयका साथ दुइचोटी टाउको हल्लाइदियो, "तल-माथी-तल-माथी" । सम्झना छ अझैपनी त्यति बेला मैले शिर उठाएर हेर्न सकेको थिइन बुबाको अनुहारमा । यत्तिकैमा संवाद अन्त्य भयो । मौन सहमतिमा, बुबाको अनुहारमा "भर्नाको लागि तयारी गर्नु र पढ्ने मानसिकता बनाएर राख्नु" भन्नुभएको प्रष्ट पढ्न सकिन्थ्यो । डराएको अनुहारमा अलिकति मुस्कान छोडेर, भित्री मनबाटै "धेरै धेरै धन्यवाद बुबा" भने, ओठ नखोलेरै ।

भर्ना प्रक्रियाका एकदुई औपचारिकता पश्चात्, सुरु भयो मैले मन पराएको तिमिसंगको औपचारिक जीवन, यानिक मेरो मेडिको लाइफ । र त्यस संगै सुरु भयो तिमिसंगको प्रत्यक्ष सम्बन्ध । तिमिसंग सम्बन्धमा बाधिएको पहिलो एक-दुई महिना त निकै सकस भयो । नया ठाउ, नया परिवेश, नया मौसम, नया सम्बन्ध, नया साथी, नया भाषा, नया बोलिचाली, नया संस्कृति, नया रितिरिवाज, नया नियम । सम्पुर्ण चिज नया । सम्बन्धको सुरुसुरु भएर त्यतिबेला सम्म सायद मैले तिमिलाई बुझ्न भ्याइसकेको थिइन त्यही कारणले त सुरुसुरुमा निकै गाह्रो भएको थियो, यहाको ठाउँ र मौसम संग घुलमिल हुन । त्यसैले त यो गर्मीमा पड्कन नसकेको मकैको दाना जसरी नै भुट्भुटी रहेको जस्तो महसुस हुन्थ्यो ।

बिस्तारै तिमिलाई बुझ्न थालेपछि, घुलमिल हुँदै गए यहाको परिवेश संग, रमाउदै गए यहिको संस्कृति, नियम, बोलिचाली, नया साथी, नया भाषा संग र नजिक हुदै गए तिमिसंग । त्यही तिम्रो आत्मिएताको न्यानो छाहरी काफी थियो नेपालगन्जको गर्मी भुलाउनको लागी । त्यसपछि तिमिसंग रमाउदै खेल्दै तिमिसंगै बसेर तिमिलाई पढ्दा र तिमिलाई पुर्ण रुपमा समय दिदा पातलिदै गए आफ्ना आफन्त, साथी भाइ संगको सम्पर्क हरु । ब्यस्त राख्न थाले आफैलाई, केबल तिमिसंग मात्र । त्यसरी नै डुब्दै गए तिमिमा, हराउदै गए तिमी भित्र, दिनरात नभनी, बिहान साझ नभनी, भोक तिर्खा नभनी, अल्छि पन नदेखाइकन । पछि पछि त बिस्तारै नेपालगन्जको गर्मी पनि सितल लाग्न थाल्यो, यहाको जाडो पनि न्यानो लाग्न थाल्यो ।


तिमिसंग बिताएका यी साढे चार बर्ष मेरो जिबनको निकै नै अबिस्वास्निय र रोमाञ्चक बर्ष हुन् । धेरै कुरा सिके मैले, तिमिसंग नजिक भएर । औपचारिक पढाइको कुरा त आफ्नो ठाउमा छ । तर त्यो भन्दा अरु पनि धेरै कुरा सिक्ने मौका मिल्यो मलाई तिमिबाट । हो! आफ्नो सम्बन्धमा मलाई बाधेर, मिठो बोल्न सिकायौ, मनका कुरा खोल्न सिकायौ, धैर्यता राख्न सिकायौ, समयको मजा चाख्न सिकायौ, मान्छे चिन्न सिकायौ, दुखमा पनि खुशी किन्न सिकायौ, दुखमा नआत्तिन सिकायौ, सुखमा नमात्तिन सिकायौ, बिरामी संगको सम्बन्ध बिकास गर्न सिकायौ, जस्तोसुकै समस्याको निकास गर्न सिकायौ, दिनरात नभनी पढ्न सिकायौ, पढेर नै अगाडि बढ्न सिकायौ, आफू मात्र बाच्न मात्र नभई, अरुलाई पनि बचाउन सिकायौ । हो ! तिमिले मलाई, लगभग सबै बिरामीलाई निको बनाएर नचाउन सिकायौ, आवश्यक पर्दा तिनीहरुकै गाली पनि पचाउन सिकायौ ।


यत्रो बर्षको हाम्रो सुमधुर सम्बन्ध पश्चात् अब यो हाम्रो सम्बन्धलाई आधिकारिक बनाउन चाहन्छु । हाम्रो सम्बन्ध बलियो अनि सफल बनाउन चाहन्छु । त्यसले, अबको केही महिनामै आफुले सम्भव भएर भ्याएसम्मका सम्पुर्ण पुर्ब तयारिका साथ, स्थेतेस्कोपको माला, हेड मिररको टोपी, कैचिको औंठी लगाएर, सेतो सुकिलो एप्रोनको कोटमा सजिएर, टिउनिङ फ्रकको बाजा बजाउदै तिम्रो सामु आइ तिम्रो "डाक्टर" भन्ने थर, टाइटल बनाइ मेरो नामको अगाडि राखेर हाम्रो सम्बन्ध आधिकारिक बनाउनलाई प्रस्ताव लिएर आउछु ।

तिमिलाई लाग्दै होला, आजको दिन किन मलाइ पत्र लेखिएको छ भन्ने । सोसल मिडियको भित्ता भरी, भ्यालेन्टाइन डे को नाममा लेखिएका स्ट्याटस, राखिएका टुइट, हालिएका फोटो हरु हेर्दा मलाई पनि भ्यालेन्टाइन डे मनाउन रहर लागेर आयो । हो यही रहरले मलाई पनि आफुले मन पराएको, माया गरेको कुराको नाममा पत्र लेखौ भनेर उस्काए । यो पत्र लेख्न अगाडि पनि धेरै बेर सोचे । लेखौ कि के गरौं ? चिकित्साअनुरागी मन चिकित्साको गलत ब्याख्या होला भनेर डरायो, प्रेमअनुरागी मन प्रेमको गलत ब्याख्या होला भनेर डरायो, तर साहित्यअनुरागी मनले आट गर्‍यो, मनले मन पराएको चिकित्सा लाई प्रणय दिवसको उपलक्ष्यमा पत्र लेख्न ।जसरी चौबीसै घण्टा मेरो मस्तिष्कमा खेलिरहेको हुन्छौं, त्यतिनै न्यानो पन पाउछु म, त्यतिनै नजिकिएको आभास हुन्छ । म दुनियाँ बिर्सेर हर क्षण तिम्रो बारेमा मात्रै सोचेर बस्न सक्छु । हो, आजकाल मेरो मस्तिष्कमा तिमी बाहेक कोहि आउदैन, आफैमा तिमी पाउन थालेको छु, तिमि बिना आफू अधुरो पाउन थालेको छु, तिमिमा नै जिन्दगी देखेको छु मैले । सायद यिनै त हुन नि प्रेममा पर्नका लागि क्राइटेरिया, त्यसैले मलाई तिमिसंग एकदमै नजिकिएको अनुभव हुन्छ । समआदरणीय सर्बनाम प्रयोग गरेर, प्रिय भनी सम्बोधन गर्न उस्काउने पनि यही तिमिसंग नजिकिएको मन, तिमिलाई मन पराउने मन र तिमिसंगको अटुट सम्बन्धले हो । यति ठुलो चिकित्सा बिद्या लाई नै तिमी भनेर सम्बोधन गर्दा तिम्रो मानमा कताकता चोट पुगेको जस्तो अनुभव तिमिलाई भएको छ भने, यसै पत्र मार्फत माफी माग्न चाहान्छु । तिमिसंग गासिएको सम्बन्ध र तिम्रो न्यानो स्नेहले पाएर भावनामा वहकिएर, प्रणय दिवस मनाउन लेखिएको काल्पनिक पत्र हो, अन्यथा नलिनु ।

अन्त्यमा, धन्यवाद तिमिलाई, जिबनको लामो यात्रामा यत्रो समय संगै रहि सहयात्री बनेर साथ दिएकोमा । र आगामी दिनमा पनि यस्तै सहायता को अपेक्षा राख्दै, नचाहदा नचाहदै यो कपिमा दैडिरहेका कलमलाई आराम दिएर यस पत्रका लागी बिदा माग्दछु ।


उहीँ,
तिमिलाई आफ्नो भनी ठान्ने,
भित्री मनदेखी आत्मीय मान्ने,
चिकित्सा शास्त्रको विद्यार्थी।

स्वास्थ खबरमा छापिएको Date: 14/02/2017

Tuesday, February 7, 2017

ह्यापी रोस डे!!


Enteric fever भएको सातौ दिनमा,
छातीमा ससाना Red Macules आउछ,
हो त्यही Rose Spotको ह्यापी रोस डे।

DVT ले गर्दा Odema भएको खुट्टामा,
चिमोठ्दा खेरि तातो र Stiff हुन्छ,
हो त्यही Rose'signको ह्यापी रोस डे।

Adenoidectomy या Tonsillectomy गर्दा,
टाउको र घाटी Extend गरेर राखिन्छ,
हो त्यही Rose Positionको ह्यापी रोस डे।

Rheumatoid Arthritisको जाँच गर्ने बेला,
Rheumatoud Factorको जुन जाँच गरिन्छ,
हो त्यही Rose-Waaler testको ह्यापी रोस डे।

Chrons Disease मा Barium Mealगर्दा,
Mucosaमा जुन Deep Ulcer देखिन्छ,
त्यही  Rose-Thorn Ulcerको ह्यापी रोस डे।

 X-linked Pseudohermaphroditismमा,
केटामा Gynaecomastia, Sterility देखिन्छ,
त्यही Rosewater Syndromeको ह्यापी रोस डे।

Sporotrichosis भन्ने Fungal Infection,
जुन Sporothrix schenckiiले गराउछ,
त्यहीRose Gardener's Diseaseको ह्यापी रोस डे।

Wednesday, January 25, 2017

केबल उनको गल्ती थियो !!


उसकै चिन्ताले गर्दाHypertensionभयो।
StrokeसंगसंगैHeart Failureगराउन,
Stress,रक्सी अनि चर्को नुनको गल्ती थियो।।

चुरोटलेCOPDत पहिल्यै गराइसकेको थियो।
Respi.FailureरPolycythemaगराउन,
Kidneyपुग्ने Hypoxicखुनको गल्ती थियो।।

Trismusभएर मुख नै राम्रोसँग खोलिएन।
OralUlcerरSubMucusFibrosisहुन,
पानमा हुने Tobaccoर चुनको गल्ती थियो।।

झगडा पर्दाCorneaको वरिपरि चोट लाग्यो।
रातिमा नदेख्नेNight Blindnessगराउन,
अस्थाएको घाम र मधुरो जुनको गल्ती थियो।।

कानमा समस्या देखिएर सुन्न पनि छाड्यो।
पहिलेTinnitus,पछिDeafnessगराउन,
सधैको किचकिच र चर्को धुनको गल्ती थियो।

को कस्तो भनी मान्छे चिन्न असफल भयो उ।
मान्छे नचिन्ने खालको मानसिक रोग गराउन,
बैगुनिलाई लगाउन पुगेको गुनको गल्ती थियो।

आर्थिक कमजोरी अझ त्यो माथी पनि बिरामी।
रोग बल्झिन साथसाथै जिबनस्तर नाजुक हुन,
घरजग्गा,भौतिक सम्पत्ति र सुनको गल्ती थियो।।

गरिब त्यसमाथि पनि बिरामी भनेर छाडेर गइ।
छाडेर जानुमा यी त देखाउने बहाना मात्र हुन,
यस्तो बिरामी गराउन केबल उनको गल्ती थियो।।

Sunday, January 22, 2017

आत्महत्या गरेर के जित्यौ??


आफुलाई माया गर्नेहरुको आँखा भरेर के जित्यौ?
आफन्तलाईनै रुवाएर आत्महत्या गरेर के जित्यौ??
तिम्रो खुशी आफ्नै सम्झी रमाउने कयौं थिए यहा,
त्यस्ता फ्यानहरुको ओठमा निराशा छरेर के जित्यौ?

दिनरात दुख गरेर त्यत्रो माथी पुगिसकेको थियौ,
शिखरमा चढिसकेर पनि हार मानी झरेर के जित्यौ?

लाखौं फलोअर्स र हजारौं फ्यान बटुलेकै थियौ,
सेलिब्रेटीको जिबनबाट हत्यारामा सरेर के जित्यौ?

के'था अगाडिको जिबन उज्यालो पो थियो कि,
जानिजानी आफै मृत्युको मुखमा परेर के जित्यौ?

आफुलाई माया गर्नेहरुको आँखा भरेर के जित्यौ?
आफन्तलाईनै रुवाएर आत्महत्या गरेर के जित्यौ??

Wednesday, January 11, 2017

खुलेर भन मनको कुरा !!


खुलेर भन मनको कुरा डाराएर हुदैन ।
व्यक्त नगरी मनमनै मन पराएर हुदैन ।।
तिम्रो आवाज मैले सुन्न सक्न पर्‍यो,
कसैले नसुन्ने एकान्तमा कराएर हुदैन ।।

मनमा लागेका कुरा पोख्न सक्न पर्‍यो,
गुम्सिएका भावनाले मुटु भराएर हुदैन ।

तिमी त मेरै वरिपरि बस्न सक्न पर्‍यो,
खोज्ने बेलामा अझ उल्टै हराएर हुदैन ।

छाडेर जान लाग्दा रोक्न सक्न पर्‍यो,
बिलौना गर्दै आँखा भरी गराएर हुदैन ।

खुलेर भन मनको कुरा डाराएर हुदैन ।
व्यक्त नगरी मनमनै मन पराएर हुदैन ।।

Monday, January 2, 2017

घाइते रुख !!


पोहोर काटिएको घाउ बिस्तारै पुरिदै थियो
हांगा फैलाएर लटरम्म रुख भरिदै थियो
मेरो हरियालीको तारिफ पनि गरिदै थियो
हुर्किदै थिए म,झ्यामिदै थिए,फैलदै थिए ।

तर आज अचानक आरोप लाग्यो मलाई
मैले मानिसहरुको घाम छेके अरे
हल्लिएर हावा चलाए अरे मैले
जाडो भयो अरे यहाँ मेरै कारणले

यो त मेरालागि केही नया थिएन
पहिला मैले नै घाम छेकेको थिए
तर त्यतिबेला,सितल बनाएको थिए
पहिला पनि हावा चलाउथे
गर्मीको रवैया लाई मथ्थर पारिदिन्थे

तर किन अस्तिको देवता आज दानव बन्न पुगे
सितल दिदा दिदा आज जाडो बनाए
मानिसको इच्छा बिपरित काम गरे
ठूलो अपराध गरेझैं सजाय सुनाइयो
काटियो मलाई
हागा बिगा सबै झारियो
लुटियो मेरो अस्तित्व
खोसियो मेरो फैलने अधिकार
धरापमा पारियो मेरो बाच्ने अधिकार
तर टुप्पोमा अलिकति बाकी राखिएको छ
तड्पाई तड्पाई मार्न खोजिएको छ
यी मानिस चाहदैनन् कि म मरिहालु
किनकि यिनिहरु लाई थाह छ,
गर्मीमा म अत्यन्त जरुरी हुनेछु
भगवान सरह रहनेछु मानिसका लागि,
कम्तिमा घाम छेकेर सितलता दिने काममा
पात हल्लाएर सितल हावा दिने काममा


अहिले नकाटे पनि केही महिनामा आफै झर्ने थिए
तर निकै आतुर थिए मानिस
मलाई काटेर जाडोमा घाम ताप्न
चिसो हावा रोकेर आफ्नो स्वार्थ पुरा गर्न

तर घाइते बनाएर छाडिएको छ मलाई
टुप्पोमा अलिकति पात बाहेक सबै काटिएको छ
आज बुझे मानिस कति स्वार्थी हुदो रहेछ,
कमसेकम आफुलाई फाइदा हुने काममा ।।