Search This Blog

Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Saturday, May 4, 2019

आमा !!

महिनावारी रोक्किएर,वाक्क-वाक्क गर्दै,
भर्खर फोलिक एसिड खान सुरु गरेका,
लाजले भरिएका ती अनुहारमा आमालाई देख्छु।

गर्भवती भएर,दुइटा जिउको भार बोक्दा,
मातृत्वको सुन्दरता संगै झल्किएको त्यो,
कालो पोतोले भरिएको अनुहारमा आमालाई देख्छु।

सुत्केरी ब्यथाले च्यापेर प्रसव कक्षमा रुदै,
आमा बन्न आमा भन्दै आमालाई नै गुहार्ने,
असिन पसिन भएका अनुहारमा आमालाई देख्छु।

अनि बच्चा रोएको आवाज सुन्ने बित्तिकै,
आफ्नो सुत्केरी ब्यथाको पिडा बिर्सिएर,
मुस्कुराउन नबिर्सिने अनुहारमा आमालाई देख्छु ।

जन्मिए पछि नियमित खोप लगाउन पर्दा,
बच्चालाई थाहै नहुने सानो सुइ लगाउदा,
आफैलाई दुखेझै गर्ने अनुहारमा आमालाई देख्छु।

शरीर छाम्दा अलि-अलि तातो छ भनेर,
ज्वरो नहुदा पनि,इमर्जेन्सी दौडाइहाल्ने,
व्यग्र अनि व्याकुल अनुहारमा आमालाई देख्छु।

एकचोटि बान्ता गर्दैमा वा थोरै खोक्दैमा,
रातिको तीन बजे पनि हस्पिटल ल्याउने,
चिन्तित अनि उत्सुक अनुहारमा आमालाई देख्छु।

हट्टकट्ट, एकदम स्वस्थ बच्चा लिएर आएर,
बच्चाले किन थोरै खान्छ भन्ने चिन्ता लिदै,
बारम्बार प्रश्न सोध्ने अनुहारमा आमालाई देख्छु।

काम ज्वरो आएको बच्चा काखमा च्यापेर,
आखा पल्टायो अनि फिज निकाल्यो भन्दै,
आत्तिदै आएको रुञ्चे अनुहारमा आमालाई देख्छु।

चोटपटक लागेर काटेको बच्चा आउँदा,
घाउ सफा गर्ने बेला,रगत बगेको देखेर,
छेउमै बेहोस हुने ती अनुहारमा आमालाई देख्छु।

सुइ लगाएर,काटेको घाउमा टांका लगाउदा,
दुखेर हैन कि आत्तिएर यदि बच्चा रोयो भने,
मलाई गाली गर्ने ति अनुहारमा आमालाई देख्छु।

घरमा अर्को बच्चा एक्लै छाडेको छु भन्दै,
भर्ना भन्दा,खाने औसधि मिलाईदिनु भन्ने,
दुरदर्शि ममतामयी अनुहारमा आमालाई देख्छु।

बच्चा ठिकै छ,औसधि लिएर घर जानु भन्दा,
औसधिले पक्का ठिक हुन्छ भन्दै प्रतिप्रश्न गर्ने,
स्वास्थप्रति संवेदनशील अनुहारमा आमालाई देख्छु।

निमोनियाले कोखा हान्दै गरेको बच्चालाई,
बाफ लगाइदिनु,अक्सिजन लगाइदिनु भन्दै,
काम गर्न अत्याउने अनुहारमा आमालाई देख्छु।

सिरिअस बच्चालाई,वार्डमा उपचार गाह्रो छ,
आइसियु चाहिन सक्छ,अन्तै लैजानु भन्दा,
होश-हवास उडेका ती अनुहारमा आमालाई देख्छु।

जन्मजात कठिन रोग लागेको बच्चा च्याप्दै,
उपचार नभएपनी बारम्बार हस्पिटल धाउने,
आशले भरिएका ती अनुहारमा आमालाई देख्छु ।

झार-फुक गरेरै सिरिअस बनाएर ल्याउदा,
कोशिश गर्छु तर ल्याउन ढिलो भयो भन्दा,
रुदै अनुनय बिनय गर्ने अनुहारमा आमालाई देख्छु।

बेहोस भनेर ल्याएको बच्चा मृत घोषणा गर्दा,
मेरो पाखुरामा झुन्डिएर केहि गर्दिनुस् भन्दै,
भित्तामा टाउको ठोक्ने अनुहारमा आमालाई देख्छु।

सोचे अनुरुप उपचार गरेर निको बनाएपछि,
धन्यवादको गुच्छा चढाउदै दुबै हात जोडेर,
आभारी भएका प्रफुल्ल अनुहारमा आमालाई देख्छु।

यत्रतत्र गुन्जिरहेका ममतामयी धुनमा आमालाई देख्छु।
निस्वार्थ गरेका माया,लगाएका गुणमा आमालाई देख्छु।
सुन्दरताको मापक,पुर्णिामाको जुनमा आमालाई देख्छु।

हर दिन, हर क्षण आमाकै याद गरिराख्ने भएपछि पनि,
भावनाले जोडिएर सधै चरणमा परिराख्ने भएपछि पनि,
भेटेका सबै अनुहारमा आमा देखिराख्ने भएपछि पनि,
अनि आमालाई सम्झिएर लेख लेखिराख्ने भएपछि पनि,
आफ्नी आमालाई सम्झन बर्षको एक चोटि,
त्यो पनि आज औंसीकै दिन कुरिराख्नु पर्छ र?

Wednesday, April 24, 2019

कविता: मृत्‍युको घोषणा

एम्बुलेन्सको साइरन बज्नासाथ सतर्क हुन्छु।
डाक्टर'साप! एउटा बिरामी छ!कता ल्याउ?
यता ल्याउनुस बिरामी,यता इमर्जेन्सीमा।
बिरामी ओर्लेपछि सम्पुर्ण ध्यानाकर्षण हुन्छ।
हिडेर आउदै कि व्हिलचियर कि स्टेचरमा,
अनुहारको भाव,हातको स्थान,चालचलन,
सम्पुर्ण तर्फ सबै ध्यान एकैचोटि जान्छ।
वार्तालाप अगवै धेरै कुरा सोचिसकेको हुन्छु।
बिरामीको रोग,स्थिति,गम्भीरता,सबै सबै।

बिरामीको चाल केहि नदेखिए,दैडिदै जान्छु।
नाडी छाम्छु,धड्कन अड्किएको थाहा हुन्छ।
घाँटी छुन्छु,निर्जीव मुडो छोएको जस्तै हुन्छ।
आलाले छाति सुन्छु,मुटु रोक्किएको हुन्छ।
फोक्सो सुन्दा सास फेर्न बिर्सिएको हुन्छ।
आखामा बत्ती बाल्छु,नानी खुन्चिन मान्दैनन्।
कपासले आँखा छुन्छु,झिम्काउन सक्दैन।
बिरामी सिरिअस छ है भन्छन् उनिहरु,
तर म बिरामी नै छैन भन्छु मनमनै।
हातमा प्रेसर नाप्छु,केहि सुनिदैन।
अक्सिजनको मात्रा हेर्छु,शुन्य देखाउछ।
अनि हतारहतार इसिजी गर्न लगाउछु।
जिन्दगीमा आउने उतारचढाव हरु जस्तै,
इसिजिमा आउन पर्ने तलमाथि धर्काहरु,
सिधा आउछन् कि उसको जिबनका,
सम्पुर्ण उतारचढाव सबै अन्त्य भए भनेर।

आफन्तहरु केहि नभएको झै ढुक्क बस्छन्,
सोच्छन्! हस्पिटल ल्याएपछि सबै ठिक हुन्छ।
मलाई सिधै बिरामी छैन अब भन्न गाह्रो हुन्छ।
त्यसैले भुमिका बाध्न तर्फ लाग्छु;
अलिकति मलिन अनुहार बनाएर सोध्छु,
पुरानो रोग के के छन्?
त्यस्तो कुनै दीर्घ रोगको औसधि खानुहुन्छ?
कहिले देखी उहाँ बिरामी हुनुहुन्छ?
हिजोआज स्वास्थमा केहि गडबडी थियो?
अन्तिम चोटि के खाना खानु भयो ?
उहाँलाई यस्तो कतिबेला देखि भयो?
कतिबेला देखी बोल्न छाड्नु भयो?
कतिबेला देखी बेहोस हुनुहुन्छ?
कतिबेला देखी चल्न छाड्नु भयो?

यत्तिका प्रश्न सोधे पछि पनि नबुझे झै गर्छन्,
अनुहारमा केहि डराएको हाउभाउ हुदैन।
अनि मृत घोषणा गर्न तर्फ लाग्छु,
सबैभन्दा नजिकको आफन्त बोलाएर भन्छु,
अब उहाँ हुनुहुन्न ।
छांगाबाट खसेको झै हुन्छन्,
बिश्वास नै गर्दैनन्।
म, इसिजिका सिधा धर्को देखाउदै सम्झाउछु।
रोइ-कराइ सुरु हुन्छ,अनुनय विनय गर्छन्।
मेरो पाखुरामा झुन्डिएर, मेरा हात तान्छन्,
अनि आश बाकी नरहेको लास सामु लान्छन्।
केहि सकिन्छ भने गरिदिनु भन्दै हात जोड्छन्।
रुन्छन्,कराउछन्,बोलाउछन्, उठाउछन्,
झकझकाउछन्, पानी छम्किन्छन्,
हात खुट्टा मिच्छ्न्, छाती पिट्छन्, थप्पड हान्छन् !
तर अह! ऎया भनी उठ्दैन उ।
त्यो चीत्कारको बेवास्ता गर्छ उ।
हल न चल एकै ठाउमा बस्छ उ।
मर्यो रे उ! साच्चै मर्यो रे उ!

मेरा पनि गह भरी आशु हुन्छन्,तर चुहाउदिन।
मुटु थरथर काम्न थाल्छ,तर डराउदिन।
ओठ लगलगाउछन्,तर बाहिर देखाउदिन।
अनि कठोर बनेर भनिदिन्छु कि,
अब प्रयास गर्ने ठाउँ कहिँ कतै केहि बाकी छैन।
अनि बिरामी भनेर ल्याइएको मृत शरीर छोडेर,
अन्य भएका बिरामीको उपचारमा खट्छु।

एकछिनको आघात पछि पत्याउन कर लाग्छ।
अनि आएर कारण सोध्छन्;
के कारणले मृत्यु भयो होला?
म यथार्थ भन्छु,
यहा आउदा खेरि केही थिएन।
मैले मृत्यु घोषणा गरेको मात्र हो।
के कारण चाहिँ एकिन थाहा भएन।

उनिहरु आफ्नो अड्कल प्रमाणित गर्न खोज्छन्,
हर्ट अट्याक आएको हो?
प्रेसरले हानेको हो?
एक्कासि दम बढेको हो?
कुनै खानामा गडबडी?
बिख वा अन्य केहि पदार्थ सेवन?

घाटिमा भिरेको आलाले मर्यादा भित्र राख्छ,
र "होला" भन्ने शब्दमा अड्कल काट्न दिदैन।
अनि पोस्ट मार्टम गर्न सल्लाह दिन्छु।
र संसार बाट बिदा भैसकेको उसलाई,
र शोकाकुल आफन्तलाई सम्झाइ बुझाइ,
पोस्ट मार्टमको लागी त्यहाबाट बिदा गर्छु।

अर्को दिन बिहान,आफ्नो ड्युटी सकिने बेला,
दर्ता पुर्जीमा टासिंएको इसिजिको टुक्रा हर्दै,
पालो दिन आएका सहकर्मी ठट्टा गर्दै भन्छन्,
आज पनि चित्रगुप्ता संग सहकार्य गरिएछ हैन?
म अनिधो अनुहारमा,मलिन हासो हासेर भन्छु,
यदि म भएको ठाउमा उ चाडो आएको भए,
या यमदुत उ भएको ठाउमा ढिलो पुगेको भए,
लडाइ गरेर भएपनि यमदुतलाई हराउँथे होला,
तर, मेरो भन्दा यमदुतको पहुँच चाडो भएकाले,
मेरो सम्पर्कमा आउन अगवै उसलाई हरेर लगे।
उसको सास र आत्मा साथमा लिएर,
र त्यो मुडो शरीर यही धर्तीमा छोडेर।

Thursday, June 29, 2017

अलार्म !!

मेरा लागि अलार्म बिउझाउन कम,
सम्झाउन बढि प्रयोग भएका छन् ।
५मिनेटको छोटो निद्रा देखी,
१८घण्टा सम्मको लामो सुत्ने समय ।
तर, नतोकिएको निदाउने समय ।
निद्रा पनि शरीरको आवश्यकता हैन,
समयको माग अनुसारका हुन्छन् ।

घरमा हुदा प्रायः
बिहानै पुजा गरेर आमाले घण्टी बजाउदै गर्दा,
घामका किरण लजाउदै आइपुग्छन कोठामा,
ढोका नढक्ढकाइ,झ्यालबाट भित्र छिरेर
र चकिलो प्रकाश अनुहार भरि छरेर,
उठ्न बाध्य बनाउछन, अलार्म बनेर ।

होस्टेल हुदा प्रायः
साथिहरु, चिर्‍रर्‍र...गर्ने ढोका बिस्तारै खोलेर,
रुम पार्टनर रिसाउला कि भन्ने जोखिम मोलेर ।
अघिल्लो दिनको उठाउने सल्लाह अनुसार,
तोकिएको समयमै कोठामा आएर हल्ला गरेर,
शरीरलाई झकझकाउदै "उठ्..उठ्" भनेर,
उठ्न बाध्य बनाउछन, अलार्म बनेर ।

कहिले घामको तापले,
त कहिले कामको चापले ।
कहिले पुजाको घण्टीको आवाजले,
त कहिले छिमेकको अन्टिको आवाजले ।
कहिले सुत्दा सुत्दा थाकेर,
त कहिले निद्रा लाई नै धितो राखेर ।
कहिले साथीहरूको हल्लाले,
त कहिले आफ्नै मनको सल्लाहले ।
कहिले चराहरु कराएर,
त कहिले यत्तिकै निद्रा हराएर।
कहिले आमाका छनछन बज्ने चुराले,
त कहिले बुबाको बोलीका तीखो छुराले ।
यिनै कुराले निद्राबाट बिउझाउने काम गर्छन्,
बिस्तारा बाट उठाउने काम गर्छन्,
मेरो जिबनमा अलार्मको काम गर्छन् ।

र सबैभन्दा धेरै चोटि जिम्मेवारीले बिउझाउछ,
समयको माग अनुसारको बाध्यताले उठाउछ,
बिना कुनै आवाज,मौन तरिकाले।
भौतिक रुपको कुनै अलार्म बिना,
आफुले खाएका कसम नै अलार्म बनेर,
आफुले राखेको लक्ष्य नै अलार्म बनेर,
आफुले देखेका सपना नै अलार्म बनेर,
आफ्नो मनका इच्छा नै अलार्म बनेर,
आफ्नो कर्तव्य नै अलार्म बनेर,
आफ्नो पेशा नै अलार्म बनेर ,
आफ्नो दैनिकी नै अलार्म बनेर !!

Wednesday, April 5, 2017

परिक्षा तयारी

बढेको गर्मी
खलखल पसिना
कोठाकै बास

अनिधो रात
दिनरात पढाइ
फुलेका आखा

पालेको दारी
बैरागी अनुहार
ब्यस्त जिबन

आफ्नै तनाब
परिक्षाको समय
बोधो दिमाग

ठुला किताब
नसक्ने पाठ्यक्रम
जारी कोशिश

मनमा आस्था
पास भइने आश
अन्तिम जाच

Friday, February 24, 2017

भाङ खान डराए !!

मलाई भाङ खान मन नभएको कहाँ हो र?
खाएर दिनभर नशामा झुलिएला भनेर डराए।

त्यसरी झुलेर कोठामै बस्न त के हुन्थ्यो र?
थाहै नपाइकन यताउता डुलिएला भनेर डराए।

यताउता डुलेर मात्र त के नै पो हुन्थ्यो र?
नशामै ससाना कुराहरु चुलिएला भनेर डराए।

चर्का चर्की त भोलि सेलाउन सक्थ्यो,
बोल्दा बोल्दै लफडामा घुलिएला भनेर डराए।

लफडा पर्दा पुलिसले समाउन सक्थ्यो,
आफू संगै साथिभाइ हुलिएला भनेर डराए।

पुलिसले हुले त भोलि छुटी हालिन्थ्यो,
आजसम्म पढेको सबै भुलिएला भनेर डराए।।

Friday, February 17, 2017

बिदाइ !!


ए दाइ ! बधाई छ है !!
हात तेर्साएर भनेको थिए,
ओठ भरिको हासोका साथ।
धन्यवाद भाइ धन्यवाद !
तेर्साएको हातलाई मायाले समाएर,
मुस्कुराउन नबिर्सी प्रतिउत्तर आयो।

तत्कालै पछाडिबाट मधुरो आवाज,
हेर्दाहेर्दै अब त जाने बेला हुन लाग्यो।
कहाँ जाने बेला हुन लाग्यो र दाइ ?
कहा सधै यही बसेर हुन्छ र भाइ,
सक्किएपछि त जानू पार्‍यो नि ।
ओहो! दाइको त यहाँ सक्किन लागिसकेछ,
दाइको त जाने बेला पनि भैसकेको रहेछ,
दाइले त बिदा माग्ने बेला भैसकेको रहेछ ।
दाईलाई त बिदाइ गर्ने बेला भैसकेको रहेछ ।
बधाई दिएर भ्याइनसक्दै,बिदाई दिने बेला भएछ।

साढे चार बर्ष बिताएको समय,
तिता मिठा अनगिन्ती अनुभव,
एउटै बाटोमा हिड्दा कतै धक्का लाग्यो होला।
एउटै समयमा हिड्दा कतै आखा जुध्यो होला।
एउटै ठाउमा एकैचोटि बोल्दा चित्त दुख्यो होला।
त्यसैले,
अन्जानमा भएका गल्ती बिर्साउन।
चित्त दुखाएको भएमा माफी माग्न।
अन्तिम क्षण अबिस्वास्निय बनाउन।
र छुटिने बेला मिठा याद मात्र पठाउन।
आयोजना गरियो,
एउटा छोटो औपचारिक कार्यक्रम,
तर यादहरुले भरिएको लामो कथा।
एउटा सानो मायाको चिनो,
तर जिन्दगीभर पुग्ने मीठो सम्झना।
हो! दाजु-भाइको सम्बन्ध गाढा बनाउन,
दाइले भाइलाई गर्ने माया बढाउन,
भाइले दाइलाई गर्ने सम्मान झल्काउन,
र यस्ता ससाना कुराको अनुभव गराउन,
बन्दोबस्त गरियो, चाजोपाजो मिलाइयो,
दिदि - दाइ हरुलाई दिने बिदाइको ।


कलेज आएको सुरुसुरुका दिनमा,
मिठा गाली सुन्ने बानी परेको थियो,
तर कहिलेकाही ती गाली सुन्न नपाउदा,
यी कानले हजुर लाइ नै खोज्ने गर्थे ।


तेस्रो बटनको नियमले शिर निहुराउदा,
अगाडि कोहि छ कि छैन भनेर,
डराउदै शिर उठाएर, छड्के हेराइमा,
यी आखाले हजुर लाइ नै खोज्ने गर्थे ।

परिक्षा एकदमै नजिकिदै जादा,
प्रोफेसरले दिएको नोट नपाउदा,
र सेलेबसको अत्तोपत्तो नहुदा,
यि मनले हजुर लाइ नै खोज्ने गर्थे ।

परिक्षाको ठिक अघिल्लो दिन,
डराएर पढेको केहि सम्झिन नसक्दा,
आत्तिएर एकदमै त्रासले भरिएका
यी अनुहारले हजुर लाइ नै खोज्ने गर्थे ।


परिस्थितिले संगै हुन मौका नमिल्दा,
मस्तिष्कले हजुरलाई नै सम्झने गर्थ्यो,
हजुरको नाम उच्चारण गर्न नपाउदा,
यि जिब्रोले हजुर लाइ नै खोज्ने गर्थे ।

पहिलो चोटि बिरामीको जाँच गर्ने बेला,
जति कोशिश गरेपनि प्रक्रिया मिल्थेन,
किताबमा लेखिएअनुसार गर्न नसक्दा,
यी हातहरुले हजुर लाइ नै खोज्ने गर्थे ।

यत्रो संगै बसेर छुट्टिने बेलासम्म आउदा,
औपचारिक बिदाइको कार्यक्रम संगसंगै,
सम्झनालाई कैद गर्नलाई कलम चलाउदा,
यो कलमले हजुर लाइ नै खोजिरहेका छन् ।


पछि गएर जिबनको कुनै मोडमा,
सिकाएकै कुरा उपभोग गर्न पाउँदा,
अहिले सिकेका दिन याद आउनेछ,
ती यादले हजुर लाइ नै खोज्ने वाला छन् ।

हो!! दाजु यो बिदाइ कार्यक्रम यसैको लागि हो!
यि याद सधै जिवित राख्ने सर्तका साथ बिदाइ।
सम्पर्क कहिल्यै नटुटाउने बाचाका साथ बिदाइ।
सम्बन्ध प्रगाढ बनाउने कसमका साथ बिदाइ।
बिताएका पल नबिर्सने बिश्वासका साथ बिदाइ।
भबिस्यमा उत्तरोत्तर प्रगतिको कामनाका साथ बिदाइ।

Wednesday, January 25, 2017

केबल उनको गल्ती थियो !!


उसकै चिन्ताले गर्दाHypertensionभयो।
StrokeसंगसंगैHeart Failureगराउन,
Stress,रक्सी अनि चर्को नुनको गल्ती थियो।।

चुरोटलेCOPDत पहिल्यै गराइसकेको थियो।
Respi.FailureरPolycythemaगराउन,
Kidneyपुग्ने Hypoxicखुनको गल्ती थियो।।

Trismusभएर मुख नै राम्रोसँग खोलिएन।
OralUlcerरSubMucusFibrosisहुन,
पानमा हुने Tobaccoर चुनको गल्ती थियो।।

झगडा पर्दाCorneaको वरिपरि चोट लाग्यो।
रातिमा नदेख्नेNight Blindnessगराउन,
अस्थाएको घाम र मधुरो जुनको गल्ती थियो।।

कानमा समस्या देखिएर सुन्न पनि छाड्यो।
पहिलेTinnitus,पछिDeafnessगराउन,
सधैको किचकिच र चर्को धुनको गल्ती थियो।

को कस्तो भनी मान्छे चिन्न असफल भयो उ।
मान्छे नचिन्ने खालको मानसिक रोग गराउन,
बैगुनिलाई लगाउन पुगेको गुनको गल्ती थियो।

आर्थिक कमजोरी अझ त्यो माथी पनि बिरामी।
रोग बल्झिन साथसाथै जिबनस्तर नाजुक हुन,
घरजग्गा,भौतिक सम्पत्ति र सुनको गल्ती थियो।।

गरिब त्यसमाथि पनि बिरामी भनेर छाडेर गइ।
छाडेर जानुमा यी त देखाउने बहाना मात्र हुन,
यस्तो बिरामी गराउन केबल उनको गल्ती थियो।।

Monday, January 2, 2017

घाइते रुख !!


पोहोर काटिएको घाउ बिस्तारै पुरिदै थियो
हांगा फैलाएर लटरम्म रुख भरिदै थियो
मेरो हरियालीको तारिफ पनि गरिदै थियो
हुर्किदै थिए म,झ्यामिदै थिए,फैलदै थिए ।

तर आज अचानक आरोप लाग्यो मलाई
मैले मानिसहरुको घाम छेके अरे
हल्लिएर हावा चलाए अरे मैले
जाडो भयो अरे यहाँ मेरै कारणले

यो त मेरालागि केही नया थिएन
पहिला मैले नै घाम छेकेको थिए
तर त्यतिबेला,सितल बनाएको थिए
पहिला पनि हावा चलाउथे
गर्मीको रवैया लाई मथ्थर पारिदिन्थे

तर किन अस्तिको देवता आज दानव बन्न पुगे
सितल दिदा दिदा आज जाडो बनाए
मानिसको इच्छा बिपरित काम गरे
ठूलो अपराध गरेझैं सजाय सुनाइयो
काटियो मलाई
हागा बिगा सबै झारियो
लुटियो मेरो अस्तित्व
खोसियो मेरो फैलने अधिकार
धरापमा पारियो मेरो बाच्ने अधिकार
तर टुप्पोमा अलिकति बाकी राखिएको छ
तड्पाई तड्पाई मार्न खोजिएको छ
यी मानिस चाहदैनन् कि म मरिहालु
किनकि यिनिहरु लाई थाह छ,
गर्मीमा म अत्यन्त जरुरी हुनेछु
भगवान सरह रहनेछु मानिसका लागि,
कम्तिमा घाम छेकेर सितलता दिने काममा
पात हल्लाएर सितल हावा दिने काममा


अहिले नकाटे पनि केही महिनामा आफै झर्ने थिए
तर निकै आतुर थिए मानिस
मलाई काटेर जाडोमा घाम ताप्न
चिसो हावा रोकेर आफ्नो स्वार्थ पुरा गर्न

तर घाइते बनाएर छाडिएको छ मलाई
टुप्पोमा अलिकति पात बाहेक सबै काटिएको छ
आज बुझे मानिस कति स्वार्थी हुदो रहेछ,
कमसेकम आफुलाई फाइदा हुने काममा ।।

Friday, January 23, 2015

त्येही भएर त हामी जनता, उनिहरु नेता ।।

जमात यता पनि थियो, भिड उता पनि ।
तर यता नेपालको झणडा उठ्यो ।
उता भने कुर्सी , टेबल र माएक उठे ।
त्येही भएर त हामी जनता, उनिहरु नेता ।।

नारा यता पनि लागिराथ्यो, हल्ला उता पनि ।
तर यता संविधान देउ को लयमा घन्किराथ्यो ।
उता संविधान नबनाउने भनेर चय्ठ्ठिरथ्यो ।
त्येही भएर त हामी जनता, उनिहरु नेता ।।

शहनै नसक्ने त यता पाए , केहि उता पनि ।
तर यता पाउनु सम्म दुःख र धोका पाए ।
उता भने युवराज ले नपाउने सुख पाए ।
त्येही भएर त हामी जनता, उनिहरु नेता ।।

केहि त यता पनि भरियो, केही उता पनि ।
तर यता अँखा भरी आसु भरियो ।
उता भने, सुकेको ज्यानमा पनि मासु भरियो ।
त्येही भएर त हामी जनता, उनिहरु नेता ।।

भुडी यता पनि फुटे , पेट उता पनि ।
तर यता बम, बारुद पड्केर फुटे ।
उता buffet, dinner नअटेर फुटे ।
त्येही भएर त हामी जनता, उनिहरु नेता ।।

Thursday, May 29, 2014

अब त uni पो आउन लाग्यो ।।

बसन्त ले पनि बिदा माग्न लाग्यो
हरियाली छायो, रमाइलो समय त कटायो।
आब फेरि august नजिकिदै आयो
लौ न नि , अब त uni पो आउन लाग्यो ।

सुनसान नै हुन थल्यो चिसापानी
बर्खा को झरी पनि सुरु हुन थाल्यो ।
अब फेरि भिजेको माटो को गन्ध आयो
लौ न नि , अब त uni पो आउन लाग्यो ।।

खेल मैदान त सुनसान नै भयो
बाटो गोरेटो पनि रित्तिन थाले ।
अब फेरि library मा भिड देखेदै आयो
लौ न नि , अब त uni पो आउन लाग्यो ।।

हसिला आनुहार अल्लि ओझेलिन थाले
निरासिएका पुस्तक फेरि खोलिने भए ।
अब फेरि सबैका मुखमा पढाईकै गफ आयो
लौ न नि , अब त uni पो आउन लाग्यो ।।