Search This Blog

Thursday, June 29, 2017

अलार्म !!

मेरा लागि अलार्म बिउझाउन कम,
सम्झाउन बढि प्रयोग भएका छन् ।
५मिनेटको छोटो निद्रा देखी,
१८घण्टा सम्मको लामो सुत्ने समय ।
तर, नतोकिएको निदाउने समय ।
निद्रा पनि शरीरको आवश्यकता हैन,
समयको माग अनुसारका हुन्छन् ।

घरमा हुदा प्रायः
बिहानै पुजा गरेर आमाले घण्टी बजाउदै गर्दा,
घामका किरण लजाउदै आइपुग्छन कोठामा,
ढोका नढक्ढकाइ,झ्यालबाट भित्र छिरेर
र चकिलो प्रकाश अनुहार भरि छरेर,
उठ्न बाध्य बनाउछन, अलार्म बनेर ।

होस्टेल हुदा प्रायः
साथिहरु, चिर्‍रर्‍र...गर्ने ढोका बिस्तारै खोलेर,
रुम पार्टनर रिसाउला कि भन्ने जोखिम मोलेर ।
अघिल्लो दिनको उठाउने सल्लाह अनुसार,
तोकिएको समयमै कोठामा आएर हल्ला गरेर,
शरीरलाई झकझकाउदै "उठ्..उठ्" भनेर,
उठ्न बाध्य बनाउछन, अलार्म बनेर ।

कहिले घामको तापले,
त कहिले कामको चापले ।
कहिले पुजाको घण्टीको आवाजले,
त कहिले छिमेकको अन्टिको आवाजले ।
कहिले सुत्दा सुत्दा थाकेर,
त कहिले निद्रा लाई नै धितो राखेर ।
कहिले साथीहरूको हल्लाले,
त कहिले आफ्नै मनको सल्लाहले ।
कहिले चराहरु कराएर,
त कहिले यत्तिकै निद्रा हराएर।
कहिले आमाका छनछन बज्ने चुराले,
त कहिले बुबाको बोलीका तीखो छुराले ।
यिनै कुराले निद्राबाट बिउझाउने काम गर्छन्,
बिस्तारा बाट उठाउने काम गर्छन्,
मेरो जिबनमा अलार्मको काम गर्छन् ।

र सबैभन्दा धेरै चोटि जिम्मेवारीले बिउझाउछ,
समयको माग अनुसारको बाध्यताले उठाउछ,
बिना कुनै आवाज,मौन तरिकाले।
भौतिक रुपको कुनै अलार्म बिना,
आफुले खाएका कसम नै अलार्म बनेर,
आफुले राखेको लक्ष्य नै अलार्म बनेर,
आफुले देखेका सपना नै अलार्म बनेर,
आफ्नो मनका इच्छा नै अलार्म बनेर,
आफ्नो कर्तव्य नै अलार्म बनेर,
आफ्नो पेशा नै अलार्म बनेर ,
आफ्नो दैनिकी नै अलार्म बनेर !!