Search This Blog

Monday, September 16, 2019

यात्रा अनुभव : मार्दी पदयात्रा

माघ महिनाको अन्तिम साता, सामाजिक संजालका भित्ताहरुमा, नगरकोटमा हिउँ पर्‍यो, फुलचोकिमा हिउँ खेल्न जानेको भिड, पोखराका माथिल्लो भाग हिउँले सेताम्य भन्ने जस्ता समाचार आएका केहि घण्टामा आफ्नो फेसबुकको भित्ता पनि सेताम्य भयो । प्रायः सबै जसो साथीहरू पातलो भएपनि हिउँ छोएर क्याप्सन राखेका थिए "स्नो एक्सप्रीएन्स" । त्यो देख्ने बित्तिकै संगै रहेका दाइलाई प्रश्न गरे, "दाइ! अहिलेसम्म हिउँ देख्नुभएको छ?" उत्तर सजिलै दिनुभएको थियो, "यी! तिमिले देखेको छैनौं भने हेर।" भन्दै आफ्नो फेसबुकमा उहाको साथिले हालेका फोटो देखाउनु भयो । मैले हास्दै भने, "त्यो हिउँ त मैले नि देखेको छु । आइ मीन, हजुरले प्रत्यक्ष हिउँ छुनुभएको छ?" मैले निचोडमा पुग्ने गरेर सोधे । "त्यो त छैन ।"  हिउँको बारेमा भएको गफमा एउटा रमाइलो ख्यालठट्टा भयो र दुबैले हिउँ नछोएको प्रतिक्रिया आएपछि एकछिन मौनता छायो । केहि क्षणको मौनता पछि मैले मौनता चिर्ने प्रयास गरे । "दाइ! हिउँ खेल्न मन छ? कि आट्ने हो ?" दाइ अझै ठट्टा गर्ने मुडमै हुनुहुन्थ्यो । भन्नुभयो, "जाउ त हेर! फ्रीजमा आइस जमेको होला, निकाल, त्यही खेलौं ।" मैले दाइलाई अलि गम्भीर बनाउने कोशिश गरे, "यो लगातारको ड्युटीबाट अलि छुटकारा पनि मिल्छ, अलिक फ्रेस पनि भइन्छ, २/४दिनको लागि कतै घुम्न जाउं न ।" दोधार अनुहारमा जान पाए त हुन्थ्यो भन्ने आशय प्रष्ट देखिन्थ्यो अनि भन्नुभयो, "मिल्यो भने जाउला" । मैले कर गरेर भने,"मिल्यो भने जाउला हैन, मिलाएर जाउलां" । दाइ बहाना बुन्न तिर लाग्नु भयो, "अनि यता ड्युटी पनि त मिल्न पर्‍यो ।" मैले आश्वासन दिन खोजे, "ड्युटी त मिलाए, मिल्छ ।" "अनि कस्ले गर्छ त हाम्रो ड्युटी?" प्रश्नवाचक चिन्नमा आफ्नो जिज्ञासा राख्नुभयो । मैले सम्झाउन खोज्दै एउटा अंग्रेजी वाक्यांस  भने, "हाउ मच पर्फेक्ट यु आर, यु क्यान अल्वयज बि रेप्लेस्ड" । तपाईं जति नै उत्कृष्ट भएपनि तपाइको एक न एक विकल्प हुन्छ भन्दा, निशब्द हुनुभयो र एकचोटि हस्नुभयो, अनि जबर्जस्ति "ल के ल" भनेर मेरा कार्यक्रम योजनामा राजी हुनुभयो ।


कहा जाने ? को को जाने ? कसरी जाने ? कहिले जाने ? सबै कुराको मिलाउन पर्ने भयो । कहा जाने भन्दा, एउटा सतही अध्यन पछि गन्तव्य फेला पर्‍यो, मर्दी पदयात्रा । को को जाने भन्दा, आफ्नो निकट, सम्पर्कमा भएका साथीहरूलाईको यात्रा प्रति मनसाय बुझ्न्, घुमाउरो तरिकाले प्रस्ताव राख्यौं, र जान इच्छुक लाई समेटेर एउटा निकै घनिष्ठ टोलि बनायौं, तीन जनाको । कसरी जाने त, सल्लाह गर्नु नै थियो । कहिले जाने त, छिट्टै । हुन पनि हो, यात्रा गर्दा धेरै जना भइयो भने, धेरै जनाका धेरै थरी बिचार आउछन्, धेरै थरी प्रस्ताव आउछन्, धेरै थरी मनसाय प्रकट हुन्छन् अनि कुरा मिल्दैन र यात्रा खल्लो हुन्छ । त्यही भएर अन्त हल्ला नगरी तीन जना मात्र सल्लाह गरेर कार्यक्रमको खाका तयार पार्‍यौं । सबैकुरा मिलाएर जान भन्दा अगाडि, आफुसंग निकट, त्यही हस्पिटलमा काम गर्ने सिनियर डाक्टरलाई जानकारी गरायौं, "सर! हामी भोलि मर्दी पदयात्राको लागी जान लागेको नि।" सरले उत्सुकता देखाउदै भन्नुभयो, "वाउ! ग्रेट, एकदमै रामाइलो हुन्छ त्यो पदयात्रा, तर! अहिले भन्दा बरु अलि पछि गुराँस फुल्ने सिजनमा जाउ, बेस्ट टाइमिङ हुन्छ" । उत्साहित भएर, कार्यक्रम बनाइसकेको मैले भने, "गुराँस हेर्न बरु फ़ेरि गुराँस फुल्ने सिजनमा जाउला नि, अहिले त हिउँ खेल्ने हो ।" जसै जाने ढिपी कसेपछी उहाले सतर्क हुन सुझाव दिनुभयो, "हिउँ चिप्लो हुन्छ, ख्याल गरेर हिड्नु है । ह्याभ अ नाइस ट्रीप ।" मुस्कान सहितको यात्राको शुभकामनामा मैले पनि अलिकति मुस्कान छरेर भने, "हस् सर! थान्क यु सो मच ।"


यसरी घुम्न जान इच्छा राख्ने धेरै हुन्छन्, तर यात्रा कम ले नै गर्छन् । किनकि सोचेको जस्तो, समय, खर्च, साथिभाई, आवश्यक तयारीको तालमेल नमिलेको हुन सक्छ । जसमध्ये एउटा बाधाको रुपमा मानिने भनेको, यात्राको तयारीको लागी चाहिने ट्रेकिङ सेट । लामो या धेरै पदयात्रा गर्नेको लागि नयाँ सेट किन्नु उचित अनि दीगो हुन्छ । तर छोटो पदयात्राको लागी मात्र नया ट्रेकिङ सेट किनेर यात्रा गर्नु निकै खर्चिलो अनि अशोभनीय देखिन्छ । प्रायः धेरैजसोको इच्छा कुण्ठित पार्न यो पनि एउटा प्रमुख कारक हो । तर हरेक समस्याको समाधान हुन्छ भनेझैं, इच्छा भएर यस्तो समस्याले यात्रा गर्न नआट्ने हरुको लागी निकै सहज बनाएका छन् पर्यटक ब्यबसायीहरुले । आफुलाई यात्राको चाहिने सम्पुर्ण सामाग्री जस्तैः ट्रेकिङ ट्राउजर, ट्रेकिङ ज्याकेट, ट्रेकिङ ब्याग, गग्स, स्टिक, साथै अन्य आवश्यक सामाग्रीहरु निकै कम मुल्यमा केही दिनको लागी भाडामा लिएर साथमा लिएर जान सक्ने व्यवस्था गरिदिएका रहेछन् ।  त्यसरिनै आफुसंग भएका सामाग्रीमा अपुग भएका आवश्यक सामान भाडामा लिइयो र खाद्यान्न तथा प्राथमिक उपचारको सामाग्री तयार पारेर कार्यक्रम तय भयो । हो! अक्सर गफ हरु ख्यालठट्टामा हुन्छन्, अनि गफै गफमा ख्यालठट्टाहरु योजना बन्छन्, र योजनाहरुलाई गम्भीर रुपमा लियो भने ती योजना कार्यक्रम बन्छन् । हाम्रो लागी पनि हिउँको बारेमा गरिएको ख्यालठट्टामा निस्केको गफ, योजना बन्यो र त्यो योजनालाई गम्भीर रुपमा लिएर एउटा कार्यक्रम तय भयो जसको गन्तव्य बन्यो, मर्दी पदयात्रा, अनि उदेश्य बन्यो हिउँ खेल्ने ।


सर्वप्रथम त यात्रा सुरु गर्नु अगाडि मर्दी पदयात्राको बारेमा संक्षिप्त जानकारी गराऔं । मर्दी पदयात्रा, पोखरा बाट उत्तर तर्फ, मर्दी हिमालको आधार शिविरसम्म जानको लागि गरिन्छ । जसको लागी पोखराबाट ३/४ दिनको समय छुट्टाउनु पर्छ । यो पदयात्रा निकै छोटो समयमा, निकै फलदायी तरिकाले गर्न सकिने भएकाले, उत्कृष्ट मध्यको एक हो । त्यो गन्तव्यसम्म पुग्नको लागी दुइवटा पदमार्ग छन् । पहिलो मार्गमा धम्पुस हुँदै जाने पदमार्ग छ, जसमा पोखरा देखी धम्पुस सम्म सवारीसाधनमा जान सकिन्छ, जसका लागि १घन्टा ३०मिनेट जति लाग्छ र त्यसपछि उक्त ठाउबाट पदयात्रा सुरु हुन्छ । जस अन्तरगत, धम्पुस देखी पोथना (१९५०मि) लगभग १घन्टा उकालो चड्नु पर्ने हुन्छ । त्यसपछि पोथना देखि पृतम देउराली (२१००मि) जान अर्को १ घन्टा उकालो चड्नु पर्छ । पृतम देउराली बाट दोनखर्क (२४२५मि) जान करिब ३ घन्टा जस्तो अलिअलि उकालो अनि अलिअलि समथर भागको यात्रा गर्नुपर्छ । दोनखर्क देखि फरेस्ट क्याम्प (२४२०मि) जान करिब २घन्टा समथर भागको यात्रा गर्नुपर्ने हुन्छ । फरेस्ट क्याम्प देखी लो क्याम्प (२९९५मि) सम्म पुग्न लगभग २घण्टा उकालो चढ्नु पर्छ । दोस्रो पदमार्ग अन्तर्गत सिदिङ हुँदै जाने बाटो छ । दुबै पदमार्ग लो- क्याम्पमा गएर जोडिन्छन र त्यहाबाट एउटै बाटो हुँदै माथी जान सकिन्छ । सिदिङको बाटो भएर जादा, पोखरा बाट ३घन्टाको सवारीमा सिदिङ (१७००मि) भन्ने गाउँ पुग्न सकिन्छ । जसबाट लगभग ६ घन्टाको ठाडो उकालो चढेपछी लो क्याम्प (२९९५मि) पुगिन्छ । लो क्याम्प बाट बादले डाडा हुदै उकालो चढेपछी लगभग ३घन्टाको पैदल यात्रा पछि हाइ क्याम्प (३५५०मि) पुगिन्छ । धेरैको लागी यहीसम्म नै गन्तव्य हुन्छ । तर समय र मौसमले साथ दिए त्यहाबाट ३ घन्टामा अप्पर भ्यु पोइन्ट (४४५० मि) पुगिन्छ ।  अझै त्यहाबाट ३ घन्टाको दुरिमा मर्दी हिमाल आधार शिविर (४५००मि) पुग्न सकिन्छ । हिउँ परेको बेलामा र मौसम नखुलेको बेलामा हाइ क्याम्प सम्म सजिलै जान सकिन्छ तर त्योभन्दा  माथि जान मौसम राम्रो हुनुपर्छ । पदमार्गको बारेमा संक्षिप्त जानकारी लिएर, यात्राको तयारी पूरा गरेपछि यात्रा सुरु गर्‍यौं ।



हाम्रो यात्रा अझ उत्साहित अनि रोमाञ्चक बनाउन, सबै साथीहरूले यात्रा अवधी भर पालना गर्नुपर्ने केहि सर्तहरुको प्रस्ताव राख्यौं । सर्त नं एक, सकेसम्म कसैको फोन सम्पर्कमा नआउने । अनावश्यक ब्यक्तिसंगको सम्पर्क बन्द गर्ने । अनि अतिआवस्यक परेको खण्डमा मात्र सम्पर्क गर्ने त्यो पनि न्युन मात्रामा । सर्त नं दुई, आफ्नो वास्तविक परिचय लुकाएर, केबल एक यात्रीको रुपमा मात्र आफुलाई चिनाउने । हुन पनि हो, पदयात्रामा जादा त्यसै त आफुले बोकेको झोला यत्तिकै गरुँगो हुन्छ । अझ त्यही माथि पनि आफ्नो परिचय बोक्यो भने त्यो झन् भारी हुन्छ । अनि, त्यहीँ परिचयले मर्यादा भित्र राख्न खोज्थ्यो, खुलेर रम्न दिन्थेन । त्यसैले आफ्नो नाम, काम र ठाउँ आवश्यक परेको खण्डमा मात्र भन्ने / देखाउने निर्णय गर्यौ । र अन्त्यमा, सर्त नं तीन, दैनिकी बिर्सिएर, यथार्थमा रहेको वास्तविक परिवेशमा रम्ने ।



अघिल्लो दिनको रात्री ड्युटी सकेर यात्रा सुरु गर्न बिहान सक्किएर दिउसो भैसकेको थियो । समय धेरै खेर गैसकेकोले गर्दा, त्यो पुर्ती गर्न धम्पुस सम्म ट्याक्सी लिएर जाने निर्णय गर्‍यौ । सोधपुछ र मोलमोलाइ पछी, चित्तबुझ्दो ट्याक्सी लिएर यात्रा थालनी गर्‍यौं । पदयात्रामा निस्केका हामी, ट्याक्सीको यात्रामा सर्तहरू लागु नहुने कुरामा सम्झौता गर्‍यौ । आफ्नो ड्युटीमा आएका केसका बारेमा छलफल गर्ने र  घटेका घटनाका बारेमा गुनासो पोख्ने त्यही एउटा सर्कल थियो । त्यसै क्रममा दाइले कुरा निकाल्नु भयो, अस्ति तिमिले भर्ना गरेको एउटा बिरामी राती एक्सपाइर भयो नि । ए हो ? कुन केस ? त्यही के निमोनिया भएको वाला । साच्चै भन्नुपर्दा हामिले जुनसुकै बिरामी पनि नामले कम नै मात्रामा चिन्छौ, प्राय जसो बिरामीको परिचय भनेको उसलाई लागेको रोग या उ बसेको बेडले याद गर्छौ । यो केसमा पनि बिरामीको रोग भन्ने बित्तिकै उसको परिचय मेरो दिमागमा आइहाल्यो, अस्ति भर्ना गरेको निमोनिया, इमर्जेन्सीको यो बेडमा बसेको । अनि हामी एक-आपसमा सान्त्वना दिन्छौं, म भन्छु; पुरानो रोग पनि त्यति धेरै थिए , रगत पनि त्यस्तो खराब थियो, एक्स-रेमा छाती त पुरै सेतै थियो, सुधार हुन त गर्‍है थियो के । दाइ थप्नुहुन्छ, औसधि पनि त्यत्ति राम्रो हालेका थियौं, तैपनि बचाउन सकिएन । यस्तै यस्तै आफ्नो ड्युटीमा भएका जटिल तथा असफल उपचार हरु अनि घटेका मृत्युका शृङ्खलाका बारेमा छलफल हुँदै थियो । म भन्थे, त्यो मस्तिस्कघात त इमर्जेन्सीमै गयो नि । दाइ भन्नुहुन्थ्यो, त्यो हृदयघात पनि आईसियु बाट गयो । यो केस अलि चाढो आएको भए केही गर्न सकिन्थ्यो कि? यो केस रिफर गर्न खोज्दा लएको भए संभावना थियो कि? यस्तै यस्तै कुराको छलफल चलिरहेको बेला, हामी चढेको ट्याक्सी ड्राइभर हामिलाई यसरि हेरेको थियो कि, हामी त्यहा चित्रगुप्त संग सहकार्य गर्दै मृत्युको घोषणा गर्न बसेका हौं । औंलामा अट्ने असफल पाटो पछि अब सुरु भयो, क्याल्कुलेटरमा नअट्ने सफल उपचारका पाटो हरु । त्यस्तैमा कुरा निस्कियो, अस्ति यस्तो बिरामी कस्तो राम्रो भएर घर गयो, अर्को बिरामीको कस्तो जटिल रोग सजिलै पत्ता लगाइयो, अर्को बिरामिले झुठो बोल्दा पनि पत्ता लगाएर रोगको निदानमा पुगियो, शंका लागेर त्यो जाँच पठाएको पोजेटिभ आइदियो, आदि इत्यादि । यस्तै यस्तै सफल उपचारका पाटोको छलफल हुदा बल्ल त्यो ड्राइभर दाइले, यिनिहरु डाक्टर रहेछन् भन्ने अड्कल काट्नु भयो होला । त्यस्तै गफगाफ चल्दा चल्दै धम्पुस पुगिसकेको रहेछौं । अनि ट्याक्सीलाई बिदा गरेर उकालो लाग्दै सुरु भयो हाम्रो पदयात्रा ।

यात्राको जतिनै पुर्व तयारी गरेको छौं भनेर ढुक्क भएपनि केही न केहि भने अवश्य छुटेको हुने रैछ, त्यस्तै समस्या भोग्नु पर्‍यो जब उकालो लाग्दै गर्दा, पानीको प्यास लाग्न थाल्यो । हो ! हामीले पानी लैजान भुलेको रहेछौं । केही मिनेट यात्रा गरेर थोरै माथि गएपछि एउटा सानो पसल रहेछ । त्यहाबाट पानी किन्यौं र सबैले आ-आफ्नो झोलाको साइडमा पानी राखेर बाटो ततायौं । अलि माथी पुगेपछि फेरि केहि कुराको कमि महसुस भयो । उकालोमा हिड्दै जादा, खुट्टाले घरीघरी मेसो पाउथेन । त्यसलाई सुधार गर्नको लागी टेक्ने लठ्ठीको जरुरी पर्थ्यो । जंगलको बाटो त हो नि, लठ्ठी त एउटा कुनै रुखको हांगो भाचौला भन्ने सोच आयो, तर मनले दिएन संरक्षण गरेका रुखका हागा जथाभावी भाच्न । साच्चै! त्यही रुखहरु मात्र हेर्न भनेर कति पर्यटक नेपाल आउछन् नि है ? बाटो हिड्दा टेक्ने लठ्ठीको समाधान पनि भेटियो, अलि माथिको पोथना बस्ती पुगेपछि । त्यहा भएका पसलहरुमा व्यावसायिक रुपले यात्रा प्रयोजनका लागी भनेर बनाइएका लठ्ठी उपलब्ध रहेछन् । तोकिएको मुल्यमा खरिद गर्‍यौ । त्यही खरिद गर्ने बेलामा छोटो भलाकुसारी भयो । आज कहाँ सम्म पुगिन्छ? बाटो कस्तो छ? कति मान्छे हिडेका छन् उक्त गन्तव्यमा पुग्नको लागी ? आदि इत्यादि प्रश्न सोध्दै गर्दा, हिउँको प्रसंग पनि अछुतो बस्न सकेन । सोधिहाल्यौ; हिउँ कहाँसम्म परेको छ ? उक्त प्रश्नले उहालाई पनि उर्जा मिलेछ । अनि उत्साहित हुँदै भन्नुभयो; "अस्ति साझ यहाँ पनि परेको थियो । हिजो दिउँसोसम्म पनि सेताम्म देखिन्थ्यो । आज त सबै पग्लिसक्यो" भन्दै आफ्नो फोनमा हिउँ पर्ने बेला कैद गरेका त्यही ठाउको फोटो देखाएर दौडदै एउटा कुनाको सेपिलो ठाउमा गएर एउटा सानो बरफको टुक्रा ल्याएर हामिलाई दिनुभयो । हामी तिनैजना हर्षित भयौं । अनि पालैपालो उक्त टुक्रा हातले खेलाउन थाल्यौं । जिन्दगीको एउटा रहर पुरा भयो, हिउँ छुने । मैले ठट्टा गर्दै भने, दाइ ! हाम्रो यात्राको लक्ष पूरा भयो क्यारे, कि फर्किने हो ? दाइले प्रतिउत्तर दिनुभयो, "कहाँ हिउँ छोएर मात्र हुन्छ ? गन्तव्यमै पुग्ने हो, हिउँ खेल्ने हो ।" अनि मैले हुन्छको इसारामा टाउको हल्लाएर फेरि हिड्न थाल्यौं ।

बाल्यकालको प्रभाव जिबनका हरेक पाइलामा पर्छन् भनेझैं त्यहाँ पनि त्यस्तै अनुभव बटुल्न पर्‍यो । यात्राका सहयात्री हामी तीन जना विभिन्न परिवेशबाट आएका थियौं । म कास्कीमै जन्मेको यहीँ हुर्केको, डा सिजनको पृष्ठभुमि धादिङ, अनि डा भावुकको बाल्यकाल बुटवल । सायदै बाल्यकालमा धादिङको उकालो ओरालो धेरै गरेका कारण डा सिजन हिड्ने बेलामा सबैभन्दा चाडो हिड्ने अनि सधै अगाडि मात्र हुने । अनि म यहीँ पोखराको वरिपरि हुर्केको हुनाले, मेरो हिडाइको स्तर मध्यम किसिमको थियो । त्यसैले म पंक्तिमा धेरैजसो बिचमा पर्थे । अनि जतिबेलै पंक्तिको अन्त्यमा हिड्ने डा भाबुक, जसको बाल्यकाल बुटवलको समथल स्थलमा बितेको थियो । उकालोमा हिडाइको गति फरक भएतापनी समथर स्थलमा भने हाम्रो गति समान हुने गर्थ्यो । उकालो चढ्ने बेलामा डा भाबुकको असहमति त्यतिबेला हुन्थ्यो जब म र डा सिजन केहि अगाडि कुनै स्थलमा पुगेर एकैछिन आराम गर्थ्यौं र डा भाबुक त्यहा आउने बित्तिकै हामी हिड्न सुरु गर्थ्यौं । अनि थकाइले भरिएको आक्रोश अनुहार लिएर गाली गर्नु हुन्थ्यो, "एकछिन पर्खिओं न,अनि मलाई पनि आराम गर्न देओं" । थकान मेटिसकेका हामी कुनै बेला वास्ता नै नगरी हिड्थ्यै तर कुनैबेला सान्त्वना दिन भएपनि एकछिन कुरेको जस्तो गरेर अत्याउदै हिड्न कर लगाउथ्यौं ।


उकालो चढ्दै जादा जतिजति माथि चढ्दै जान्थ्यौं उतिउती बाक्लो हिउँले ढाकिएको ठाउहरु देखिन्थ्यो । हिउँको टुत्रा, हिउँको थुप्रो , हिउँको बिस्कुन हुँदै लटरम्म हिउँले ढाकिएको पहाड देखिदै गयो । माथिमाथी जादा हिउँको मात्रा बढेसंगै, हिउँ हेर्ने रहर पूरा भएर, हिउँ छुने रहर पूरा हुदै, हिउँ खेल्ने रहर बिस्तारै पुरा हुदै थियो । हातमा हिउँ खेलाउदै, हिउँका डल्लो बनाउदै एकाअर्कालाई हिउँले हिर्काउदै, विभिन्न पोज दिएर हिउँमा फोटो खिचाउदै, हिउँका विभिन्न आकृति बनाउदै र तिनीहरु संग फोटो खिचाउदै हामी त्यही बाताबरणमा एकचित्त भएर रमाएका थियौं । त्यस्तै क्रममा हिउँ खेल्ने रहर पूरा हुदै थियो । साच्चै ! हिउँ भनेको त क्षणिक रहर मात्र रहेछ । नदेख्नेलाई के के न हो झै लाग्ने, तर एकैछिन हिउँको अनुभव लिएपछि, त्यही हिउँ कतिबेला सकिएला / पग्लिएला झै हुने । अझ दैनिकी नै त्यही बिताउनेलाई त हिमपात भनेको त क्षणिक रहर भएपनि बास्तबिकतामा त्यो प्रकोप जस्तै रहेछ ।




यात्राको लागी बाटो नभुलियोस भनेर हरेक ठाउमा सेतो र निलो रंङले बनाएका चिन्नहरु थिए, आफू हिडेको बाटोमा उक्त चिन्न देखेपछि आफू सहि बाटोमा छु भन्ने भान दिलाउथ्यो । बाटोमा देखिएका सांकेतिक चिन्नहरु पछ्याउँदै जादा हरेक २-४ घन्टाको यात्रापछि विश्राम गर्ने ठाउहरु आउथे । चिसो हावा र हिउँले चिस्सिएको ज्यानमा उक्त ठाउहरुमा एकैछिन रोकिएर विश्राम गर्दै तातो चियाको चुस्कि लिएपछि, शरीर न्यानो भएर अझै जोसले हिड्न उर्जा दिन्थ्यो । त्यही तातो चियाको आशले भएपछि, शरीरमा छुट्टै उर्जा निकालेर एक पछि अर्को गन्तव्य छिटोभन्दा छिटो पार गर्न प्रेरणा मिल्थ्यो । त्यसरी नै हिड्दा हिड्दै थाकेर अनि थाक्दा थाक्दै हिडेर, कहिले माटोमा, कहिले ढुङ्गामा त कहिले हिउँमा लड्दै र पढ्दै घडीको सुइलाई प्रेरणाको स्रोत मानेर गन्तब्य तर्फ लम्किदै गएका थियौ ।


हिउँमा चिप्लिएर कयौंपटक लड्दा चिसो भएको ज्यानबाट थकान मिश्रित लामो सुस्केरा हाल्दा, सेताम्य ठाउमा केहि घरहरू देखिन्थे अनि संगै झुन्डिएको सानो बोर्डमा लेखेको देखिन्थ्यो, "लो क्याम्प" त्यही नै थियो त्यो दिनको लागी हाम्रो गन्तव्य । त्यहा पुग्दा त्यहाको घाम अस्ताइसकेको थियो, तर माछापुच्छ्रे हिमालको टुप्पोमा घाम अझै डुब्न बाकी थियो । डुब्न लागेको घामले गरेर हिउँले भरिपुर्ण सेतो माछापुच्छ्रेमा सुनौलो रंगले पोतिएको जस्तो देखिन्थ्यो, ठ्याक्कै "गोल्डेन फिस"को पुच्छर जस्तै । त्यो दृश्य यति मनमोहक थियो नि, दिनभरिको थकाइ बिर्सिएर हामी आफ्नो झोला पनि नबिसाइ उक्त दृश्य आफ्नो आफ्नो अँखामा कैद गरेपछि क्यामरामा कैद गर्न ब्यस्त थियौ । भौगोलिक कठिनाइ र बिकटता निकै भएपनि, त्यहाको आतिथ्य सत्कार बर्णन गरेर नपुग्ने थियो । त्यहाँ सामान ढुवानी गर्नु परेमा बोकेर लैजादा हिडेर जादा ठ्याक्कै एक दिन लाग्ने, नत्र अरु माध्यम भनेको हेलिकप्टरबाट मार्फत सामान ढुवानी गर्न सकिने त्यस्तो कठिन ठाउमा निकै सर्वसुलभ मुल्य दर थियो, जसमा कुनै गुनासो नै थिएन । हुनपनी हो, त्यहाका पर्यटन ब्यबसायीको उदेश्य भनेको रातारात पैसा कमाउन भन्दा पनि ग्राहक कमाउन केन्द्रित थियो , जसले गर्दा आगामी दिनमा फेरि गएं, वा अन्य साथिले राय मागे भने, म त्यही होटेल सुझाव दिने खालको पारिवारिक बाताबरण । समान उदेश्य बोकेका एकै किसिमका होटेल मध्य हामी बसेको चाहिँ होटेल लालिगुरास थियो ।


चिसो हिउँका बीच न्यानो सत्कारमा रात बिताएपछि बिहानी घाममा किरण संगै उज्यालो भयो र अर्को दिनको सुरुवात भयो । बिहानको नास्ता खाएर शरीर तताएपछी अझै माथिको गन्तव्य तर्फ लाग्यौं । त्यहा यात्रा गर्दा, त्यहिका स्थानीय मानिसले भने अनुसार नै यात्रा गर्नु पर्ने रहेछ । उनीहरुको सल्लाह के थियो भने, एकदुई दिन अगाडि बाक्लो हिउँ परेका कारण हिड्ने बाटो सबै हिउँले पुरिएको छ, उक्त बाटोमा सर्वप्रथम एउटा अनुभवी मान्छेले गोरेटो जस्तो बनाउनु पर्छ, अनि बल्ल नया यात्रीहरु त्यही पैदल छापको गोरेटो पछ्याउँदै हिड्न सकिन्छ, त्यसले बाटो बनेको ठाउसम्म जानुहोला, त्योभन्दा माथी बल नगर्नु भन्ने सुझाव थियो । उनीहरुले भनेको कुरामा हुन्छ भन्दै टाउको हल्लाएर, जोसिलो उमेरको तातो रगतको घमण्ड गर्दै, हामी अन्तिम गन्तव्य सम्म पुग्ने अठोट राख्यौं । तर, केहि समयको यात्रा पछी बादले डाडां पुग्यौं । त्यो ठाउ माछापुच्छ्रेको काखैमा पर्ने भएकाले र माछापुच्छ्रे लगायत अन्य हिमालको दृश्य सबैभन्दा राम्रो देखिने भएकाले पदयात्राको सबैभन्दा रमणीय ठाउ त्यही रहेछ । डाडोको शिखरमा पुगेर हेर्दा आफू सबैभन्दा उच्च ठाउमा आइपुगे भन्ने भान हुन्थ्यो र आफू भन्दा माथि त्यही एकदुई ठुला हिमालका टाकुरा छन् भन्दा पनि फरक पर्थेन । लामो समयसम्म त्यहाको दृश्य अवलोकन गर्दै आनन्द लिएपछि, अझै माथिसम्म जान अठोट गर्‍यौ, तर केहि समयको यात्रापछी मनमा डर पलाउन थाल्यो । अनुभवी र अग्रजहरुले बाटो छिचोलिएको रैछ भनेमात्र जानु भनेकोमा त्यहा बाटो छिचोलिएको भएपनि, पैदल डाम मुस्किलले देख्न सकिन्थ्यो, त्यसैले त्यो भन्दा अगाडि यात्रा नबढाई फर्किने निधो गर्‍यौ । अन्तिम गन्तव्यसम्म पुग्न नसकेकोमा मन खिन्न भएपनि, यात्रा उत्कृष्ट भएकोमा र जोखिम नलिइ परिपक्व निर्णय लिन सकेकोमा हामी उत्तिकै खुशी थियौ ।



फर्कने क्रममा फेरि बादले डाडांमा एकछिन अड्डिएर, माछापुच्छ्रेको दृश्य धित मरुन्जेल हेरेर, हामी लो क्याम्प सम्म आयौं र एकछिन आराम गरेपछि सिदिङको ठाडो ओरालो बाटो हुँदै फर्किने निर्णय गर्‍यौं । हेर्दा ओरालो बाटो सजिलो देखिएपनी, थाकेर गलेका खुट्टालाई शरीर धान्दै पाइला पछ्याउन मुस्किल पर्थ्यो । तर उकालो चढ्ने बेला जतिको कठिनाइ नभएका कारण छिटै समयमा सिदिङ झर्‍यौं । तर हामी छिटो भएपनि, जिप ब्यबसायिका लागी ढिलो भैसकेको थियौं । मतलब, त्यहाबाट छुट्ने सबै जिप छुटिसकेका थिए । कुरा बुझ्दा, रिजर्भमा जान अन्य जिप मगाउन सकिने आशय आएपनी, पोखरा फर्किन ढिलो हुन्थ्यो, त्यसैले अन्योलमा पर्न भन्दा थाकेको ज्यान त्यही अड्याउने निर्णय गरेर, थाकान मिश्रित त्यो रात त्यही बितायौ । अनि भोलिपल्ट बिहानै त्यहाको जिपको निर्धारित समय अनुसार, रुटको जिपमा फर्कियौ । जिप चढेको २-३ घण्टामा त हामी पोखरा झरिसकेका थियौं ।


यात्रा सकेर आएपछि, शरीर थाक्यो, खुट्टाहरु गले, तर हातहरु थाकेनन्, औलाहरु चलिरहे । उत्कृष्ट यात्रामा बिताएका ती रमाइला पल म शब्दमा कैद गर्न चाहन्थे, त्यसैले उक्त यात्राका बारेमा एउटा लेख लेख्ने सोच बनाए । अनि सबै क्षणहरु एकएक गर्दै शब्दमा उतार्न प्रयास गरे । समयको ब्यस्तताले गर्दा उक्त लेख पूरा गर्न सकिएन, आधा जति लेखेपछी बिचमै रोकियो । हुनपनी हो, त्यहाको हिउँ पग्लिसकेको थियो, जति रमणीय स्थिति मैले बयान गरे, त्यसको केहि दिनमा त्यहाँ त्यतिको सुन्दरता पाउन मुस्किल हुन्थ्यो । अनि परिस्थिति पनि त्यस्तै आयो, बर्खा याम, अत्याधिक पानी पर्ने मौसम, जसमा पदयात्राको बारेमा बयान गर्नु र जोकोहीलाई जान उस्काउनु असान्दर्भिक हुन्थ्यो । त्यसैले होला, मेरो यो लेख अपुरो नै रह्यो । अहिले भदौ महिना सकिएर असोज महिना लाग्न थालेपछि, खुलेका मौसम, रमणीय दृश्य, अनि दशै नजिकिदै गर्दा दैनिकी काममा ब्यस्तता अलि कम हुनेहुदा यो ॠतु पदयात्राको लागी उत्तम समय हुन्छ । अनि पर्यटन भ्रमण बर्ष २०२० पनि नजिकिदै छ । आफुसंग भएको सानो सीप प्रयोग गरेर, आफ्नो सानो कोशिशले एकदुई जना भएपनि आन्तरिक पर्यटन प्रबर्द्धन गर्दै उक्त कार्यक्रम सफल हुन सहयोग गर्छ भने, सचेत नागरिक भएर किन यो लेख पोस्ट नगर्ने भन्दै, उक्त अपुरो लेख पूरा गरेर पोस्ट गर्दै छु । अहिलेको अवस्थामा पदमार्ग मैले बर्णन गरेजस्तै सुन्दर नहोला, तर यति लेखेरै राख्नुस्, उक्त पदयात्रा गरेर जोकोहीलाई पछुतो चाहिँ हुनेछैन ।