Search This Blog

Saturday, May 28, 2016

भाषा फरक हुँदा !!

मेडिकल लाईफको पहिलो दिन, viva मा एउटा प्रश्न सोधिएको थियो, define drug भनेर । physical apperanceमा, सेतो सुकिलो apron भिरेर medico जस्तो देखिएपनी, मानसिक रुपमा medico जस्तो भैसकेको थिइन सायद । त्यसैले त drug लाई define गरे, आफ्नै भाषामा, त्यो पनि, प्रश्न सोध्दा मौन बस्न हुदैन भन्ने सीनियरको सल्लाहको अनुसरण गर्दै, "drug are the illegal chemical substance that devlop dependence and become habitual to person, hence make him/her addict". यो कुनै standard defination थिएन न कुनै कहि पढेको या देखेको defination । थियो त केबल vivaको pressureमा निस्किएको non-medicoको सोचाईमा रहेको आफ्नै भाषाको defination ।

त्यतिबेला त्यो उत्तर निस्किनु स्वोभाबिक थियो सायद । नेपाली समाजमा हुर्केको थिए । drug भन्ने नाम, कहिलेकाही पत्रपत्रिका र टेलिभिजनमा मात्र देखेको र सुनेको थिए, त्यो पनि अबैध drug संगको समाचारको प्रसङ्ग जोडेर । न त त्यतिबेला सम्म मैले KD Tripathi को टेक्स्ट्बुकको पहिलो पाना नै पल्ट्याउन भ्याएको थिए । न WHOको siteमा drug को article पढ्न भ्याएको थिए । न कसैले पढाएको थियो । न कसैले सिकाएको ।

मेरो मुखबाट त्यो उत्तर निस्कन साथ परिवेश हासोमय बनेको थियो र म हासोको पात्र । त्यहा भएका सबै हासेका थिए, म बाहेक । कोहि मेरो त्यो उत्तर सुनेर हासेका थिए त कोहि अरु हासेको देखेर, त्यही हासो संगै आफ्नो हासोको लय मिलाउदै हासेका, कुरा नबुझी । हासो रोक्किए संगै उताबाट बोली फुट्यो, "you made whole medical field illigal." फेरि हास्न थाले, म बाहेक सबै । अरुको गाला तन्किएर बत्तिस ओटा दात देखिने बेला हुदा, मेरा गाला राता, कान ताता, ओठ सुख्खा भैसकेको थियो र बोली मौन । निशब्द ।

हतार हतार गएर किताब पल्टाए, defination रटे, जिन्दगिमै नबिर्सिने गरि । त्यो defination याद गरे संगै, मानसिक रुपमै medico जस्तो बने । त्यही defination बाट सुरु भयो मेरो मेडिकल लाइफको यात्रा । नयाँ नयाँ शब्दहरू सिक्दै, medical term हरु संग खेल्दै, रमाउदै गए । कुनै नया term आउथे, कुनै पुरानै शब्द भएपनि त्यसको अर्थ परिमार्जन गर्नुपर्ने हुन्थ्यो, र गर्थे । किनभने भाषा फरक थियो ।

घडीको सुइ घुमे संगै समय बितिरहदा, म पनि त्यहिको परिवेश संग रम्दै रमाउदै गए । त्यहिको भाषा सिक्दै गए, केहि नयाँ, त केहि पुरानै शव्द, अर्थ फरक लाएर । physically र mentally, medico बन्दै । त्यसले त साधारण रुपमा बोल्दा पनि एक दुई वटा medical term घुस्ने गर्थे sub-consiously नै । त्यस्ता शव्द प्रयोग गर्दा कहिले राम्रै सुनिन्थ्यो त कहिले समस्यामा पार्थ्यो ।

 ब्यक्तिगत कामले कोहि छिमेकीको घरमा जादा, डाक्टरलाई नै क्लिनिकमा देखाए जसरी, आफ्ना समस्या सुनाइयो, सुने । पहिल्यै hospital गएर देखाइसकेको रहेछ ।
"औसधि के कस्तो दिए, ठिक छ कि छैन हेर्देउ त बाबू" भन्दै औसधिको पोको थमाइयो ।
"त्यत्रो ठूलो, धेरै पढेको डाक्टरले दिएको औसधि पक्कै गलत त छैन होला । म सिक्दै गरेको विद्यार्थीले त्यस्तो के नै जानेको हुन्छु र ?" मैले भने ।
"तैपनि के कस्तो हो एकचोटि हेर्देउ न" भन्नुभयो ।
त्यति भनिसके पछि, यत्रो बर्ष पढेर पनि केही जान्दो रहेनछ भनेर कुरा काट्ने बाटो नराख्न भनेपनी केही बोल्नु पर्ने भयो ।
समाएको औसधिको पोको बाट एक एक गर्दै औसधि निकाले र भने, "यो ठिक, यो बेठिक भनेर त म भन्दिनँ, तर के के काम गर्छ चाहिँ भन्न सक्छु" भन्दै औसधिको trade name मा आँखा नलगी तल सानो मसिनो अक्षरमा लेखिएको generic name पढेर औसधिको class, uses, बुझ्ने सम्मको mechanism र side effect बताइदिए ।
त्यही भन्ने क्रममा, बिर्सिसकेको रहेछु कि non-medico संग बोलिरहेको छु । त्यसैले त sub-consiously एउटा शब्द निस्केको रहेछ "drug", औसधिको medical term । त्यो शब्द निस्किन साथ आँखा ठुल्ठुला बनाएर हेर्नुभयो । मैले सबै भनिसकेपछि सोध्नुभयो, "बाबु यो ड्रग नै हो त?"
"हो" भनिदिए ।
"राम्रो डाक्टरलाई देखाएर, राम्रो औसधि दिएर पठाएको होला भनेको ड्रग दिएर पठाएको रहेछ, त्यही भएर त यस्तो उस्तो भएको रहेछ" भन्दै, केही त्यही drugको side effect र केही drugको नाम सुनेर phychological habituation जस्ता symptoms हरु सुनाउनु भयो । अनि बल्ल मैले सम्झिए आफ्नो medical life को पहिलो दिन । त्यही सोचबाट गुज्रिएको थिए, त्यस्तै मानसिकता, उहीँ बिचार । त्यसैले बुझाउन पर्छ भन्ने आफ्नो कर्तव्य सम्झेर "ठिकै छ यो औसधि, यसको लागि यहि औसधि नै हो । सबै औसधि लाई हामिले drug भन्छौं, त्यसैले drug भन्ने शब्द निस्केको हो" भनेर । तर, drug को WHO को defination सुनाउने कुरा आउथेन । त्यसैले " सबै औसधि नियमित रुपमा खानु, ठिक हुन्छ" भन्दै बिदा भए ।
drugको नाम सुनेर तर्सिएको थियो अनुहार । सायद त्यो दिन निन्द्रा परेन होला उहालाई । dependance भएको जस्तो भएको थियो होला मानसिक रुपमा पनि। डाक्टरलाई पनि गाली गर्दै हुनुन्थ्यो होला, मनमनै । त्यसपछि त्यो औसधि खानुभयो या छोड्नु भयो थाहा भएन । उहाले केही भन्नुभएन, म सोध्दै गइन ।

एकदिन एउटा टाढिन खोजेको नजिकको non-medico साथी संग हिडिरहेको थिए । केही समय अगाडिबाट टाउको दुखेको थियो । नजिकैको pharmacy छिरेर, NSAIDs किने ।
"किन गएको त्यहाँ?" उसले सोध्यो ।
"drug लिनु थियो एउटा" मैले भने ।
drugको नाम सुन्नासाथ मलाई खाउला झै हेर्‍यो र म बाट अल्लि टाढा गएर तर्किएर सोध्यो, "ड्रग लिन्छौं ?"
त्यति भनिसकेको पछि मैले उसले के बुझ्यो भन्ने कुरा बुझिसकेको थिए, आफ्नो medical lifeको पहिलो दिन सम्झिए, तर उसलाई drugको परिभाषा बुझाउन मन लागेन, त्यसले सिधै रुपमा नबुझेझै गरि उत्तर दिए, " अ ! टाउको दुखिराखेको थियो, त्यसले।"
ड्रग भन्ने शब्द मेरो लागि नौलो थिएन, मेरो लागि ठूलो थिएन, मेरो लागि गलत थिएन, मेरो लागि गलत अर्थ बोकेको थिएन । तर त्यही शब्द त्यो साथिको लागि ठूलो लाग्यो, गलत अर्थ बोकेको लाग्यो । त्यसैले त्यो साथी गएर अरु साथी लाई सुनाउन भ्याईसकेको रहेछ, "त्यो त डाक्टर पढ्न गएको, बिग्रेर drug लिने भैसकेको रहेछ" भन्दै । पछि नजिकै रहन खिजेको नजिकैको साथिले सुनायो ।
आफ्नो भाषामा म सहि थिए, बुझ्ने ले गलत बुझ्यो। अझ भनौ समाजले गलत बुझ्यो । सामाजिक भाषाले गलत बुझ्यो । टाउको दुखेर NSAIDs मात्र त लिएको थिए, भन्दै drug को defination र त्यो औसधिको बारेमा उसलाई बुझाए, असल मित्र थिएन सायद, बुझाउदा पनि बुझेन, भनेको पनि पत्त्याएन । बिश्वास पनि गरेन । सायद उ सोचाइको सानो थियो, या सानो सोच भएको समाजमा हुर्केको । नबुझ्ने या बुझ्न नचाहने । बुझाएर नबुझेपछी, अब बुझाउनुको औचित्य रहेन । अफु आफ्नो ठाउमा सहि छु । बुझ्ने ले जे सुकै बुझुन भनेर त्यसको कुरालाई defence गर्न भन्दा ignore गर्नु सहि सम्झिए । ignore गरे ।

हो ! यस्तै समाजमा बोलिचालीको शब्द र हामिले प्रयोग गर्ने शब्दमा अन्तर आउदा, कहिलेकाही निकै समस्या पर्ने गर्छ । drug, tonsil, ulcer, gastric, आदि जस्ता धेरै शब्द प्रयोगमा medico र non-medico ले छुट्टाछुट्टै बुझ्छन् । यहि शब्द प्रयोगमा अन्तर आएर, साना देखि ठुलै समस्या दैनिक रुपमा भोग्नु परेको हुन्छ । हो ! यसको बुझाई फरक छ। यसको अर्थ फरक छ । यसको भाषा फरक छ ।


अन्ततः यस घटना तथा घटनाका पात्रहरु काल्पनिक हुन् । कसैको वास्तविक जीवन संग मेल खान गएमा संयोग मात्र हुनेछ ।

स्वास्थ खबरमा छापिएको Date: 28/12/2016

Thursday, May 19, 2016

गौरव आचार्य !!


गौरव आचार्य,
आचार्य, अचार्य, अचारे,
हो त, नाम मै रैछ अचार,
अचार त सबैतिर मिल्ने,
जताततै अटाउन सक्ने,
हरेक ठाउमा समेटिन सक्ने,
सबैलाई स्वाद दिने खालको हुनुपर्छ ।
तर यो नामको मात्र अचार छ,
अचारको बिशेषता छैन यसमा,
हो! यो अचार मीठो छैन,
बेस्वादिलो छ, फिक्का ।
तागत नदिने छ, अल्नो ।
एकदम अत्याउने छ, पिरो ।
च्वास्स पार्ने छ, अमिलो ।
पचाउन नसकिने छ, तितो ।
कताकता नमिलेको,
खै के मिसाउन छुटेको,
या खै के धेरै हालेको ।
पकाउदा पकाउदा डढेको,
या कताकती काचै रहेको ।
हो ! यो अचार स्वादिलो छैन ।
यो अचार चाख्न पनि सकिन्न ।
अनुहार बिगृन्छ, कोक्याएर ।
मुख बटारिन्छ, तितो भएर ।
जिब्रो पड्किन्छ, अमिलो भएर ।
आँसु चुहिन्छ, पिरो भएर ।
तैपनि यो अचार आफू स्वादिलो सम्झन्छ,
आफुमा सबै कुरा ठिक्क छ सम्झन्छ ।
त्यसैले त राम्रो कुरा भन्दा, मुन्टो बटार्छ ।
अर्ति दिदा, फुर्ती लाउछ ।
सम्झाउन खोज्दा, झर्किन्छ ।
राम्रो काम गर भन्दा, तर्किन्छ ।
नराम्रो काम नगर भन्दा, कर्किन्छ ।
म नुन थपिदिन खोज्छु, नुनिलो बनाउन ।
म पखालिदिन खोज्छु, पिरो हटाउन ।
म कागती हान्न खोज्छु, तितो कटाउन ।
तर यो नामको मात्र अचार ।
तितो नै ठिक मान्छ ।
पिरो नै जाती ठान्छ ।
अल्नो नै बेस मान्छ ।
कमसेकम आफ्नो बानी सुधार्न भन्दा ।
हो ! यो अचार फिक्का छ,
बेस्वादिलो छ ।
नामको मात्र अचार,
अचार, अचारे, आचारे, आचार्य,
गौरब आचार्य ।।

अन्ततः कसैको बास्तबिक जीवन संग मेल खान गएमा, संयोग मात्र हुनेछ ।।

Wednesday, May 18, 2016

क्रान्ति : एउटा पढ्नै पर्ने उपन्यास


परिक्षाको प्रेसर सक्काएर, धेरै महिना पछि बल्ल बिदा पाएको थिए । यो बिदामा यो गर्छु, त्यो गर्छु भनेर धेरै सोचेको थिए । परिक्षाको बेला भएर होला, मस्तिष्कमा धेरै कुरा खेल्थे, आफैलाई भुलाउन भएपनि बिदामा के गर्ने योजना बनाएर बस्थे । मनमा खेलेका धेरै योजनाका बिच, एउटा प्रमुख प्राथमिकतामा थियो - क्रान्ति !

क्रान्ति, नेपाली उपन्यास, लेखक: डा. सुदिप अर्याल । बागलुङमा कार्यारत युवा डाक्टर । पछिल्लो केही महिनामा अप्रत्यक्ष रुपमा चिनेको थिए । फेसबुक र टुइटर मार्फत । विशेषगरी "डि एस ओ यान" र "ओर्ड वारियर" बाट । क्रान्ति उपन्यासको चर्चा साथसाथै वहाँ कै ब्यक्तिगत पोस्ट र कमेन्ट  हरुले । डाक्टरले, अझ युवा डाक्टरले लेखेको उपन्यास भनेपछि युवा बर्गलाई लक्ष्यित गरेर, उपन्यासमा मेडिकल साहित्यको पनि प्रयोग गरेको हुनुपर्छ भन्नेमा पुर्ण आशावादी थिए । त्यसैले त परेको थियो प्रमुख प्राथमिकतामा ।

सकियो परिक्षा, बन्द भए टेक्स्ट् बुकहरु । खोलिए, उपन्यास र अन्य अतिरिक्त किताबहरु । सबैभन्दा सुरुमा, प्रमुख प्राथमिकतामा रहेको "क्रान्ति" । क्रान्ति उपन्यासको शीर्षक भनेपछि बिसयमाबस्तु पनि त्यही क्रान्ति अर्थात् परिवर्तनको सेरोफेरोमा घुमेको हुनुपर्छ भन्ने लागेको थियो । फेरि युवा डाक्टर, मेडिकल साहित्यलाई पनि उत्तिकै स्थान दिएको हुनुपर्छ भन्ने लागेको थियो । मेडिकल क्षेत्रमा परिवर्तन हो कि भन्ने पनि कताकता सोचेको थिए । तर, मेडिकल क्षेत्रमा धेरै परिवर्तन गर्नु पर्ने त थियो, तर त्यो क्रान्ति बरु माहाभारतको कथा जस्तो बन्थ्यो, उपन्यास बन्ने भन्दा । त्यसैले के होला, कस्तो क्रान्ति होला भन्ने उत्सुकता थियो । अनि बिसयबस्तु कसरी, कता मोडिएको छ भन्ने खुल्दुली । त्यही खुल्दुली मेटाउन, सुरु गरे उपन्यास क्रान्ति ।

पाठक भएर पढ्दा पनि एउटा कमजोरी छ मेरो । प्रमुख पात्र को छ भन्ने थाहा नपाइन्जेल उपन्यासको भाब बुझ्न हम्मेहम्मे पर्छ । त्यही समस्या भोग्नु पर्यो यो उपन्यासमा पनि, सुरुका केहि पेज पढ्दा सम्म । त्यसले त झन् उत्सुकता बढेको पनि थियो । उपन्यासको प्रस्तुतकर्ता भनेको "म" पात्र भन्ने बुझेपछि, "म" पात्र को होला ? कसले प्रस्तुत गरिरहेको छ भन्ने बुझ्न दौडाउदै थिए अँखा उपन्यासका पानामा । केही पेज पढिसकेपछी बल्ल थाहा भयो प्रमुख पात्र लेखक आफै हुनुहुदो रहेछ भन्ने । त्यसपछि झन् उत्सुकता जाग्यो । अप्रत्यक्ष रुपमा भनेपनी चिनेको मान्छेले प्रस्तुत गरेको बिसयबस्तु भनेपछि पढ्न झन् रमाइलो लाग्यो । ठाउँ परिवेश पोखरा नै भएपछि, सेरोफेरोमा घुलमिल हुन समय लागेन । बिचबिचमा मेडिकल शब्दहरु साहित्यिक रुपले छिराउदा अझ रमाइलो लाग्थ्यो ।

पढ्दै गरे उपन्यास, बढ्दै गए पानाहरु, दौडिदै गए आखाहरु, अक्षर-अक्षरमा । डुब्दै गए म कथामा, हराए साहित्यमा । यति सम्म डुबे कि, आफैलाई पोखराका पब हरुमा रामाउदै गरेको पाउन थाले । क्रान्ति संग प्रत्यक्ष भेट भएको कल्पनामा हराए ।  आफ्नो भबिस्य पनि त्यस्तै हुनेवाला थियो, करिब २/३ बर्ष पछि, यहि पोखराको सेरोफेरोमा, उस्तै दैनिकी, उस्तै साथीहरू, र उहीँ "डाक्टर साब" भन्ने उपनाम । त्यसैले प्रस्तुतकर्ता को ठाउमा आफुलाई राखेर कल्पना गर्न खासै गाह्रो भएन । र रमाउदै गए उपन्यासको कथामा । डुब्दै गए बिसयबस्तुमा । यति सम्म डुबे कि प्रमुख पात्र क्रान्ति कस्तो रहेछ भन्ने उत्सुकता जागेर, "क्रान्ति पाण्डे" भनेर फेसबुकमा सर्च गरे । "भिके थेरापी" भन्ने विकिपेडियामा सर्च गर्न पुगे, नभेटेपछि "भिके स्पिच थेरापी", "भिक्टर-क्रान्ति थेरापी" भनेर सुद्द सर्च गरे । "अल्वयेज फर यु नेपाल" भन्ने गित युटुबमा खोजे । नभेटेपछि बल्ल ख्याल गरे, यो त उपन्यासको कथा पो हो । काल्पनिक होला भन्ने बल्ल दिमागमा आयो । त्यसपछि बल्ल उपन्यास पढेको मजा आयो । आफू कल्पनामा डुबेर, यथार्थमा हराएको हुदा । लेखक प्रती पनि छुट्टै सम्मान आयो, उपन्यासको कथा, बिसयबस्तु यथार्थ शैलीमा ढाल्न सफल भएकोमा ।

किशोर अबस्थाको मनोबिज्ञान लाई उतारिएको यस उपन्यासमा, जुन क्रान्ति गर्न खोजियो, त्यो अहिलेको समयको माग छ । हो ! बिकास गर्नु पर्छ सोचाइ, बराबर मान्नु पर्छ छोराछोरी । त्यहा भने जस्तै शिक्षित समुदाय बाटै थालिनु पर्छ यो परिवर्तन, यो लैंगिक भेदभाव विरुद्धको क्रान्ति । सबै अभिभावक, क्रान्तिको ड्याडी मम्मी जस्तै हुनु पर्छ, अनि बल्ल सम्भब छ अहिलेको समयको माग, यो परिवर्तन, यो क्रान्ति ।