Search This Blog

Saturday, May 4, 2019

आमा !!

महिनावारी रोक्किएर,वाक्क-वाक्क गर्दै,
भर्खर फोलिक एसिड खान सुरु गरेका,
लाजले भरिएका ती अनुहारमा आमालाई देख्छु।

गर्भवती भएर,दुइटा जिउको भार बोक्दा,
मातृत्वको सुन्दरता संगै झल्किएको त्यो,
कालो पोतोले भरिएको अनुहारमा आमालाई देख्छु।

सुत्केरी ब्यथाले च्यापेर प्रसव कक्षमा रुदै,
आमा बन्न आमा भन्दै आमालाई नै गुहार्ने,
असिन पसिन भएका अनुहारमा आमालाई देख्छु।

अनि बच्चा रोएको आवाज सुन्ने बित्तिकै,
आफ्नो सुत्केरी ब्यथाको पिडा बिर्सिएर,
मुस्कुराउन नबिर्सिने अनुहारमा आमालाई देख्छु ।

जन्मिए पछि नियमित खोप लगाउन पर्दा,
बच्चालाई थाहै नहुने सानो सुइ लगाउदा,
आफैलाई दुखेझै गर्ने अनुहारमा आमालाई देख्छु।

शरीर छाम्दा अलि-अलि तातो छ भनेर,
ज्वरो नहुदा पनि,इमर्जेन्सी दौडाइहाल्ने,
व्यग्र अनि व्याकुल अनुहारमा आमालाई देख्छु।

एकचोटि बान्ता गर्दैमा वा थोरै खोक्दैमा,
रातिको तीन बजे पनि हस्पिटल ल्याउने,
चिन्तित अनि उत्सुक अनुहारमा आमालाई देख्छु।

हट्टकट्ट, एकदम स्वस्थ बच्चा लिएर आएर,
बच्चाले किन थोरै खान्छ भन्ने चिन्ता लिदै,
बारम्बार प्रश्न सोध्ने अनुहारमा आमालाई देख्छु।

काम ज्वरो आएको बच्चा काखमा च्यापेर,
आखा पल्टायो अनि फिज निकाल्यो भन्दै,
आत्तिदै आएको रुञ्चे अनुहारमा आमालाई देख्छु।

चोटपटक लागेर काटेको बच्चा आउँदा,
घाउ सफा गर्ने बेला,रगत बगेको देखेर,
छेउमै बेहोस हुने ती अनुहारमा आमालाई देख्छु।

सुइ लगाएर,काटेको घाउमा टांका लगाउदा,
दुखेर हैन कि आत्तिएर यदि बच्चा रोयो भने,
मलाई गाली गर्ने ति अनुहारमा आमालाई देख्छु।

घरमा अर्को बच्चा एक्लै छाडेको छु भन्दै,
भर्ना भन्दा,खाने औसधि मिलाईदिनु भन्ने,
दुरदर्शि ममतामयी अनुहारमा आमालाई देख्छु।

बच्चा ठिकै छ,औसधि लिएर घर जानु भन्दा,
औसधिले पक्का ठिक हुन्छ भन्दै प्रतिप्रश्न गर्ने,
स्वास्थप्रति संवेदनशील अनुहारमा आमालाई देख्छु।

निमोनियाले कोखा हान्दै गरेको बच्चालाई,
बाफ लगाइदिनु,अक्सिजन लगाइदिनु भन्दै,
काम गर्न अत्याउने अनुहारमा आमालाई देख्छु।

सिरिअस बच्चालाई,वार्डमा उपचार गाह्रो छ,
आइसियु चाहिन सक्छ,अन्तै लैजानु भन्दा,
होश-हवास उडेका ती अनुहारमा आमालाई देख्छु।

जन्मजात कठिन रोग लागेको बच्चा च्याप्दै,
उपचार नभएपनी बारम्बार हस्पिटल धाउने,
आशले भरिएका ती अनुहारमा आमालाई देख्छु ।

झार-फुक गरेरै सिरिअस बनाएर ल्याउदा,
कोशिश गर्छु तर ल्याउन ढिलो भयो भन्दा,
रुदै अनुनय बिनय गर्ने अनुहारमा आमालाई देख्छु।

बेहोस भनेर ल्याएको बच्चा मृत घोषणा गर्दा,
मेरो पाखुरामा झुन्डिएर केहि गर्दिनुस् भन्दै,
भित्तामा टाउको ठोक्ने अनुहारमा आमालाई देख्छु।

सोचे अनुरुप उपचार गरेर निको बनाएपछि,
धन्यवादको गुच्छा चढाउदै दुबै हात जोडेर,
आभारी भएका प्रफुल्ल अनुहारमा आमालाई देख्छु।

यत्रतत्र गुन्जिरहेका ममतामयी धुनमा आमालाई देख्छु।
निस्वार्थ गरेका माया,लगाएका गुणमा आमालाई देख्छु।
सुन्दरताको मापक,पुर्णिामाको जुनमा आमालाई देख्छु।

हर दिन, हर क्षण आमाकै याद गरिराख्ने भएपछि पनि,
भावनाले जोडिएर सधै चरणमा परिराख्ने भएपछि पनि,
भेटेका सबै अनुहारमा आमा देखिराख्ने भएपछि पनि,
अनि आमालाई सम्झिएर लेख लेखिराख्ने भएपछि पनि,
आफ्नी आमालाई सम्झन बर्षको एक चोटि,
त्यो पनि आज औंसीकै दिन कुरिराख्नु पर्छ र?