Search This Blog

Wednesday, April 24, 2019

कविता: मृत्‍युको घोषणा

एम्बुलेन्सको साइरन बज्नासाथ सतर्क हुन्छु।
डाक्टर'साप! एउटा बिरामी छ!कता ल्याउ?
यता ल्याउनुस बिरामी,यता इमर्जेन्सीमा।
बिरामी ओर्लेपछि सम्पुर्ण ध्यानाकर्षण हुन्छ।
हिडेर आउदै कि व्हिलचियर कि स्टेचरमा,
अनुहारको भाव,हातको स्थान,चालचलन,
सम्पुर्ण तर्फ सबै ध्यान एकैचोटि जान्छ।
वार्तालाप अगवै धेरै कुरा सोचिसकेको हुन्छु।
बिरामीको रोग,स्थिति,गम्भीरता,सबै सबै।

बिरामीको चाल केहि नदेखिए,दैडिदै जान्छु।
नाडी छाम्छु,धड्कन अड्किएको थाहा हुन्छ।
घाँटी छुन्छु,निर्जीव मुडो छोएको जस्तै हुन्छ।
आलाले छाति सुन्छु,मुटु रोक्किएको हुन्छ।
फोक्सो सुन्दा सास फेर्न बिर्सिएको हुन्छ।
आखामा बत्ती बाल्छु,नानी खुन्चिन मान्दैनन्।
कपासले आँखा छुन्छु,झिम्काउन सक्दैन।
बिरामी सिरिअस छ है भन्छन् उनिहरु,
तर म बिरामी नै छैन भन्छु मनमनै।
हातमा प्रेसर नाप्छु,केहि सुनिदैन।
अक्सिजनको मात्रा हेर्छु,शुन्य देखाउछ।
अनि हतारहतार इसिजी गर्न लगाउछु।
जिन्दगीमा आउने उतारचढाव हरु जस्तै,
इसिजिमा आउन पर्ने तलमाथि धर्काहरु,
सिधा आउछन् कि उसको जिबनका,
सम्पुर्ण उतारचढाव सबै अन्त्य भए भनेर।

आफन्तहरु केहि नभएको झै ढुक्क बस्छन्,
सोच्छन्! हस्पिटल ल्याएपछि सबै ठिक हुन्छ।
मलाई सिधै बिरामी छैन अब भन्न गाह्रो हुन्छ।
त्यसैले भुमिका बाध्न तर्फ लाग्छु;
अलिकति मलिन अनुहार बनाएर सोध्छु,
पुरानो रोग के के छन्?
त्यस्तो कुनै दीर्घ रोगको औसधि खानुहुन्छ?
कहिले देखी उहाँ बिरामी हुनुहुन्छ?
हिजोआज स्वास्थमा केहि गडबडी थियो?
अन्तिम चोटि के खाना खानु भयो ?
उहाँलाई यस्तो कतिबेला देखि भयो?
कतिबेला देखी बोल्न छाड्नु भयो?
कतिबेला देखी बेहोस हुनुहुन्छ?
कतिबेला देखी चल्न छाड्नु भयो?

यत्तिका प्रश्न सोधे पछि पनि नबुझे झै गर्छन्,
अनुहारमा केहि डराएको हाउभाउ हुदैन।
अनि मृत घोषणा गर्न तर्फ लाग्छु,
सबैभन्दा नजिकको आफन्त बोलाएर भन्छु,
अब उहाँ हुनुहुन्न ।
छांगाबाट खसेको झै हुन्छन्,
बिश्वास नै गर्दैनन्।
म, इसिजिका सिधा धर्को देखाउदै सम्झाउछु।
रोइ-कराइ सुरु हुन्छ,अनुनय विनय गर्छन्।
मेरो पाखुरामा झुन्डिएर, मेरा हात तान्छन्,
अनि आश बाकी नरहेको लास सामु लान्छन्।
केहि सकिन्छ भने गरिदिनु भन्दै हात जोड्छन्।
रुन्छन्,कराउछन्,बोलाउछन्, उठाउछन्,
झकझकाउछन्, पानी छम्किन्छन्,
हात खुट्टा मिच्छ्न्, छाती पिट्छन्, थप्पड हान्छन् !
तर अह! ऎया भनी उठ्दैन उ।
त्यो चीत्कारको बेवास्ता गर्छ उ।
हल न चल एकै ठाउमा बस्छ उ।
मर्यो रे उ! साच्चै मर्यो रे उ!

मेरा पनि गह भरी आशु हुन्छन्,तर चुहाउदिन।
मुटु थरथर काम्न थाल्छ,तर डराउदिन।
ओठ लगलगाउछन्,तर बाहिर देखाउदिन।
अनि कठोर बनेर भनिदिन्छु कि,
अब प्रयास गर्ने ठाउँ कहिँ कतै केहि बाकी छैन।
अनि बिरामी भनेर ल्याइएको मृत शरीर छोडेर,
अन्य भएका बिरामीको उपचारमा खट्छु।

एकछिनको आघात पछि पत्याउन कर लाग्छ।
अनि आएर कारण सोध्छन्;
के कारणले मृत्यु भयो होला?
म यथार्थ भन्छु,
यहा आउदा खेरि केही थिएन।
मैले मृत्यु घोषणा गरेको मात्र हो।
के कारण चाहिँ एकिन थाहा भएन।

उनिहरु आफ्नो अड्कल प्रमाणित गर्न खोज्छन्,
हर्ट अट्याक आएको हो?
प्रेसरले हानेको हो?
एक्कासि दम बढेको हो?
कुनै खानामा गडबडी?
बिख वा अन्य केहि पदार्थ सेवन?

घाटिमा भिरेको आलाले मर्यादा भित्र राख्छ,
र "होला" भन्ने शब्दमा अड्कल काट्न दिदैन।
अनि पोस्ट मार्टम गर्न सल्लाह दिन्छु।
र संसार बाट बिदा भैसकेको उसलाई,
र शोकाकुल आफन्तलाई सम्झाइ बुझाइ,
पोस्ट मार्टमको लागी त्यहाबाट बिदा गर्छु।

अर्को दिन बिहान,आफ्नो ड्युटी सकिने बेला,
दर्ता पुर्जीमा टासिंएको इसिजिको टुक्रा हर्दै,
पालो दिन आएका सहकर्मी ठट्टा गर्दै भन्छन्,
आज पनि चित्रगुप्ता संग सहकार्य गरिएछ हैन?
म अनिधो अनुहारमा,मलिन हासो हासेर भन्छु,
यदि म भएको ठाउमा उ चाडो आएको भए,
या यमदुत उ भएको ठाउमा ढिलो पुगेको भए,
लडाइ गरेर भएपनि यमदुतलाई हराउँथे होला,
तर, मेरो भन्दा यमदुतको पहुँच चाडो भएकाले,
मेरो सम्पर्कमा आउन अगवै उसलाई हरेर लगे।
उसको सास र आत्मा साथमा लिएर,
र त्यो मुडो शरीर यही धर्तीमा छोडेर।

2 comments: