Search This Blog

Friday, February 14, 2020

प्रिय आला ! २

प्रणय सप्ताहको अवसरमा पछिल्लो एक साता सामाजिक संजालमा छुट्टै रौनक थियो । यो हप्ता भरि सामाजिक संजालका भित्ताहरु गुलाफका फुलहरुले राताम्य बने, प्रेम प्रस्तावहरुले उत्साहित बने, चकलेटहरुले स्वादिलो बने, टेडिहरुले न्यानो बने, कसमहरुले बिस्वस्निय बने, अंगालोहरुले आत्मीय बने, चुम्बनहरुले आकर्षक बने, अनि आज प्रणय दिवस पवित्र बन्यो । सबै एकाअर्का प्रति समर्पित जोडी देख्दा, मलाई पनि मैले आफ्नो सम्पुर्ण जवानी र लगानी समर्पण गरेर कमाएको मेरि उनी प्रती समर्पित भएर, विगतका जसरी नै प्रणय दिवसको उपहार स्वरुप एउटा पत्र लेख्न उत्साह मिल्यो । चिसिएको सम्बन्ध न्यानो बनाउने कोशिश गर्दै यो पत्र लेख्न गइरहेको छु । स्वीकार गर ।

यसरी पत्रमा प्रिय् लेखेर सम्बोधन गर्नु समयसापेक्ष रुपमा हेर्ने हो भने अहिलेको अवस्थामा जायज हुन्छ या हुँदैन, थाहा छैन । तर, आफू शब्द चयनमा कमजोर भएकै कारण, यो पत्र सुरु गर्नु अगाडि उक्त प्रिय् शब्द नलेखी सुरु गर्दा, खल्लो लाग्यो अनि, त्यसको सट्टामा प्रयोग गर्ने कुनै शब्द नै भेटिन । त्यसैले यसबाट आउने भवितव्यंको प्रवाह नगरी प्रिय् सम्बोधन गरेर पत्र लेख्दैछु । रिसानी माफ ।

प्रिय्, हामी सम्पर्क बिहिन भएर, सम्बन्धमा चिसो पसेको पनि महिनौं बितेछ । मलाई अंगालेर मेरो ढुकढुकी सुन्न नपाएकोमा वा  कयौं मानिसको ढुकढुकी मलाई सुनाउन नपाएकोमा तिमिलाई न्यास्रो लाग्छ होला । कोठाको एउटा कुनामा तिमिलाई अलपत्र छाडेर, महिनौं दिनसम्म पनि नबोलाउदा वा अंगाल्न नआउदा तिम्रो मन दुख्छ होला । महिनौं देखि बेवास्ता गरेर, तिम्रो शरीर भरि धुलो टासिंएर तिम्रो सुन्दरतामा कुरुप आउदा, कमसेकम धुलो मात्र भएपनि पुछिदिन नआउदा तिमिलाई रिस उठ्छ होला । जितिबेलै आफ्नै आखा अगाडि देख्दा पनि आफुलाई बेवास्ता गरेर हरक्षण अन्यत्र भुलेको देख्दा, आफ्नो समय कटौती भएर, शुन्य समय पाएकोमा तिमिलाई ईष्र्या लाग्छ होला ।

तर प्रिय, तिमिलाई त्यो अलपत्र अवस्थामा छाडेर म, हाम्रो सम्बन्ध अनि जिम्मेवारीबाट पंछिन खोजेको त छैन नि । तिमिले सुन्न नपाएको ढुकढुकी मैले पनि त सुन्न पाएको छैन । तिमिले मलाई अंगाल्न नपाएकोमा तिमी जतिले जति मन दुखाएको छौं, त्यत्ति नै वा त्यो भन्दा बढी त म तिमिलाई अंगालोमा बेर्न नपाएकोमा निराश छु । तिम्रो शरीरमा पुछ्न नभ्याएर टासिंएको धुलो र मेरो अनुहारमा काट्न नभ्याएर झांगिएको दारी हेर्न सक्छौ, प्रसंग फरक भएपनि हामी दुबैको हालत उस्तै छ । अनि अहिले तिम्रो समय कटौती गरेर, अन्यत्र पढाइमा खर्चिनु मैले मेरो मात्र स्वार्थ देखेको त छैन नि, यो मेहनत त हाम्रो सम्बन्ध अझ प्रगाढ बनाउन, प्रेम उत्सर्गमा पुर्याउन,  अनि नाता समयसापेक्ष बनाउन गरेको कोशिश नै त हो । समय ब्यबस्थापन गरेर, सबैकुरा समानान्तर लैजान नसक्नु मेरो कमजोरी हो, म मान्छु । तर त्यही कुराले हाम्रो सम्बन्धमा ठेस पुगोस् भन्ने चाहना मेरो कत्तिपनी हैन ।  यो कुरा त तिमिले पनि महसुस गर्न सक्छौ होला ।

सम्बन्ध जतिनै स्वस्थ भएपनि, बेलाबखत सम्बन्धमा असमझदारी आउने रहेछन् नै । त्यस्तै नियति हामिले हाम्रो सम्बन्धमा पनि भोग्नु पर्‍यो । तिमी मलाई साथमा लिएर खुल्ला पंक्षी झैं संसारभरि उड्न चाहान्थ्यौ, तिमि देश-बिदेश घुमेर विश्व भरिका मानिसको ढुकढुकी सुन्न चाहान्थ्यौ, तिमी सुक्ष्म स्तरमा गएर रोगको निदानमा पुग्न चाहान्थ्यौं, तिमी विश्वब्यापी रुपमा मान्यता पाएका अन्तरास्ट्रिय पद्धति अनुसार उपचार गर्न चाहान्थ्यौं, आफ्नो बृद्दिविकास बढाउन कुनै बाधा नआओस् भन्ने चाहान्थ्यौ, आफ्नो अगाडिको सम्पुर्ण ढोका सदैव खुल्ला होस् चाहान्थ्यौ, विश्वब्यापी रुपमा आफ्नो प्रभाव पारेर आफ्नो कार्यक्षेत्र फराकिलो बनाउन चाहान्थ्यौ । जुन तिम्रो त्यो मनसाय पनि प्रगतिशील बजारमा गलत बिल्कुलै थिएन ।

तिमिले आफ्नो जिबन म प्रति समर्पित गरेपछि ममा नै संसार देख्नु, र मसंग मात्र जोडिएको भविस्यको सपना देख्नु पनि स्वभाविक थियो । मैले पनि तिमिलाई मेरै संसारमा देखेको थिए । तर, मेरो संसारमा तिमी लगायत मेरा बुबाआमा, आफ्ना आफन्त, साथिभाई, इष्टमित्र, यहीँको माटो अनि यहीँ छट्पटाइरहेका बिरामी पनि मेरो संसारमै अट्थे । तिमीलाई समेटेर यी सबैलाई मैले संसार देख्थे, अनि यहीँ संसारमा केहि गर्नुपर्छ भन्ने लाग्थ्यो र यही माटोमा नै भविस्य देख्थे । मलाई आफ्नो कर्तव्य र जिम्मेवारीले बाध्न थाल्यो, अनि तिम्रो चाहना विपरीत आफ्नै अडान लिएर, देशमै बस्ने निर्णय लिन पुगे । म महसुस गर्न सक्थे मेरो निर्णयले हाम्रो कार्यक्षेत्र साघुरिन पुगेकोमा तिमी निराश पक्कै थियौ । तिमिलाई निराश बनाएको मेरो उक्त निर्णय प्रति म क्षमा चाहान्छु ।

तिमिले आफैं मलाई केही कुरा व्यक्त गर्न नसकेपनी विभिन्न प्रपंन्च रचेर मलाई बिदेशीन आग्रह गरिरहेको हुन्थ्यौ । कहिले, बिरामीको उपचारको क्रममा मृत्यु भए फौजदारी अभियोग लाग्ने मुलुकी ऎनको धम्की दिएर । कहिले, बिना कसुर दोषी करार गर्दै करोडौं क्षतिपूर्ति माग गरेर हालिएका मुद्दाको उदाहरण सहित डर देखाएर । कहिले, हस्पिटल तोडफोडका घटना अनि स्वास्थकर्मी कुटिएका घटना देखाउदै त्रास फैलाएर । कहिले बिरामी पक्षको गाली सुनाएर, कहिले मौलाएको भिडतन्त्र देखाएर । कहिले कानुनी राज्यको खिस्सी उडाएर, कहिले बढ्दै गएको लासको ब्यापारीकरण देखाएर । कहिले आफ्नै पेशा भित्रका अग्रजहरुले कायम गरेर राखेको सिन्डिकेटको जालो देखाएर । कहिले, बिदेशीन कै लागी युयसएमयाली र प्ल्याव तयारी गर्दै गरेका साथिहरुको सम्पर्कमा पुर्‍याएर, उनीहरुको सल्लाह ग्रहण गर्न लगाएर मलाई प्रभाव पार्न खोजिरह्यौ । तर म आफ्नो अडानमा अढिक रहिरहे ।

तर प्रिय्, बेलाबेलामा "चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु", "हिडेर गएका बिरामीको उपचारका क्रममा मृत्यु",  "हस्पिटल हाता भित्रै ड्युटीमा रहेका स्वास्थ्यकर्मी माथी हातपात" जस्ता हेडलाईनमा समाचार सम्प्रेषण हुदा, अनि हस्पिटल हाता भित्रै, "हत्यारालाई फासी दे", "मान्छे मार्न पाइदैन", "हस्पिटल बन्द गर", भन्दै नारा लागेर, हरेक लास माथी राजनिती गर्दै,  लासको ब्यापारीकरण हुने खराब नजिर बस्दै जादा, तिमिसंग जोडिएको सम्बन्धको कारण मेरो जिबन जोखिमपूर्ण अनि भबिस्य धरायसी देखेपछि तिमिले बिदेशीन अनि उतै सुरक्षीत अवतरण गर्न दिएको इसारा सार्थक लाग्थ्यो । तर, देशको त्यो नाजुक अवस्था हेर्दा केहि क्षण भावनामा वहकिए पनि अन्त्यमा देशमै केहि गर्न सकिन्छ र गर्नुपर्छ भन्ने सोच कहिल्यै हटेन, र देशमै बस्ने निर्णयमा अढिक रहे । मेरो उक्त निर्णयमा तिमिले केहि गुनासो व्यक्त नगरेपनी, म महसुस गर्न सक्थे, मेरो त्यो निर्णयमा तिमि  सम्झौता गरेरै भएपनी उक्त निर्णय स्विकार्न विबस थियौं ।

देशको स्वास्थ स्थिति कस्तो छ भनेर, कयौं पटक मेरो गलामा झुन्डिएर वार्डको राउन्डमा जादा त्यहाको अवस्था महसुस गर्यौ होला । मेरै अंगालोमा बेरिएको बेलामा गुणस्तरीय सेवा दिन नसक्दा बिरामी र बिरामी पक्षले राख्ने गुनासो, उनीहरुले दिएको गाली सुनेकै छौं, अनि त्यो गालि दिने अनुहारका रिस पनि देखेकै छौ होला । मृत्यु सैयामा घिटिघिटी लडिरहेका बिरामीको शरीर सुम्सुमाउदै, उनीहरुको रोगको अवस्था अनि त्यसको गम्भीरता पनि तिमिले देखेकै छौं होला । मेरो अंगालो बाट अर्लिएर केहि क्षण टेबुलमा बसेर, छेउमा मैले हस्ताक्षर गरेका कयौं 'डेथ सर्टिफिकेट' पनि तिमिले टुलुटुलु हेर्न विवस थियौं । यसबाट पनि अनुमान गर्न सक्छौ कि नेपालको स्वास्थ अवस्था कस्तो छ । अनि के म यो अवस्थाको बारेमा नजिक बाट सम्पुर्ण कुराको बारेमा जानकार हुदाहुदै, आफ्नो मात्र सुरक्षीत अवतरण खोज्दै, तिमी बाहेकको मेरो संसारमा स्थान पाएका मेरा बुबाआमा, आफ्ना आफन्त, साथिभाई, अनि यहाका बिरामीलाई यहीँ त्यही अवस्थामा अलपत्र पारेर, चलिआएको स्वास्थ सेवाको हातमा छेडिदिएर म आफ्नो मात्र सोचेर म त्यो जिम्मेवारी बाट भाग्न मिल्छ ? आफुलाइ यहाको स्वास्थ प्रणाली चित्त नबुझेरै आफू बाहिरिदा, यही चित्त नबुझेको स्वास्थ प्रणालीको हातमा मेरा बुबाआमाकै जिबन सुम्पिन मलाई मेरो नैतिकताले दिन्छ ?

हो ! देशमा अहिले घटिरहेको घटनाक्रम, स्वास्थ सम्बन्धि बिषयमा उठाइएका मुद्दा, अनि यहाका मानिसको प्रवृत्ति हेर्दा यो निचोडमा पुग्न सकिन्छ कि, कयौं नेपालीको चेतनाको स्तर न्युन छ । सत्यतथ्य नबुझी हल्लाको पछि दौडने बानी छ । हल्लाको भरमै कसैलाई दोषी करार गर्ने स्वभाव छ । भिडतन्त्रकै आवाज निर्णायक हुन्छ भन्ने सोच यथावत नै छ । अनि हुलदंगा गरेर कानुन आफ्नो हातमा लिन सकिन्छ भन्ने खराब नजिर मौलाउदो छ । तर के अब रहेका मानिसको चेतनास्तर यस्तै छ, चलिआएको चलन यस्तै भन्दै आफू मात्र यहाँबाट पंछिने कि, यहाका मानिसको चेतनाको स्तर उकासेर, सोचमा परिवर्तन ल्याएर, स्वास्थ सेवा विस्वासनिय, गुणस्तरीय अनि प्रभावकारी बनाउन लाग्ने ? पक्कै पनि ज्ञान, सीप, सोच, बानी, स्वभाव त जन्मसिद्ध कसैको हुदैन, सबैले जन्मपछी नै आर्जन गर्ने हो । ती परिवर्तनसिल कुरामा परिवर्तन ल्याउन सकिन्छ कि भनेर कोशिश गर्न त सकिन्छ होला नि, हैन ?

घरीघरी तिमिले गुनासो पोख्थ्यौ, यहाँ त अवसर पनि छैन, सिन्डिकेटको जालो मौलाएको छ, राम्रो ठाउमा प्रवेश पाउनै सकिदैन भन्दै । तर तिमि भन त प्रिय्, के बिदेश पस्ने बित्तिकै अवसर आफ्नो अगाडि ठिक्क परेर बसेको हुन्छ र? त्यहा पुग्न गरेको मेहनत अनि त्यहाँ अवसर खोज्न गरेको जति मेहनत, लगानी र खर्चिएको समय, यहीँ खर्च गरेपछि त यहीँ पनि अवसर भेट्टिएर मोटामोटी आफू यहीँ स्थापित हुन सकिन्छ होला नि । हैन र? अवसर खोज्दै नखोजी भेट्टिएन भन्न मिल्छ र ? सिन्डिकेटको कुरामा त हामी, नेपालमा नाम चलेका एकदम नामि चिकित्सकसंग आफुलाई दाज्न पुग्छौं, अनि उहाँहरुको ब्याक्तित्व हेरेर ईष्र्या गर्छौ । उहाहरुले यहासम्म आइपुग्न तत्कालीन आफ्नो समयमा गर्नुभएको मेहनत र संघर्षको नजरअन्दाज गर्दै अहिले कायम रहेको ब्याक्तित्व हेरेर आफुसंग दाजेर ईष्र्या गर्न मिल्छ  र ?

साच्चै छातीमा हात राखेर एउटा कुरा मनन गर त प्रिय, आफ्नो घर चुहिने छ भन्दैमा सधैं छिमेकीको घरमा ओत माग्नु बुद्धिमानी छुन्छ कि संभव भएसम्म दुखसुख गरेर आफ्नै घर मर्मत गरि सधैंका लागि सुखी संग बस्ने बाताबरण बनाएर आफ्नै घरमा जीवन ब्यतित गर्ने वातावरण बनाउनु बुद्धिमानी हुन्छ ? प्रलय नै भयोभने परिस्थिति भिन्नै हुनसक्छ, नत्र यहिको प्रणाली सुधार गर्दै अवसर यहीँ बनाउन सकिन्छ नि, भविस्य यहीँ खोज्न सकिन्छ नि, अझै यहीँको स्वास्थ प्रणाली उकासेर, सेवा गुणस्तरीय, भरपर्दो बनाउन  सकिन्छ नि । अवसर यहीँ छ, भविस्य यहीँ छ । मात्र अहिलेको परिस्थिति र समय ठिक नचलेको मात्र हो । यो ठिक नचलेको परिस्थिति र समयलाई ठिक बनाउने जिम्मा हाम्रो काधमा पनि आएको छ, नकि यहीँबाट पंछिएर आफ्नो बारेमा मात्र सोच्दै हिड्नलाई ।

खै र, ती त भए हाम्रा बीच रहेका केहि असमझदारीका प्रस्टीकरण । बोलिमा मात्र बोलेर, व्यबहारमा नउतारी कुनै कुरा पनि सार्थक हुदैनन् । सधै यही तहमा रहेर, मैले गरेका अठोट पूरा गर्न पनि संभव छैन । अनि अहिलेको बजार हेर्दा नेपालमा उच्च शिक्षा हासिल गर्न पनि निकै प्रतिस्पर्धी बजार छ । त्यसैको लागी चाहिने मेहनत र संघर्षको नजरअन्दाज गर्नै मिल्दैन । त्यही कुरालाई ध्यानमा राख्दै आजकाल म त्यही संघर्षको बाटोमा तिमिलाई विशेषज्ञताको परिचय दिने तयारीमा जुटेको छु । अनि आफुले अंगालेका हरेक कुरालाई सतप्रतिशत प्रयास गर्नुपर्छ भन्ने मान्यता राखेर, नचाहादा नचाहदै आजकाल सम्पूर्ण ड्युटीहरुमा बिदा मागेर अस्पताल नगइ घरमै बसेर स्व:अध्यनमा तल्लीन छु । यसैको कारण केहि समयको लागी हस्पिटलको आवजजावत घट्दो छ, बिरामीहरु संगको सम्पर्क पातलिदो, जसको प्रत्यक्ष असर हाम्रो सम्बन्धमा परेको छ, जसले गर्दा मैले तिमिलाई दिदै गरेको समय पनि कटौती भएको छ, सम्पर्क पातलिदो छ, सम्बन्ध चिसिएको छ, अनि हामी बिचको असमझदारी अझ बढ्दो । तर, हतोत्साहित नभउ प्रिय, अबको केहि महिनामै हाम्रो सम्बन्ध अझै अधिकारिक, अझै बिशेषत, अझै सुनिश्चित, अझै समयानुकूल, अझै प्रभावसाली, अझै प्रगाढ बनाएर फ़ेरि हाम्रो सम्बन्धलाई नंया स्थापित परिचय दिनेछौं । त्यसपछि फ़ेरि नजिकिने छौं हामी, सम्बन्ध अझै सुमधुर बनाएर । र तिमिले हाम्रो सम्बन्धको लागी मलाई त्यति समय उपलब्ध गराउन कुनै कन्जुस्याइँ गर्ने छैनौं भन्नेमा पनि म बिस्वस्त छु ।

तिमी पनि कल्पना गर त त्यसपछि को त्यो क्षण, कुनै एउटा ठुलो संस्थामा अझ उपल्लो दर्जाको परिचय बोकेर, तिमि मेरो गलामा बेरिएर, देब्रे पट्टी मुटुमाथी आफ्नो शिर अड्याएर, दाहिने छातिमा हातहरुले अंगाल्दै, मेरो ढुकढुकी सुन्दै अनि बेलाबेलामा आफ्नो शिर कयौं मानिसको छातिमा पुर्‍याएर तिनीहरुको मनको ढुकढुकी सुनाउदै, विशेषज्ञताको ओहदा तर्फ लम्किदै गरेको हुनेछौं । अनि त्यसपछि त जिबनभरी कहिल्यै नछुट्टिने गरि, चौबीसै घण्टा मेरो समिपमा रहेर, हर क्षण सुखदुःखका कुरा साटासाट गर्दै, एउटै पाइला बनाएर जिबनमा अघि बढ्नु हामी दुबैको लागी पनि त हर्षको बिषय हो नि ।


तिमिसंग सम्बन्ध गासेर रोजेको यो बाटो कठिन अवश्य छ, तर असम्भव पक्कै पनि छैन । जिबनको यात्रामा सहयात्री बनिदिन आएकोमा धन्यवाद अनि मैले रोजेको बाटोको गन्तव्यसम्म पुग्न सधै साथ, सहयोग र हौसला दिनेछौं भन्ने आश गर्दै यो कुरा पनि आत्मसात गर्छु कि, आफ्नो कार्यक्षेत्रको मर्यादा भित्र बसेर जिबनमा तिमिलाई आफ्नो बनाउन अगाडि गरेको बाचा, "हिप्पोक्रेटिक ओथ"को सम्मान गर्दै उक्त बाचा निभाउन कुनै कसुर बाकी राख्ने छैन । र आज यो पवित्र दिनमा गरेको बाचा आजन्म भुल्ने पनि छैन ।

उहीँ,
सधैं संगै हुने,तर कहिले आफैंमा हराउने मान्छे।
त्यसरी हराउदा रिसायौं कि भन्दै डराउने मान्छे।
पुरै जवानी र लगानी खर्चेर आर्जेको तिमिलाई,
म उहीँ,तिमिलाई बालापन देखी मन पराउने मान्छे।

यो पनि पढ्नु होस् ; प्रिय आला, भाग : १