Search This Blog

Sunday, April 10, 2016

पोखरा !!

ए ए भुइचालो आयो ।
हैन रहेछ, डुङ्गा आएको रहेछ ।
शान्त पानीलाई छचल्काउदै ।
पानी छचल्किदा, हिमालको आकृति हल्लेको थियो ।
हिमाल नै हल्लिएको जस्तो महसुस भएको थियो ।
बैशाख १२बाट मोबाईल vibrate गरेपनि तर्सिन्छु,
भुइचालोमा च्यापिएर मेरो पनि खुट्टा गएको थियो ।
अघि सम्म त झुक्किएको रहेछु,
हिमाल भन्दै निकैबेर तालमा हेरे ।
पानी हल्लिएर आकृति बिगृयो,
अनि बल्ल आँखा हिमालमा परे ।
भर्खर उदाएको घाम ठोक्किएको थियो,
राता राता गाला बनाउदै लजाएको थियो,
हालसालै भित्रीएकि नौलो बुहारी जस्तै ।
ब्याकग्राउण्ड उहीँ थियो, गाडा निलो,
हिमालको माथी, आकाशको ।
फेवा तालमा, पानीको ।
त्यसैले त छुट्याउन मुस्किल पर्थ्यो,
कुन हिमाल, कुन तालमा परेको आकृति भनेर,
पानी शान्त भै बसिन्जेल सम्म ।
डुङ्गाले पानी नछचल्काए सम्म ।
भुकम्पले ताल नहल्लाए सम्म ।
माछापुच्छ्रे थियो, सतर्क भै उभिएको,
पोखरामा आउने सबैलाई स्वागत गर्न,
नमस्ते गर्ने मुद्रामा ।
अन्नपूर्ण थियो, हात फिजाएर बसेको,
सबै पर्यटकलाई hug गर्न,
अंगालोमा बेर्ने मुद्रामा ।
माछापुच्छ्रे पुर्बेली समाजलाई स्वागत गर्थ्यो,
अन्नपूर्ण पश्चिमेलि समाजलाई ।
नमस्ते र अंकमाल गर्दै ।
स्वदेशी देखि बिदेशी,
बुढापाका देखि बयस्क,
सभ्य देखि असभ्य,
धार्मिक देखी मनोरञ्जनात्मक,
माछापुच्छ्रे दर्शन गर्ने देखि, अन्नपूर्ण अंगाल्ने,
हो ! प्राय सबै पर्यटकको भिड हुन्थ्यो ।
जमिन मुनि हिड्ने सेतिको बगर, पोखरामा ।
तालै तालको शहर, पोखरामा ।
हिमाली काखको नगर, पोखरामा ।



No comments:

Post a Comment